+

एफआईभीबीको सहयोगबाट लाभान्वित नेपाली भलिबल

२०७८ चैत  २ गते २०:०६ २०७८ चैत २ गते २०:०६
एफआईभीबीको सहयोगबाट लाभान्वित नेपाली भलिबल

२ चैत, काठमाडौं । विश्व भलिबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेशनल डे भलिबल (एफआईभीबी) ले पछिल्ला वर्ष नेपालको भलिबल विकासमा सहयोग गर्दै आइरहेको छ ।

एफआईभीबीको सहयोगले नेपाल पुरुष राष्ट्रिय भलिबल टोलीको विकासलाई गतिसमेत दिएको छ । एफआईभीबीले नेपाल भलिबल संघलाई गरेको सहयोगबारे आफ्नो आधिकारिक वेबसाइटमा एक सामग्री प्रकाशित गरेको छ ।

जसमा नेपाल एफआईभीबीको सहयोगबाट लाभान्वित भएको जनाउँदै नेपाली भलिबललाई आगामी दिनमा पनि सहयोग गर्ने जनाइएको छ ।

एफआईभीबीले विश्वभर रहेका आफ्ना सदस्य राष्ट्रलाई विभिन्न तरिकाले सहयोग गरिरहेको हुन्छ । त्यसमा नेपाल भलिबल संघ एफआईभीबीको सहयोगबाट लाभ पाउने पछिल्लो संघ हो ।

नेपाल भलिबल संघ (एनभीएले) ले आफ्नो पुरुष राष्ट्रिय टोलीको स्तर उकास्ने प्रतिवद्धतालाई एफआईभीबीको विकास कार्यक्रममार्फत बढावा दिएको छ ।

सन् २०१७ देखि, एफआईभीबीले एनभीएलाई नेपालमा खेलकुदको विकासलाई तीव्रता दिनका लागि उपकरण सहयोग र कोचिङ सहायता प्रदान गर्दै आएको छ ।

पछिल्लो पटक तीन महिनाको कोचिङ सपोर्टबाट लाभान्वित भएको नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले पाउने ६ महिनाको सपोर्ट पनि स्वीकृत भएके छ । एफआईभीबीबाट थप ६ महिनाको कोचिङ सपोर्ट स्वीकृत भइसकेपछि, एनभीए यसै वर्षको सेप्टेम्बरमा चीनमा हुने एसियाली खेलकुद ह्याङझाउ २०२२ को प्रतिक्षामा छ ।

सहयोग परियोजनाको एक भागको रूपमा यसअघि नेदरल्याण्ड्सका अनुभवी प्रशिक्षक हान एबिङलाई बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको तयारीका लागि प्रशिक्षण दिन चयन गरिएको थियो ।

राष्ट्रिय टोलीसँगको छोटो समयमै, प्रशिक्षक एबिङले उज्वेकिस्तान र माल्दिभ्स विरुद्धको जितपछि टोलीलाई प्रतियोगितामा चौथो स्थानमा पुग्न मद्दत गरेका थिए ।

कांस्य पदकको खेलमा उज्वेकिस्तानसँग पराजित भए पनि नेपाली टोलीको प्रदर्शनमा ठूलो सुधार भएको थियो र भविष्यमा ठूलो सफलताको सम्भावना देखाएको थियो ।

एफआईभीबीका अध्यक्ष डा एरी एस ग्राकाले नेपाली राष्ट्रिय टोलीको प्रदर्शनबाट उत्साहित भएको बताएका छन् । ‘एफआईभीबीले सधैँ खेलबाट आउने पैसालाई पुन: खेलमा लगानी गरेर विश्वव्यापी रूपमा राष्ट्रिय टोलीहरूको स्तर बढाउन खोज्छ ।

एफआईभिबीको सहयोगमा एनभीएमा कोच एबिङ र हाम्रा साथीहरूले गरेको राम्रो कामले कोर्टमा राम्रो नतिजा ल्याएको छ’, अध्यक्ष एस ग्राकाको भनाई उल्लेख गर्दै एफआईभीबीले लेखेको छ, ‘राष्ट्रिय टोलीले भविष्यमा सुधार गर्न जारी राखेको देख्दा म उत्साहित छु ।’

यस्तै एनभीएका महासचिव जितेन्द्रबहादुर चन्दले एफआईभीबीको विकास कार्यक्रममले नेपाल जस्ता देशको टोलीको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘एनभीएको तर्फबाट, हामी एफआईभीबीको विकास कार्यक्रम मार्फत हामीले प्राप्त गरेको सहयोगको लागि धन्यवाद दिन चाहन्छौं ।

यस प्रकारको विकास कार्यक्रमले नेपालजस्ता विकासोन्मुख देशहरूमा राष्ट्रिय महासंघ र राष्ट्रिय टोली वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यस कार्यक्रममार्फत हामीले पहिले नै केही उत्कृष्ट नतिजा ल्याउनका साथै हाम्रो राष्ट्रिय टोलीको स्तरमा उल्लेखनीय सुधार देखेका छौं ।’

यसैगरी प्रशिक्षक हान एबिङले नेपाललाई सहयोग गर्न पाउनु सम्मानको विषय भन्दै खेलाडीको उत्साह र खेलप्रतिको लगावबाट उत्साहित भएको बताएका छन् ।

‘नेपाल पुरुष राष्ट्रिय टोलीलाई बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको तयारीमा सहयोग गर्न पाउनु सम्मानको कुरा हो । मैंले देखेका नतिजा धेरै आशाजनक छन्, र म खेलाडीको उत्साह र खेलप्रतिको लगनबाट उत्साहित छु । म नेपालमा भलिबलको निरन्तर विकासको लागि तत्पर छु ।’

नेपाली भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय