+
+

‘डान्सिङ स्टार्स नेपाल’ आजदेखि प्रसारण हुँदै, १२ सेलिब्रिटी प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १५:५९

काठमाडौं । नेपालको मौलिक डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को प्रसारण शुक्रबारदेखि सुरु हुने भएको छ । साँझ ८ बजे हिमालय टेलिभिजनमा ग्रान्ड प्रिमियर एसिपोड प्रसारण हुने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

कुल २६ श्रृंखलाको शोमा आगामी सातादेखि प्रत्येक शुक्रबार र शनिबार नियमित श्रृंखला प्रसारण हुने जनाइएको छ । विभिन्न क्षेत्रमा स्थापित १२ जना सेलिब्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गर्ने कार्यक्रम हरेक शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुने जनाइएको छ ।

नृत्यमा दखल नभएका तर विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले नाचेरै उपाधि जित्ने चुनौती स्वीकार्दै यो सिजनमा सहभागिता जनाएका छन् ।

धीरजदेखि नीलमसम्मले प्रतिस्पर्धा गर्दै

चर्चित पपगायक धीरज राई, रेस्लिङ खेलाडी भगवती खड्का, अभिनेत्री परमिता राणा, लोकगायिका प्रीति आलेमगर, अभिनेता एवं मोडल प्रदीप बाँस्तोला, मिस्टर नेपाल सन्तोष उपाध्याय, एउटै खुट्टाको भरमा मृत्य गर्ने कलाकार नीलम ढुंगानाले स्टारको रुपमा यो सिजनमा प्रतिस्पर्धा गर्दैछन् ।

मोडल सोनिका रोकाया, टिकटक स्टार अमर–अमृत दाहाल, अभिनेत्री छिरिङ शेर्पा, मैथिली फिल्मकी अभिनेत्री काजल कर्ण र मोटिभेसनल स्पिकर समाइरा श्रेष्ठले पनि प्रतिस्पर्धा गर्दैछन् ।

निर्णायकले दिने अंक र दर्शकको भोटको आधारमा हरेक साता उनीहरुको एलिमिनेसन (बहिर्गमन) हुनेछ । अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनेशा बान्तवा राई निर्णायकको रुपमा छन् । कार्यक्रमको होस्ट पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ र कमेडियन सुमन कार्कीले गर्ने भएका छन् ।

‘डान्समाथि पनि करोडौं लगानी हुनु खुसीको कुरा हो । नत्र डान्सलाई सधैं खाली ठाउँ भर्ने माध्यमको रुपमा मात्र लिइन्थ्यो,’ प्रतिस्पर्धी समेत रहेका गायक धीरज राईले भने, ‘डान्सिङ स्टार्सजस्ता शोले निरन्तरता पाउनुपर्छ । यसमा भाग लिनु नै मेरो आधा जित हो ।’

उनले अगाडि भने, ‘२५ वर्षअघि नाच्न नजान्दा मैले हेपाइ सहनुपरेको थियो । त्यो घटनाले मलाई नाच्न सधैं प्रेरणा दिन्छ । कलाले कुनै न कुनै रुपबाट ओजन लिन खोज्छ । एकदिन कला इमान्दार नै हुन्छ ।’

कार्यक्रममा प्रतिस्पर्धी स्टार जोडीको परिचय गराइएको थियो । सबैले आफूहरु उत्साहित रहेको भन्दै बताएका थिए ।

टाइटल स्पोन्सरमा करेन्ट नुडल्स

यो सिजनको टाइटल स्पोन्सर (प्रायोजक)को रुपमा चर्चित चाउचाउ ब्रान्ड करेन्ट नुडल्स रहेको छ । एनसीसी बैंक र डेनभर पर्फ्युम पावर बाई स्पोन्सरको रुपमा छन् । स्कोडा कार र हेरान्ड कलेज को–स्पोन्सरको रुपमा छन् ।

सनप्ले स्किन आक्वा, एलआईसी नेपला, सेन्सोडाइन, नेपालहोम्स डटकम, जोय पपाया एसोसियट स्पोन्सरको रुपमा छन् । कार्यक्रमको भोटिङ पार्टनर खल्ती रहेको छ भने बजार प्रबद्र्धन पार्टनरको रुपमा मिडियासेन्स छ ।

कार्यक्रममा हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले प्रयोजकहरुसँग सम्झौता गरेका थिए । ‘दर्शकको रुचिलाई ख्याल गर्दै कार्यक्रम निर्माण भएको छ । आशा छ सबैले रुचाइदिनुहुनेछ,’ भुसालले भने ।

द भ्वाइस अफ नेपाल, नेपाल आइडल, द भ्वाइस किड्सजस्ता चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो निर्देशन गरेका लक्ष्मण पौडेलले यो कार्यक्रमलाई निर्देशन गर्नेछन् । ‘नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सकिन्छ भन्ने विश्वाससहित हामीले आफ्नै फर्म्याटको विकास गरी नयाँ शो ल्याएका छौं,’ निर्देशक पौडेलले भने ।

‘ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसन’को मिश्रण गरी पारिवारिक शोको रुपमा निर्माण गरिएको पौडेलले जानकारी दिए । उनका अनुसार दर्शकको भोट र निर्णायकको मूल्यांकनको आधारमा हरेक साता एक जोडी कार्यक्रमबाट बाहिरिने छन् । खल्ती एप डाउनलोड गरी आफ्ना मनपर्ने स्टारलाई भोट गरी अघि बढाउन सकिनेछ । विजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।

साथै डान्सिङ स्टार्स एप डाउनलोड गरेर त्यसमार्फत देशभरबाट जोसुकैले आफैंले नृत्य गरेको भिडियो पठाउन सक्नेछन् । जसमध्येबाट छानिएका १२ जनाले १२ वटा एसिपोडमा प्रस्तुति दिने पाउनेछन् ।

यसबाट उच्च अंक प्राप्त गर्ने चार जना छनोट हुनेछन् भने उनीहरुमध्येबाट एक जनालाई विजेताको रुपमा छानिनेछ । विजेताले दोस्र्रो सिजनमा डान्सिङ स्टार्सको रुपमा भाग लिन पाउनेछन् ।

हिमालय टेलिभिजन एचडीले द भ्वाइस अफ नेपाल, द भ्वाइस किड्स नेपाल, हिमालय रोडिज, सार्क ट्यांक, नेपाल्स नेक्स्ट टप मोडलजस्ता चर्चित रियालिटी शो प्रसारण गर्दै आइरहेको छ । डान्सिङ स्टार्ससहित लोकस्टार जस्ता मौलिक रियालिटी शो पनि प्रसारण हुने तयारीमा छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?