+
+
स्थलगत :

‘एमपी’ सर : यौन दुर्व्यवहार गरिरहे, माफी पाइरहे

‘एमपी’ फाइलमा २०७३ यताका तीनवटा उजुरी र शिक्षकलाई सोधिएको स्पष्टीकरण, बैठकमा सोधेको प्रश्न र विद्यार्थीले दिएको लिखित उजुरीहरु राखिएको छ ।

हरि अधिकारी हरि अधिकारी
२०७८ चैत ९ गते २०:१४

९ चैत, विराटनगर । मनोजप्रसाद पौडेल (५६) लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आवद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे ।

तर पौडेल आफ्नै व्यवहार भने असामाजिक र अनैतिक रहेको उनी संलग्न घटनाहरुले देखाउँछ, विद्यालयमा दर्ता भएका उजुरीहरुले पनि त्यही भन्छ । उनी विरुद्ध पटक–पटक विद्यालय व्यवस्थापन समितिमा उजुरी परेपछि विद्यालय प्रशासनले रेकर्ड राख्न छुट्टै फाइल नै बनाएको छ ।

त्यसको नाम छ, ‘एमपी’ अर्थात मनोज पौडेल । ‘कक्षामा हामी र केटाहरुलाई गर्ने व्यवहार फरक थियो,’ मंगलबार विद्यालय परिसरमा भेटिएकी एक छात्राले भनिन्, ‘हामीलाई कुट्दा पनि ढाड सुमसुम्याउने र असहज रुपमा छुने गर्नुहुन्थ्यो ।’

२३ जेठ २०७३ मा कक्षा ६ मा पढ्ने छात्राहरुले शिक्षक पौडेलविरुद्ध विद्यालयमा उजुरी दिएका थिए । ‘विगत समयको समस्या फेरि दोह्रोर्‍याएको’ भनेर लिखित निवेदन दिएपछि तत्कालीन प्रध्यानाध्यापक डिल्लीराम ओझाले शिक्षक पौडेललाई सात दिने लिखित स्पष्टीकरण सोधेका थिए । पौडेलले माफी मागे, उन्मुक्ति पाए ।

फागुनमा २०७४ पनि कक्षा ४ र ५ का ६ जना भन्दा बढी छात्राले विद्यालयमा मौखिक उजुरी गरे । गल्ती नदोहोर्‍याउने शर्तमा शिक्षक पौडेलले माफी पाए । सहमति पत्रमा पौडेलले फेरि गल्ती दोहोरिए विद्यालयले गर्ने कारवाही मञ्जुर हुने सहमति दिएका छन् ।

सहमतिपत्रमा विद्यालय व्यवस्थापन समितिका तत्कालिन अध्यक्ष नरबहादुर श्रेष्ठ र तत्कालिन प्रधानाध्यापक ओझा, सहायक प्रधानाध्यापक जीवन पौडेलसहित उजुरी गर्ने विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् । त्यसपछि पनि दुव्यर्वहारको गुनासो आउन छाडेन ।

‘एमपी’ फाइलमा २०७३ यताका तीनवटा उजुरी र शिक्षकलाई सोधिएको स्पष्टीकरण, बैठकमा सोधेको प्रश्न र विद्यार्थीले दिएको लिखित उजुरीहरु राखिएको छ ।

शुक्रबार ४ चैत २०७८ मा घरमै आएर शिक्षक पौडेलले यौन दुर्व्यवहार गरेको भन्दै आइतबार कक्षा ७ मा अध्ययनरत विद्यार्थीले लिखित उजुरी दिएकी थिइन् । उजुरीपछि प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा अध्यक्ष भूमसूर्य मगर र उपमेयर कृष्णकुमारी निरौलालाई खबर गरे ।

वडाध्यक्षसँगै पुगेकी उपमेयर निरौलाले उजुरी दिने विद्यार्थीका साथै आरोपी शिक्षकसँग सोधपुछ गरिन् । शिक्षक पौडेलले आरोपको इन्कार गर्दै प्रमाण पेश गर्न चुनौती दिए । शिक्षकको व्यवहारविरुद्ध साना विद्यार्थीलाई खाजा लिएर दिउँसो विद्यालयमा आएका महिला अभिभावकले प्रदर्शन गरे । उनीहरुको आशंका थियो, यसअघि जस्तै फेरि शिक्षकलाई जोगाउन खोजियो ।

पटकपटक यौन दुव्यर्वहार गर्दा सहमतिका नाममा संरक्षण गरेको भन्दै आक्रोशित अभिभावकको प्रदर्शनका क्रममा विद्यालयमा तोडफोड र आगजनीको प्रयास भयो । विद्यार्थी र अभिभावकको प्रदर्शन बढ्दै जादा अत्तालिएकी पीडित विद्यार्थी बोहोस भएकी थिइन् । यसले भीडलाई झन् आक्रोशित बनायो ।

‘सुरुमा विद्यार्थी र अभिभावक प्रदर्शनमा हुनुहुन्थ्यो, ४ बजेपछि विद्यार्थी र अभिभावक विस्तारै घर जानुभयो,’ प्रधानाध्यापक मिश्र भन्छन्, ‘विद्यार्थी र अभिभावक गएपनि स्कुलमा ठूलो भिड जम्मा भइसकेको थियो ।’ भिड बढ्दै जादा घटनास्थलमा पुगेको प्रहरीले आरोपीलाई स्कुलबाट लैजान नसकेको मिश्रले बताए ।

‘सुरुमा दुई जना मात्रै प्रहरी आउनुभयो, अवस्था तनावग्रस्त बन्दै गएपछि थपिनुभयो,’ विद्यालयका एक शिक्षक भन्छन्, ‘प्रहरीसँग शिक्षकलाई लैजाने गाडी पनि थिएन ।’

इलाका प्रहरी कार्यालय लेटाङको गाडी लेटाङ नगरपालिका– ८ की १४ वर्षीय बालिका करुणा राईको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६४ वर्षीय दीपक गिरीलाई हिरासतमा राख्ने म्याद थप्नका लागि मोरङ जिल्ला अदालत, विराटनगर लगिएको थियो ।

गाडी नभएपछि एम्बुलेन्स लिएर गएको प्रहरीले शिक्षकलाई एम्बुलेन्समा राखे । तर विद्यार्थीले गेट छेकेर एम्बुलेन्समै तोडफोड गरेपछि प्रहरीले पुनः स्कुलको मिटिङ हलमा ल्याएर राख्यो । त्यसपछि बेलबारी र पथरीबाट प्रहरीको थप टोली विद्यालयमा पुग्यो । उनीहरुले पनि आरोपी शिक्षकलाई विद्यालय परिसरबाट लिएर जान नसक्नेपछि विराटनगरबाट अर्को टोली बोलाइयो ।

त्यो टोली नपुग्दै आक्रोशित भिडले शिक्षकलाई राखिएको मिटिङ हलको झ्याल फुटाइसकेको थियो । प्रधानाध्यापक मिश्रको कार्यालय तोडफोड र आगजनीको प्रयास गरे । आक्रोशित भिडले आक्रमण गर्दा मिश्रको टाउकोमा गम्भीर चोट लाग्यो ।

राति करिब साढे ७ बजे आरोपी शिक्षकलाई लिएर प्रहरी टोली स्कुलबाट हिँडेको थियो । तर स्कुलबाट करिब डेढ किलोमिटर टाढा पुग्दा आक्रोशित भीडको निशानामा पर्‍यो । ‘स्कुलबाट पछ्याएको समूहलाई रोक्दै अघि बढिरहेका थियौं । चोक नजिक आएपछि थप तीन तीरबाट आक्रमण भयो,’ घटनास्थलमा खटिएका एक प्रहरी अधिकृतले भने,‘ स्कुलबाट आएको बाहेक अन्य क्षेत्रमा रहेको समूहका बारेमा जानकारी थिएन, एक्कासी आक्रमण हुँदा धेरै प्रहरी घाइते भए ।’

भीडले प्रहरी जवान उर्मिला श्रेष्ठलाई तानेर लगेको र घाँटीमा चक्कु हानेको प्रहरीले बताएको छ । ‘मैले उनको हात समातेको थिएँ, हात नछोड्नु दिदी भन्दै थिइन् । तर मेरै अगाडि थुतेर कान्छी (उर्मिला श्रेष्ठ) लाई चक्कुले रेटे,’ ती प्रहरीले भनेकी छन्, ‘छिमेकीले शरण नदिएको भए मलाई पनि जंगलमा लगेर मार्न सक्थे ।’ एक घरमा पसेकी उनलाई जोगाउन घरबेटीले कपडा फेरिदिएका थिए ।

लेटाङमा प्रहरीको हत्या भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूका कारण अवस्था सामान्य भएपनि गाउँमा फेरि के हुने हो भन्ने त्रास छ ।

स्कुलका कम्युटर, ल्यापटप, कक्षा कोठाका डिजिटल बोर्ड चोरी भएको र भौतिक पूर्वाधार तोडफोड भएका कारण ७४१ विद्यार्थी रहेको विद्यालय तत्काल सञ्चालन हुने अवस्था नरहेको प्रधानाध्यापक मिश्र बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?