+
+

स्थानीय निर्वाचन : कुरा एउटा, काम अर्कै नगरौं

सुधासुमन ढकाल सुधासुमन ढकाल
२०७८ चैत १४ गते १३:२५

पछिल्लो समय देशभित्र र बाहिर हुने हरेक क्रियाकलापका विषयमा सामान्य नागरिक पनि जानकार भइरहेका हुन्छन् । सञ्चारमाध्यमहरूसँगको सहज पहुँचका कारण पनि यस्तो भएको हो ।

देशका अधिकांश ठाउँमा सञ्चार पहुँच पुगेको छ । अधिकांश नागरिकको हात–हातमा स्मार्ट फोन पुगेका छन् । सामाजिक सञ्जाल प्रयोग र पहुँचमा व्यापकता आएको छ । परिमाणतः नागरिक पनि देश–विदेशमा हुने सम्पूर्ण खालका घटनाका बारेमा जानकार भइहाल्छन् ।

चियापसलदेखि कार्यालयमा हुने भेटमा मानिसहरू खुलेर कुरा गर्छन् । यातायातका साधनमा विभिन्न समयमा विभिन्न मानिससँग हुने यात्रामा गफगाफ हुन्छन् । यसक्रममा देशको विकास नभएको, राजनीतिक दलहरूले नीति र विचार अनुरूप काम नगरेको गुनासो सुन्न पाइन्छ ।

देश र जनताको हितमा लाग्ने अठोटका साथ मैदानमा उत्रिएका राजनीतिक दलका नेता र सामाजिक संघसंस्थाको नेतृत्व सम्हालेका नेतृत्वकर्ताले खुला तरिकाले आफ्नो दुनो सोझ्याउनतिर लागिरहेको भन्दै आक्रोश व्यक्त हुन्छ । आम नागरिक विभिन्न प्रकारले राजनीतिक अभ्यासले जन्माएर हुर्काएको वितृष्णाबारे कुरा गरिरहन्छन् ।

सम्बन्धित पक्षका समस्या, भोगाइ, इच्छा, आकांक्षा उनीहरूले नै बुझ्न र त्यसमाथि न्याय गर्न सक्छन् । यो हामी सबैलाई थाहा छ र महसुस पनि गरिनैरहेका छौं । त्यसैले यदि हामीले जसको समस्या र सवाल हो, उसैको सहभागिता र नेतृत्वमा त्यसलाई समाधान गर्नुपर्छ ।

जस्तो कि, महिलाको सवालमा महिलालाई, ज्येष्ठ नागरिकका सवालमा ज्येष्ठ नागरिकलाई, अपाङ्गता भएका नागरिकका सवालमा अपाङ्गता भएका नागरिकलाई । किनकि कृषकका सवालमा किसानले जति अरूले बुझ्न र न्याय गर्न सक्दैन ।

युवा, जनजाति, दलित, पिछडा वर्गका मानिस हुन् वा भेगीय हिसाबले हिमाल, पहाड र तराईका नागरिक, उनीहरूको पीडा सबैभन्दा धेरै उनीहरूलाई नै थाहा छ । व्यापारी, पेशाकर्मी, सुरक्षाकर्मी, खेलाडीदेखि कलाकारसम्म पनि यो कुरा लागु हुन्छ ।

त्यसरी नै, विद्यार्थीका समस्या समाधानको जिम्मेवारी विद्यार्थीलाई नै दिनुपर्छ । यसरी अगाडि बढायौं भने माथि उल्लेखित सम्पूर्णका सवालहरूको सुनुवाइ हुन सक्छ भन्ने कुरामा हामी जानकार छौं ।

तथापि, हामी यी यस्ता कुराहरूमा चियापसल, भेटघाट लगायतका ठाउँहरूमा जोडतोडका साथ उठाइरहेका हुन्छौं तर जब हामी यही कुरालाई व्यवहारमा लागु गर्ने बेला आउँछ, तब सबै कुरामा पोख्त हाम्रो मगज खोइ कता जान्छ ? थाहै हुँदैन ।

यी कुराहरूमा स्पष्ट दृष्टिकोण भएको, सक्षम, सवालहरू उठाउन सक्ने, क्षमतावान व्यक्ति यही हो भन्ने थाहा हामी सबैलाई छ । हाम्रो मान्छेलाई भन्दा पनि राम्रो मान्छेलाई छान्नुपर्छ भन्ने पनि थाहा छ । तर, जब छनोट गर्ने बेला हुन्छ तब हामी भने राम्रो मान्छे भन्दा पनि हाम्रो मान्छे रोज्छौं । हामीले आफ्नो छातीमा हात राखेर यो कुरालाई स्वीकार गर्नै पर्छ ।

हामी कसरी पढे–लेखेको, संसार बुझेको, परिवर्तन चाहने, प्रविधिसँग जानकार भयौं ? यसरी त हाम्रो पनि कुरा एउटा, काम अर्कै भएन र ?

राजनीति दुई शब्द मिलेर बनेको छ । राज भनेको शासन र नीति भनेको उचित समय अथवा उचित स्थानमा उचित कार्य गर्ने कला अथवा विशेष नीति अपनाएर विशेष उद्देश्य प्राप्ति गर्नुलाई ‘राजनीति’ भनिन्छ ।

अर्को शब्दमा भन्दा जनताको सामाजिक, आर्थिक र सार्वजनिक जीवन स्तरलाई बढाउनु पनि राजनीति हो । यति कुरा थाहा हुदा पनि हामीले राजनीतिको सही परिभाषा अनुरूप अगाडि बढेको कमै मात्रामा देखिन्छ । जो व्यक्ति विधान अनुरूप अघि बढ्न खोज्छ, त्यसलाई हामी अघि बढ्नै दिंदैनौं ।

पुराना नेताहरू त पढे–लेखेका भएनन्, प्रविधिसँग जानकार छैनन्, उमेरले पनि सक्षम छैनन् भन्ने प्रतिक्रिया हामी दिइरहेका हुन्छौं तर जब हामी त्यही कुरालाई व्यवहारमा उतार्ने बेला आउँछ, हाम्रो हर्कत पनि उनीहरूकै जस्तै हुन्छ । अनि हामी कसरी पढे–लेखेको, संसार बुझेको, परिवर्तन चाहने, प्रविधिसँग जानकार भयौं ? यसरी त हाम्रो पनि कुरा एउटा, काम अर्कै भएन र ?

कुनै पनि राज्य सञ्चालन गर्नका लागि राजनीति महत्वपूर्ण पद्धति हो । हाम्रा अग्रजहरूकै कारण, उनीहरूले आफ्नो पद र सत्ताको दुरुपयोग गरेका कारण अहिलेको समयसम्म आइपुग्दा राजनीतिको परिभाषा वा यसको वास्तविक अर्थलाई यसरी उल्ट्याइएको छ कि अहिलेको युवा पङ्क्तिमा राजनीतिप्रति वितृष्णा पैदा भएको छ, अहिलेका युवाले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिएका छन् ।

यहाँ राम्रो काम गर्नेलाई राजनीतिक दलको नामले अगाडि बढ्न दिइँदैन, खुट्टा तानिन्छ । यो मान्छेले राम्रो काम गर्छ, त्यसपछि जनता यसको पक्षमा हुन्छन्, सबै ठाउँमा यसको प्रशंसा हुन्छ । यो लोकप्रिय हुन्छ भन्ने डरले पनि खुट्टा तानिन्छ । आफूभन्दा अग्रजको अनुभवलाई युवाले नयाँ प्रविधिमा ढालेर अगाडि बढ्यो भने अवश्य पनि देश विकास हुन्छ ।

माथि उल्लेख भएका क्षेत्रमा सम्बन्धित पक्षलाई नै अगाडि बढाउन खोज्दा हामीलाई राजनीतिक दलको पर्दाले छेकिदिन्छ । हामीलाई काम गर्ने मान्छे यही हो भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो पार्टीको ह्विपमा बाँधिनुपर्ने बाध्यता हुन्छ ।

एकपटक हामी सबैले सोचौं त कुन–कुन ठाउँमा, संघ–संस्थामा, कमिटीमा हामीले आफ्नो राजनीतिक दल, गुट, नाता नहेरी सक्षम व्यक्तिलाई चुन्यौं ? हामी आफैंले आफैंलाई प्रश्न गरौं, पक्कै पनि एकदमै कम मात्रले मात्र आफैं आफैंलाई दिइएको यो प्रश्नको जवाफमा आत्मसन्तुष्टि अनुभूति गर्न सक्छौं ।

हामी एकअर्कासँग औपचारिक अथवा अनौपचारिक कुरा गर्दा अन्य विकासशील, विकासोन्मुख राष्ट्रहरूको बारेमा एकदमै जानकार भएर गफ दिइरहेका हुन्छौं तर हामीले आफूले आफ्नो ठाउँको विकासका लागि के गर्दा ठिक हुन्छ, के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने कुराको हेक्का हुँदाहुँदै पनि त्यही कुरालाई मात्र व्यवहारमा लागु कहिले गर्नेे ? अर्काको सवालमा निःशुल्क न्यायाधीशको भूमिका निर्वाह गर्ने हामी आफ्नो आत्मालोचना कहिले गर्ने ?

चुनाव आएको छ, कुरा एउटा काम अर्को नगरौं । सपना समृद्धिको देख्ने तर गलत नेतृत्व छनोट गर्ने हाम्रो कामले हामीलाई नै पछाडि पारिरहेको छ । कुरा जस्तै काम गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?