+
+

तीन ठूला औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित

तीन ठूला औद्योगिक करिडोरसहित देशभरका सयौं उद्योगमा गलबार साँझदेखि विद्युत् आपूर्ति प्रभावित भएको छ । 

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ चैत ९ गते १८:५६
रूपन्देही जिल्लामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग ।

९ चैत, काठमाडौं । तीन ठूला औद्योगिक करिडोरसहित देशभरका सयौं उद्योगमा विद्युत् आपूर्ति प्रभावित भएको छ । मंगलबार साँझबाट रोकिएको विद्युत्को आपूर्ति केही ठाउँमा बुधबार बिहान र केही क्षेत्रमा दिउँसो मात्रै फेरि सुरु भएको छ भने केही ठाउँमा बिजुली अझै नआएको उद्योगीहरुले बताएका छन् ।

भैरहवा बुटवल औद्योगिक करिडोर, बारा-पर्सा औद्योगिक करिडोर र सुनसरी मोरङ करिडोरसहित विभिन्न औद्योगिक क्षेत्रका उद्योगमा बिजुली आपूर्ति रोकिएको हो ।

प्राधिकरणले भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण विद्युत् आपूर्ति हुन नसकेको जानकारी उद्योगहरुलाई गराएको भैरहवामा रहेको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले बताए ।

भैरहवा औद्योगिक करिडोरमा मंगलबार साँझ ८ बजेदेखि काटिएको विद्युत् प्रवाह अहिलेसम्म पनि यथावत रहेको उनको भनाइ छ । ‘भैरहवा औद्योगिक करिडोरका ११५ वटाभन्दा बढी उद्योग विद्युत् आपूर्ति हुन नसक्दा ठप्प भएको छ,’ अग्रवालले भने ‘भारतबाट विद्युत् आपूर्ति नभएका कारण बिजुली प्रवाह नभएको भनिएको छ ।’

बैंक ब्याजदर, तरलता अभावबाट जुध्दै गरेका उद्योगीहरु अब विद्युत् आपूर्तिको समस्याबाट पीडित हुनुपर्ने अवस्था आएको उनले बताए । ‘फोर्स लोडसेडिङ जस्तो अवस्था देखिएको छ, यो भयो भने उद्योगका लागि अर्को ठूलो दुर्भाग्य हुन्छ,’ अग्रवालले भने ।

लुम्बिनी प्रदेशकै बुटवल औद्योगिक क्षेत्रमा पनि मंगलबार साँझबाट विद्युत् आपूर्ति ठप्प भएको छ । मंगलबार राति ७ः३० बजे बाट रोकिएको विद्युत् आपूर्ति बिहान ५ बजे मात्रै सुरु भएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख निमेष अधिकारीले बताए । मागअनुसार लोड धान्न नसक्ने भन्दै प्राधिकरणले २ घण्टा आपूर्ति रोकिने बताएको भए पनि झण्डै १० घण्टा विद्युत् आपूर्ति रोकिएको अधिकारीको भनाइ छ ।

‘साढे ७ बजे काटीएको बिजुली दुई घण्टामा आउँछ भनिएको थियो, तर प्राधिकरणको भारप्रेषण केन्द्रले २–२ घण्टा पछि आउँछ भन्दै १० घण्टापछि बिजुली पठायो,’ अधिकारीले भने, ‘उद्योगको मागअनुसार बिजुली वितरण गर्न नसक्ने भनि प्राधिकरणले भनेको छ, तर कति समय बिजुली काट्ने भन्ने तोकिएको छैन, फोर्स लोडसेडिङ जस्तो छ ।’

भारतबाट आउने तीन सय मेगावट बिजुलीमध्ये केही परिमाणको आयात रोकिएपछि औद्योगिक क्षेत्रमा मात्रै लाइन काटिएको जानकारी प्राधिकरणले गराएको उनले बताए । विद्युत् आपूर्ति रोकिंदा औद्योगिक क्षेत्रका ६५ उद्योग र पानीको आपूर्तिमा असर परेको अधिकारीले बताए ।

विद्युत् आपूर्ति अवरोधका कारण बारा–पर्सा ओद्योगिक करिडोरका १५ सय उद्योग प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका महासचिव मनोजकुमार दासले कति घण्टा भन्ने यकिन नभए पनि वीरगञ्ज क्षेत्रमा हिजोदेखि बिजुली प्रभाव नभएको उनले बताए ।

‘वीरगञ्ज क्षेत्रमा बिजुली प्रवाहमा समस्या देखिएको छ, १५ सय उद्योग प्रभावित भएका छन्,’ महासचिव दासले भने । उद्योगहरु ठूलो मार्कामा परेको उनको भनाइ छ ।

वीरगञ्जका प्लास्टिक उद्योगी अनमोल साह तीन सातादेखि विद्युत् आपूर्तिमा समास्या देखिएको बताउँछन् । ‘शुक्रबार र शनिबार बिहान ८ बजे काटेर बेलुकी ६ बजे मात्रै बिजुली दिइन्थ्यो,’ साहले भने, ‘मंगलबार साँझबाट पनि पुनः अवरोध देखियो, तर अहिले भने बिजुली आइरहेको छ ।’

बिजुली आपूर्तिको सुनिश्चितता नहुँदा ओद्योगिक उत्पादनमा ठूलो समस्या देखिएको उनले बताए । बनाउँदा बनाउँदैका सामान बिजुलीकै कारण बिग्रिएको र मेसिनहरुमा समेत समस्या देखिन थालेको उनको भनाइ छ ।

पूर्वको सुनसरी–मोरङ करिडोरमा पनि झण्डै १८ घण्टादेखि बिजुली आपूर्ति प्रभावित भएको उद्योगीहरुले बताएका छन् । हिजो साँझ गएको बिजुली दिउँसो साढे २ बजे मात्रै आएको उद्योगी अबिनास बोहोराले बताए । करिडोरका ६ सय उद्योगमा बिना जानकारी विद्युत् काटिएको उनले बताए ।

‘हिजो राति गएको बत्ती अहिले २ बजे आएको छ, बिजुली किन गयो भनेर हामीलाई प्राधिकरणले केही भनेन,’ बोहोराले भने, ‘अहिले समाचार पढ्दा पो भारतबाट बिजुली आउन नसकेको थाहा भयो ।’ बिना सूचना अकस्मात बिजुली काटिंदा उद्योगहरुमा ठूलो नोक्सानी भएको र कामदारहरु काममा बोलाउन नै अन्योल भएको उनको भनाइ छ ।

भारतबाट नेपालीको पूर्वी औद्योगिक क्षेत्रमा भारतसँगको पूर्णीया, फारबिसगञ्ज कटैया–कुशाहा प्रसारण लानबाट बिजुली आपूर्ति रोकिएको जानकारी आफूहरुले पाएको बोहोराले बताए । लोडसेडिङ भएका वा नभएको बारे अबिलम्ब प्राधिकरणले प्रष्ट्याउन पर्ने पनि उनको भनाइ छ ।

भारतको आयात हुने बिजुली रोकियो

मंगलबार रातिदेखि देशैभरका औद्योगिक क्षेत्रमा बिजुली वितरणमा समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले स्वीकारेको छ । मंगलबार साँझदेखिको अवरोध बुधबार बेलुका पनि देखिन सक्ने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

भारतबाट बिजुली किन्न गरिएको प्रतिस्पर्धामा प्राधिकरणलाई ‘बिड’ नपरेका कारण बिजुलीको आयात प्रभावित भएको प्रवक्ता भट्टराईको भनाइ छ ।

‘हामीले भारतसँग प्रति युनिट भारु ६ र ७ रुपैयाँमा बिजुली किन्ने गरेका थियौं, तर मंगलबारको प्रतिस्पर्धामा हामीले भन्दा महँगोमा बिजुली किन्न भारतीय कम्पनीहरु राजी भए,’ भट्टराईले भने, ‘हामीले प्रतियुनिट ८ रुपैयाँ भारु बोलकबोल गरेकामा बिजुली प्रतियुनिट १२ रुपैयाँ भारुमा अरुले नै किने । जसका कारण आपूर्ति रोकियो ।’

समयअनुसार भारतसँग नेपालले दैनिक औसत ५ सय मेगावट बिजुली आयात गरिरहेकोमा बिहारबाट आउने तीन सय मेगावट बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

भारतमै खपत बढेको भन्दै सम्झौताअनुसार बिजुली दिन बिहार तयार नभएपछि थप समस्या देखिएको भट्टराईले बताए । इन्डियन इनर्जी एक्सचेन्जको मंगलबारको बिडिङमा विद्युत् नपाएपछि बुधबार पुनः प्रतियुनिट १२ भारुमै प्रतिस्पर्धामा सहभागी हुनेगरी प्राधिकरणले तयारी गरेको उनले बताए । यसले उद्योगहरुमा बिजुली कटौती गर्नुपर्ने बाध्यता हट्ने प्राधिकरणको विश्लेषण छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?