+

विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

२०७८ चैत  १ गते १९:५८ २०७८ चैत १ गते १९:५८
विश्वकप लिग टु : यूएईमा नेपालको परीक्षा

१ चैत, काठमाडौं । यूएईसँग पराजित भएपछि नेपाल टी-२० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ ।

लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी) ले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली श्रीलंकामा अभ्यास गरेर यूएई पुगिसकेको छ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपालले श्रीलंकामा खेलेका चारवटा अभ्यास खेलमध्ये तीनवटा जित्यो ।

प्रशिक्षक पुबुदु दासानायकेले चार अभ्यास खेलमा टिममा भएका सबै १६ खेलाडीलाई परीक्षण गरेका थिए । तर नेपालले अझै पनि पूरा ५० ओभर खेल्न संघर्ष गरिरहेको छ । तीन खेलमा नेपालले ५० ओभर पूरै पनि ब्याटिङ गर्न सकेन ।

पछिल्लो समय टी–२० क्रिकेट धेरै खेलेकाले पनि एकदिवशीयमा अभ्यस्त हुन गाह्रो भइरहेको छ । ५० ओभरको घरेलु प्रतियोगिता (प्रधानमन्त्री कप) पनि यसपल्ट टी–२० विश्वकप छनोटलाई मध्यनजर गर्दै टी–२० फर्म्याटमा खेलाइएको थियो ।

नेपालले पछिल्लो पटक गत सेप्टेम्बरमा अमेरिका र ओमान सम्मिलित श्रृंखला खेलेको थियो । जहाँ नेपालले दुवै टिम विरुद्ध एक–एक खेल जित्दा एक–एक खेलमा हार व्यहोरेको थियो । त्यसयता नेपालले एकदिवसीय म्याच खेलेको थिएन ।

यसमाथि नेपालसँग टी–२० र एकदिवशीय खेल्ने फरक टिम छैन । यद्यपि यो पटक टी–२० विश्वकप छनोट खेलेको नेपाली टोलीमा धेरै नै हेरफेर भएको छ ।

लयमा रहेको यूएई र जित्न बिर्सेको पीएनजी

यो शृंखलामा नेपालका दुई प्रतिद्वन्द्वीको अवस्था फरक छ । पछिल्लो समय यूएईले लोभलाग्दो प्रदर्शन गरिरहेको छ ।

ग्लोबल क्वालिफायरको सेमिफाइनलमा नेपाललाई नै हराएर टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको यूएईले लिग टुमा चारवटा श्रृंखला खेलेको थियो । यूएईले नामिविया र ओमान सम्मिलित पछिल्लो श्रृंखलामा ४ मध्ये २ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो ।

पीएनजीले पछिल्लो समय खेल जित्न संघर्ष गरिरहेको छ । गत अक्टोबरमा भएको टी–२० विश्वकपमा पहिलो चरणको तीनवटै खेलमा पराजित भएको पीएनजीले लिग टु मा अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन ।

गत सेप्टेम्बरमा ओमानमा भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले पीएनजीलाई पराजित गरेको थियो । दुई फरक अवस्थामा रहेको टोली विरुद्ध खेल्नका लागि नेपाली टोली भने तयारी अवस्थामा छ ।

७ टिम सहभागी लिग टु मा नेपालले अहिलेसम्म ८ खेल खेल्दा ४ खेल जित्दै ८ अंक जोडेर छैटौं स्थानमा छ । यूएई १४ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा छ ।

स्कटल्याण्ड समान अंक भए पनि नेट रनरेटमा यूएईभन्दा पछि छ । अहिलेसम्म खेलेका १२ वटै खेलमा पराजित भएको पीएनजी अंकविहीन रहँदै पुछारमा छ ।

‘हरेक खेल महत्वपूर्ण’

नेपालले पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्नेछ । यस्तै नेपालले चैत ४ गते यूएई, ७ गते पुनः यूएई र ८ गते पीएनजीसँग खेल्नेछ ।

तयारीका लागि श्रीलंका जानुअघि पनि नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले यूएई अहिलेको सन्दर्भमा उत्कृष्ट टोलीको रुपमा रहेको बताएका थिए ।

‘हाम्रो लागि हरेक खेल महत्वपूर्ण छ । यो लिगमा सबै टिम उत्तिकै महत्वपूर्ण छन् । जति पनि खेल्नेवाला छौं । जितेर नै आउने योजना छ,’ श्रीलंका जानुअघि लिग टु को लक्ष्यबारे सन्दीपले भनेका थिए, ‘यूएई अहिले उत्कृष्ट फर्ममा छ । पीएनजीले यो लिग टुमा खेल नजिते पनि कमजोर आँक्न मिल्दैन ।’

सन्दीपले नेपाली टिमको लागि चुनौती रहेको भन्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो लागि चुनौती छ र यसका लागि हामी तयार छौं ।’

प्रशिक्षक पुबुदु दासानायकेले पनि यूएई अहिले एसोसिएट टोलीमध्येकै उत्कृष्ट मानेका छन् । ‘अहिलेको सन्दर्भमा यूएई उत्कृष्ट एसोसिएट टिम हो । उनीहरुले स्तरीय क्रिकेट खेलिरहेका छन् । तर, हाम्रो टिममा युवाको बाहुल्यता छ । उनीहरु राम्रो प्रदर्शनका लागि भोका छन् । टिममा क्षमतावान खेलाडीहरु छन्,’ प्रशिक्षक पुबुदुले भने । उनले लिग टु को साइकल लामो रहेकाले यसमा शीर्ष तीनमा रहेर एकदिवसीय मान्यतालाई कायम राख्ने लक्ष्य सुनाए ।

कप्तान सन्दीप लामिछानेले सोमपाल कामी र करण केसी फर्किएकाले यस पटक टिम सन्तुलित रहेको बताए । ब्याटिङमा रोहित पौडेल पनि टिममा फर्किएका छन् ।

नेपाल यूएई विश्वकप लिग टु
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय