+
+

नेपाली सेनाको क्याप्टेन हुँ भन्दै लाखौं ठगी !

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत ७ गते १८:३९

नाम : अर्जुन कटुवाल । पद : नेपाली सेनाको क्याप्टेन । हाल : शान्ति सेना मिसनमा कार्यरत । यी परिचयसहित फेसबुकमा एक युवक भेटिन्छन् । प्रोफाइल खोलेर हेर्दासमेत अविश्वास हुँदैन । किनकी त्यहाँ उनका प्रायः फोटो नेपाली सेनाको पोशाकमै छन् । कुनै कुनै फोटो त अझ नेपाली सैनिक क्याम्पमा सिपाही साथीहरुसँगै ! शंका गर्नुपर्ने कुनै कमजोरी हुँदैन ।

त्यसै क्रममा फेसबुकमै अर्जुनसँग भेटिन्छिन्, ओखलढुंगा सिद्धिचरणकी ३५ वर्षीय सरिता खड्का । त्यतिबेला उनकी बहिनी नेपाली सेनामा भर्ती हुन जाने तयारी गरिरहेकी थिइन् । नेपाली सेनाकै क्याप्टेन सम्पर्कमा आएर सहयोग गर्ने भएपछि उनी पनि दंग थिइन् ।

बहिनीलाई नेपाली सेनामा भर्ती गराउन खड्कासँग कटुवालले १ लाख ५० हजार रुपैयाँ मागेका थिए । बहिनी सैनिक हुने लोभमा उनले तत्कालै ५० हजार रुपैयाँ मनी ट्रान्सफरमार्फत पठाइदिइन् । तर लगत्तै उनलाई अर्जुनले फेसबुकमा ब्लक गरिदिए ।

०००

२०७६ मा ओखलढुंगा सानेभञ्ज्याङकी सिर्जना तामाङका दुई भाइ सिंगापुर पुलिसमा भर्ती हुने तयारीमा थिए । त्यही क्रममा सिर्जनाको भेट फेसबुकमा अर्जुन एस मगर नामक युवकसँग भयो । उनले आफू नेपाली सेनाको क्याप्टेन रहेको र सैनिक सेवाका ठूलाठूला मान्छेसँग चिनजान रहेको सुनाउँछन् ।

‘मेरो नेपाली सेनाको क्याप्टेन हुँ । हाल शान्ति मिसनका लागि विदेशमा छु । तपाईंको भाइलाई सिंगापुर पुलिसमा भर्ती गरिदिन सक्छु,’ विश्वास दिलाउँदै मगरले तामाङलाई भन्छन्, ‘त्यसका लागि १५ लाख लाग्छ । अहिले ५ लाख दिएर पछि भर्ती भएपछि बाँकी पैसा दिए हुन्छ ।’

तामाङले दुई भाइ सिंगापुर प्रहरीमा भर्ती हुने लोभमा ५ लाख रुपैयाँ मनी ट्रान्सफरमार्फत पठाइदिइन् । त्यसपछि अर्जुनले उनलाई पनि ब्लक गरिदिए । भाइहरु भर्ती त भएनन् नै पैसा पनि गुम्यो ।

यसरी परियारबाट ठगीमा पर्नेमा दोलखा वैतेश्वर गाउँपालिकाका ५२ वर्षीय अर्जुन बस्नेत पनि छन् । उनले छोरा देवराज बस्नेत नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट बनाउने लोभमा गएको कात्तिकमा ४ लाख रुपैयाँ बुझाएका थिए ।

आफूलाई नेपाली सेनाको क्याप्टेन बताउँदै ठगी गर्दै हिँडने व्यक्ति एउटै थिए, ३८ वर्षीय धनबहादुर परियार । आफूलाई ‘अर्जुन कटुवाल’ का नाममा नेपाली सेनाको रुपमा चिनाउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको आरोप लागेका परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ५ घर भई हाल उनी पोखरा १० अमरसिंह चोकमा बस्दै आएका छन् । उनी सिर्जना तामाङ, सरिता खड्का र अर्जुन बस्नेतको जाहेरीका आधारमा फागुन ३० गते पक्राउ परेका हुन् । उनले विभिन्न व्यक्तिलाई सिंगापुर पुलिस, विभिन्न सैन्य पदमा भर्ती गराइदिन्छुु भन्दै लाखौं रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार परियारले पीडितबाट आइएमईमार्फत पैसा मगाउँदा भने आफ्नो परिचय खुलाउँथेनन् । उनले त्यसमा आफ्ना नजिकका साथीहरु प्रयोग गर्ने गर्थे । ‘एक ठाउँबाट पैसा आउनुछ । त्यताबाट लिएर मेरो खातामा राख्दे है भन्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापा भन्छन्, ‘साथीहरुलाई पनि यो ठगी कार्यमा संलग्न छ भन्ने थाहै नहुने स्थिति थियो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार परियारले आफूलाई क्याप्टेनका रुपमा सबैलाई विश्वास दिलाउन सबै पोशाक तथा तयारी सामान जम्मा गरेका पनि थिए । उनले पीडितलाई विश्वास दिलाउन महंगा खालका नक्कली धातुजन्य गहना लगाएर म्यासेन्जरमा भिडियो कल पनि गर्ने गरेका थिए ।

‘उनीसँग एकजना नेपाली क्याप्टेनका लागि चाहिने सबै सामान थियो । सामान्य तुम्लेटदेखि अन्य आवश्यक पोशाक सबै थियो,’ डीएसपी तिवारीले भने, ‘भर्ना छनोटका लागि चाहिने कागजपत्र समेत उनीसँग थियो ।’

प्रहरीले परियारबाट धनबहादुर परियार नामबाट लिएको सवारी चालक अनुमति पत्र, अर्जन कटुवालको नामबाट लिएको एसएलसीका प्रमाणपत्र, प्रेरणा बोर्डिङ स्कुलको चारित्रिक प्रमाणपत्र, नेपाली सेनाको सहसेनानी दर्जाको नक्कली परिचयपत्र, दज्र्यानी चिह्न, नामको चेसप्लेट, नेपाली सेनाले प्रयोग गर्ने एक सेट चुस्ता बरामद गरेको छ ।

त्यस्तै, नेपाली सेनाको हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुम्लेट, सेनाको आधिकारिक लोगोसहितको ड्रेस, ट्रयाकसुट, विभिन्न व्यक्तिहरुको नामको उपसेनानी पदको श्री भर्ना छनोट निर्देशनालय कार्यरथी विभागको जंगली अड्डाको उम्मेदवार फारम प्रहरीले बरामद गरेको छ ।

‘परियारको साथबाट सिपाही पदको परिचय पत्र, खाली कागजपत्रसहित अर्जुन कटुवालको नाममा बनाइएको जग्गाधनी पूर्जासहित बा ८४ प ६९८८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ,’ डीएसपी तिवारीले भने ।

परियार नेपाली सेनाका भगौडा

अनुसन्धानका क्रममा ठगी आरोपमा पक्राउ परेका परियार पहिले नेपाली सेनाको सिपाही मै कार्यरत रहेको खुलेको छ । उनले नेपाली सेनामा पाँच वर्ष सेवा गरेर भागेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

‘२०५६ सालमा काठमाडौंको देवीदत्त गणमा सिपाही पदमा नियुक्त भएर ५ वर्ष सेवा गरेको पाइएको छ । त्यसपछि २०६१ सालमा त्यही गण धाडिङको गजुरीमा रहेको अवस्थामा भागेको खुलेको छ,’ एसपी थापाले भने, ‘त्यहाँबाट भागेर उनी मलेसिया पुगेको देखिन्छ ।’

प्रहरीका अनुसार मलेसियामा कार्यरत रहँदै बखतबाट परियारले ठगी गर्न सुरु गरेका थिए । त्यसै क्रममा उनी २०६३ सालमा नेपाल फर्किएर अर्जुन कटुवालको नामबाट एसएलसीका नक्कली कागजपत्र बनाएका थिए ।

‘फेसबुकमा साथी बनाएर आफूचाहिँ शान्ति मिसनमा विदेश रहेको विश्वास दिलाउने, आफन्तलाई जागिर मिलाइदिन्छु भन्दै ठगी गरेको खुलेको छ,’ डीएसपी तिवारीले भने ।

२०७५ सालमा फर्किएर परियारले पोखरा अमरसिंहमै अर्जुन फ्रेस हाउसमेत खोले । त्यसैक्रममा उनले पोखरा भद्रकालीको एउटा पोशाक गृहबाट सैन्य पोशाक बनाएको खुलेको छ । डीएसपी तिवारीले भने, ‘उनले आफ्नै नामबाट बोक्ने गरेको सवारी लाइसेन्स पनि ३० हजार रुपैयाँ दिएर बनाएको पाइएको छ ।’

प्रहरीले परियारलाई ठगी, आपराधिक विश्वासघात तथा अपराधिक लाभसम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहेको जनाएको छ । ‘सरकारी छाप, दस्तखत कीर्तेमा पनि अनुसन्धान गरिरहेका छौं,’ डीएसपी तिवारीले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?