
३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा कलमले कमाल गर्ने दाबी गरेका छन् ।
होलीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताए ।
एकीकृत समाजवादीको चुनाव चिह्न कलम हो । कलम चुनाव चिह्नले कमाल गर्ने बताउँदै उनले भने, ‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं । जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ ।’
राष्ट्रियसभाका दुईवटै चुनावमा कमाल गरेर देखाएको बताउँदै उनले अब स्थानीय चुनावमा पनि देखिने दाबी गरे । अध्यक्ष नेपालले भने, ‘हाम्रो खिसिट्युरी गर्ने तत्वहरुको हरिबिजोग त्यही बेलामा थाहा हुने छ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरुको नास हुनेछ ।’
कार्यक्रममा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कविताको शैलीमा पार्टीको चुनाव चिह्नको प्रचार गर्न भ्याए । उनले भने–
‘छातीभित्र मुटु बस्छ, छातिबाहिर कलम
सबको जिन्दगीको लागि यही हो ठूलो मल्हम ।’
प्रतिक्रिया 4