+
+
Shares

नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी : विपद् क्षेत्रमा नजाऊ

नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण सूचना तथा आपत्कालीन अलर्ट प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोमेन्ट प्रोग्राममा दर्ता हुन, नेपालको सुरक्षा रिपोर्ट समीक्षा गर्न भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सरकारले रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी र नेपाल–चीन सीमा नाका क्षेत्रलाई ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ मा राख्दै त्यहाँ नजान आग्रह गरेको छ।
  • २०२६ अगस्ट २६ को बाढीपछि सडक, यातायात र सञ्चार सेवा प्रभावित भएको र थप बाढी तथा पहिरोको जोखिम उच्च रहेको अमेरिकी मूल्यांकन छ।
  • अमेरिकाले नेपाललाई समग्रमा ‘लेभल–२ : थप सावधानी अपनाउनुहोस्’ राख्दै प्रदर्शन, सीमित स्वास्थ्य सेवा र भूकम्प–बाढी–पहिरोको जोखिमबारे आफ्ना नागरिकलाई सचेत गराएको छ।

१५ भदौ, काठमाडौं । अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ।

अमेरिकी सरकारका अनुसार २०२६ अगस्ट २६ मा आएको ठूलो बाढीपछि उक्त क्षेत्रमा सडक तथा यातायात र सञ्चार सेवा प्रभावित हुनुका साथै खोज तथा उद्धार र पुनर्स्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढी र पहिरोको सम्भावनासमेत रहेको जनाइएको छ।

अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन्।

अमेरिकी सरकारले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार वा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि आग्रह गरिएको छ।

हराइरहेका व्यक्तिको खोजी गर्नसमेत विपद् प्रभावित क्षेत्रमा आफैं प्रवेश नगर्न र कुनै पनि कारणले उक्त क्षेत्रमा यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ।

नेपालमा अशान्तिको जोखिम

अमेरिकी सरकारले नेपाललाई समग्रमा ‘लेभल–२ : थप सावधानी अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यसको मुख्य कारण नागरिक अशान्ति रहेको जनाइएको छ।

सन् २०२५ सेप्टेम्बरमा सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको र हाल सुरक्षा अवस्था स्थिर रहेको अमेरिकी मूल्यांकन छ। यद्यपि, विशेषगरी शहरहरूमा प्रदर्शन तथा स्थानीय अशान्ति पुनः हुन सक्ने चेतावनी दिइएको छ।

प्रदर्शनहरू छोटो सूचनामै सुरु हुन सक्ने र केही अवस्थामा हिंसात्मक बन्न सक्ने भएकाले ठूलो भीड तथा प्रदर्शनबाट टाढा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न भनिएको छ।

स्वास्थ्य सेवा सीमित

अमेरिकी सरकारले नेपालका स्वास्थ्य तथा आपत्कालीन सेवामा नियमित र आकस्मिक उपचार व्यवस्थापन गर्ने क्षमता सीमित रहेको जनाएको छ।

काठमाडौंका अस्पतालहरू देशका अन्य क्षेत्रको तुलनामा सामान्यतया राम्रो भए पनि त्यहाँ भीडभाड हुने, केही आवश्यक उपकरण वा औषधिको अभाव हुन सक्ने तथा उपचारअघि नै भुक्तानी माग्ने अवस्था हुन सक्ने उल्लेख गरिएको छ।

विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्दैन। त्यसैले आवश्यक औषधि आफैंसँग लैजान, चिकित्सकीय उद्धार समेत समेटिएको यात्रा स्वास्थ्य बीमा गराउन र गम्भीर स्वास्थ्य समस्या भए उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्ने विषयमा तयार रहन अमेरिकी सरकारले सुझाव दिएको छ।

भूकम्प, बाढी र पहिरोको जोखिम

नेपालमा नियमित रूपमा भूकम्प, बाढी तथा पहिरो जाने जोखिम रहेको अमेरिकी सरकारको भनाइ छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा भूकम्प कुनै पूर्वसूचनाबिना आउन सक्ने उल्लेख गरिएको छ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने तथा त्यसले सडक अवरुद्ध, भवनमा क्षति र आपत्कालीन उद्धारमा कठिनाइ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ।

नेपाल यात्रा गर्ने अमेरिकी नागरिकलाई सुझाव

नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण सूचना तथा आपत्कालीन अलर्ट प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोमेन्ट प्रोग्राममा दर्ता हुन, नेपालको सुरक्षा रिपोर्ट समीक्षा गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?