+
+

मिथिलामा माध्यमिकी परिक्रमाको उल्लास

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १४:१६

४ चैत, जनकपुरधाम । मधेशका जिल्लामा आज उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । प्रदेशको राजधानी जनकपुरधाममा भने भोली होली मनाइनेछ । यद्यपी जनकपुरधाममा आज बिहानैदेखि उल्लासमय वातावरण छ ।

मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरु बिहानैदेखि जनकपुरधाममा परिक्रमा गरिरहेका छन् । १५ दिन अगाडिदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन हो । अन्तिम दिन जनकपुरधामभित्रै परिक्रमा गर्ने गरिन्छ । अन्तिम दिन जनकपुरधाम परिक्रमा गरिसकेपछि मनोकामना पूर्ण हुने विश्वास रही आएको छ ।

जनकपुरधाममा परिक्रमा गर्ने क्रममा श्रद्धालुले ठाउँ ठाउँमा समत जलाउनका लागि राखिएको दाउरालाई ढोग्ने गर्छन् । परिक्रमाका यात्रुका कारण अहिले जनकपुरधाम भरिभराउ बनेको छ । उनीहरु खाली खुट्टा परिक्रमा गरिरहेका छन् ।

जनकपुरधाममा पाँच कोशे अन्र्तगृह परिक्रमा गर्नुपर्ने हुन्छ । सुन्दर सन्तका महन्थ नबल बाबाले यो परिक्रमा कतिले डेढ घण्टा त कतिले २ देखि अढाई घण्टासम्म पूरा गर्ने गरेको बताउँछन् ।

मिथिला क्षेत्रमा प्रत्येक बर्ष होलीको दुई साता अघि यो परिक्रमा सुरु हुन्छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिलाबिहारी मन्दिरबाट किशोरीजीको डोला निकालेपछि परिक्रमा विधिवत रुपमा सुरु हुन्छ ।

१५ दिने परिक्रमा अन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचन वन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाको धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन रही आएको छ । जनकपुरधाममा पाँच कोशे अन्र्तगृह परिक्रमा गरेपछि यो क्रम सम्पन्न गरिन्छ ।

माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहार प्रान्तको सीमावर्ती क्षेत्र अवस्थित धार्मिक ऐतिहासिक र सांस्कृतिक स्थलहरुको ९० किलोमिटर र सीमावर्ती क्षेत्र भारतको ३० किलोमिटर गरी कुल १ सय २० किलोमिटर भू-भागमा साधुसन्त लगायत भक्तजनले पैदल यात्रा गर्ने गर्छन् । यसमा नेपाल तथा भारतका समेत साधुसन्त र भक्तजनको उल्लेख्य सहभागिता रहने गर्दछ ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी, किर्तनसहित रामजानकीको डोला जनकपुरधामस्थित रत्नसागर मठ हुँदै जानकी मन्दिरमा ल्याएर परिक्रमा सुरु गर्ने चलन रही आएको छ ।

सुन्दर सन्तका महन्थ नबल बाबाका अनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ । यस परिक्रमामा सहभागी भएमा पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने विश्वास रही आएको उनको भनाई छ ।

‘कसैले छोरा होस्, कसैले धन्यधान्य होस् भनेर कामना गर्ने गरेको र पूरा भएपछि यो परिक्रमामा सहभागी हुने गरेका छन्’ नबल बाबाले भने, ‘साधुसन्त भने रामजानकीको शरणमा ठाउँ भेटोस् भन्ने भावनाका साथ मिथिला माध्यमिकीपरिक्रमामा सहभागी हुन्छन् ।’

सरकारले बेवास्ता गरेको गुनासो

महन्थ नबल बाबाले परापूर्वकालदेखि मिथिला माध्यमिकी परिक्रमा हुँदै आएपनि यसतर्फ सरकारले चासो नलिएको बताउँछन् । यहीं मेला काठमाडौंमा भएको भए सरकारले ध्यान दिएर सार्वजनिक विदा पनि दिन्थ्यो । सहयोग पनि गर्थे’ उनी भन्छन्, ‘तर चार बर्षअघि निर्माण भएको आफ्नै भनिने प्रदेश सरकारले पनि कुनै चासो दिएको छैन् ।’

१५ दिन श्रद्धालुहरु घरबाहिर निस्केर दिनभर पैदल हिंडने काम गर्दै दिउँसो बिश्राम स्थलमा बिश्राम गर्ने गरिएपनि कतै कुनै किसिमको सुविधा नदिइएको उनको भनाई छ । ‘पैदल हिंडेपछि दिउँसो २ बजेतिर बिश्रामस्थलमा पुगेर टहरा बनाइन्छ । चुल्हो खनिन्छ । अनि दाउरा तथा पानी खोजेर ल्याई खाना पकाएर राति बिश्राम गर्ने गरिन्छ’ उनी भन्छन्, ‘ बिहान ४ बजे नै टहरो भत्काएर पुनः यात्राका लागि निस्किन्छन् ।’

बिश्राम स्थल र यात्रा गर्ने ठाउँहरुका कसैले कुनै किसिमको सहयोग नगरेको उनको गुनासो छ । ‘कतिपयले निःशुल्क चिया र पानीको प्रचार मात्रै गर्दै आएका छन् । पानी र दाउरा र दिशापिसाव गर्ने ठाउँ खोज्न नै श्रद्धालुलाई समस्या भइरहेपनि कसैले यसतर्फ ध्यान दिएको छैन् ।’

भारतमा कुम्भ लागेपछि सम्बन्धित राज्यका मुख्यमन्त्री दर्जनौं पटक बैठक गरेर आयोजना गर्ने गरिएपनि यहाँका प्रदेश सरकार गम्भीर बन्न नसक्नु दुःखद भएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?