+
+
साताको सेयर बजार :

बैंकको वित्तीय रिपोर्टले निराशा थप्यो, फाइनान्समा ४ प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १७:३८

१४ वैशाख, काठमाडौं । गत साता १९७२ अंकमा बन्द भएको सेयर बजार यो साता १९६५ अंकमा झर्‍यो । बजारको गिरावट जम्मा ७ अंकको रहे पनि लगानीकर्तामा निराशा कायमै देखिन्छ । आइतबार १२ अंक बढेको बजार सोमबार १५ अंक घट्यो । मंगलबार सार्वजनिक विदापछि बुधबार खुलेको बजार ०.१५ अंक मात्रै हरियो रह्यो, बिहीबार फेरि ४.१७ अंक घट्यो ।

बजार घटिरहँदा कारोबार रकममा पनि उत्साह छैन । आइतबार २ अर्ब २६ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ५ करोड, बुधबार २ अर्ब ५३ करोड र बिहीबार २ अर्ब ३६ करोडको कारोबार भयो । बजारको अंकसँगै कारोबार रकमका देखिएको सुस्तताले लगानीकर्ता यतिबेला सेयर खरिद गर्न उत्सुक नरहेको जनाउँछ ।

बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासिक रिपोर्ट कमजोर आउनुले पनि यो साता लगानीकर्तामा निराशा थप्यो र बजार घट्नमा बल पुग्यो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको गत शुक्रबार सार्वजनिक तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएको छ ।

अर्थमन्त्रीको पद सम्हालेपछि वर्षमान पुनले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीसँग बजारको विकासका लागि गर्नुपर्ने कामबारे सुझाव मागे । जतिबेला बजारमा केही सुधार हुने आशमा लगानीकर्ताले खरिद बढाए । तीनै निकायले सुझाव दिए पनि ती सुझाव कार्यान्वयन हुन नसकेपछि लगानीकर्तामा निराशा कायमै थियो । बैंकहरूको तेस्रो त्रैमासिक रिपोर्ट कमजोर आएपछि थप प्रभावित बन्यो ।

फाइनान्स बढ्दा बैंकिङमा किन उच्च गिरावट ?
बजार घट्दा पनि यो साता फाइनान्समा उत्साह देखिएको छ । यस समूहमा सूचीकृत कम्पनीको संख्या जम्मा १५ वटा मात्रै हो । न्यून पूँजीका कम्पनी भएकाले यो समूहको वृद्धिदर विगत केही महिनादेखि नै सकारात्मक देखिन्छ ।

गत मंसिरमा १ हजार ६ सय अंकमा रहेको यो समूह हाल २ हजार ५४ अंकमा पुगेको छ । यस समूहको ट्रेन्डलाइन अरु समूहको तुलनामा सकारात्मक देखिँदा लगानीकर्ताको भीड झन् बढेको देखिन्छ । जब कुनै समूहको ट्रेन्ड बढी सकारात्मक देखिन्छ, कारोबारीको भीड पनि त्यतै जान्छ, यहीं प्रवृत्ति अहिले फाइनान्समा देखिएको हो । सेयर आपूर्ति अरु समूहको तुलनामा कम भएपछि यस समूहको प्रदर्शन बजारमा राम्रो बनेको छ ।

बैंकिङ समूहमा भने फाइनान्सको ठीक उल्टो देखिएको छ ।  यो सूचक यतिबेला करिब ४६ महिनायताकै न्यूनतम बिन्दुमा झरेको छ । समग्र बजार परिसूचक नेप्से १८०० देखि २२०० बीचमा घुमिरहँदा अन्य क्षेत्रका सूचकहरु पनि उतारचढाव भइरहेका छन् । तर बैंकिङ सूचक भने १५ असार २०७७ यताकै न्यूनतम बिन्दुमा झरेको हो । बिहीबार बजार बन्द हुँदा बैंकिङ समूहको सूचक १०२७ अंकमा झरेको छ ।

बैंकिङ समूह उच्च दरले घट्नुमा उच्च पूँजीका कारण सेयर आपूर्ति बढिरहनु र कम्पनीको लगानीमा प्रतिफलदर कमजोर बन्दै जानु हो । गत शुक्रबार बैंकहरुले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि यो समूहको सूचकलाई थप झार्न मद्दत पुग्यो ।

सार्वजनिक वित्तीय विवरणअनुसार १० बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ भने निष्क्रिय कर्जा बढेको छ । जसले गर्दा आगामी वर्ष पनि धेरै बैंकले लगानीकर्तालाई लाभांश दिन नसक्ने अवस्था प्रष्ट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?