+
+

चुनावी गठबन्धनको पक्षमा दृढ देउवा

देउवाको प्रस्ताव : विगत बिर्सौं, माओवादीसँग गठबन्धन गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २१:१६

१४ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सैद्धान्तिक रुपमा सत्तारुढ गठबन्धनसँग चुनावी गठबन्धनको पक्षमा उभिने भएको छ । गठबन्धनको मोडालिटीबारे भने पार्टीको कार्यसम्पादन समितिबाट निर्णय गर्ने नेताहरु बताउँछन् ।

चुनावी गठबन्धनको पक्षमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा तीन दिन छलफल गराए । केन्द्रीय समितिमा देउवा पक्षको स्पष्ट बहुमत छ र सोमबारको बैठकमा देउवा पक्षका नेताहरु खुलेर गठबन्धनको पक्षमा उभिए ।

प्रधानमन्त्री समेत रहेका देउवा स्वयंले पनि चुनावी तालेमल गरेर जानुपर्ने मत राखेका छन् । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ,’ २०७४ को आम चुनाव स्मरण गर्दै देउवाले सोमबार केन्द्रीय कार्यसमिति बैठकमा भनेका छन्, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको थियो । भरतपुर महानगरकी मेयर रेनु दाहाल स्वयं कांग्रेसको समर्थनमा जितेकी हुन् । तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनायो ।

अहिले चुनावी गठबन्धनको विपक्षमा रहेका कांग्रेस नेताहरुले त्यो धोका भुल्न नहुने बताएका थिए । तर देउवाले विगत बिर्सन आग्रह गरेका छन् । विगतमा माओवादीले आफूलाई समेत गोली हानेको भन्दै उनले पुराना कुरा भुलेर माओवादी केन्द्रसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताएका छन् ।

कांग्रेस सभापति देउवाले आसन्न स्थानीय तहमा मात्र होइन, आगामी प्रदेश र संघको निर्वाचनसम्म चुनावी गठबन्धन गर्ने स्पष्ट संकेत गरेका छन् । गठबन्धन गरेर कांग्रेसलाई पहिलो शक्ति बनाउने र फेरि प्रधानमन्त्री हुने चाह उनले लुकाएका छैनन् । उनले शनिबार मात्र एक सार्वजनिक मञ्चबाटै भनेका छन्, ‘प्रचण्डले हार्ने चुनाव लडछन् ? जहाँ सजिलो हुन्छ, मिल्छन् ।’

अर्थात कांग्रेसले गठबन्धन गरेन भने माओवादीले २०७४ मा जस्तै फेरि नेकपा एमालेसँग गठबन्धन गर्छ । त्यो अवस्थामा उनीहरुले नै पहिलो शक्ति हुने र सरकार बनाउने सम्भावना हुन्छ । त्यसलाई रोक्न र आम चुनावपछि फेरि प्रधानमन्त्री हुन पनि देउवा माओवादी केन्द्रलाई एमालेतिर जान दिने पक्षमा छैनन् ।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छ । वरिष्ठ नेता पौडेलले सोमबारको बैठकमा सभापति देउवा भन्दा अघि बढेर गठबन्धनको पक्षमा अभिव्यक्ति दिएका छन् । नेकपा एमालेलाई साइजमा राख्न तथा केपी शर्मा शर्माको दम्भलाई परास्त गर्न माओवादी र एकीकृत समाजवादीलाई चिढ्याउन नहुने पौडेलको तर्क छ ।

‘ओलीलाई थप बलियो बनाउने काम गर्नहुन्न । बरु प्रचण्ड–माधवलाई अलिअलि मत थपेर कांग्रेसले सहयोग गर्नुपर्छ’, एक केन्द्रीय सदस्यका अनुसार पौडेलले भनेका छन्, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ लिएर भएपनि ओलीलाई साइजमा राख्नुपर्छ ।’

शेखर – गगन अडान

केन्द्रीय समितिमा संस्थापन पक्ष बलशाली छ । वरिष्ठ नेता पौडेलको समेत साथ पाएकाले देउवाको चाहे अनुसार चुनावी गठबन्धनको पक्षमा निर्णय हुन्छ भन्ने डा. शेखर कोइराला समूहले राम्ररी बुझेको छ । तर सोमबारको बैठकमा डा. शेखर र महामन्त्री गगनकुमार थापा दुबैले तामलेमको विपक्षमा मत राखेका छन् ।

नेता डा. कोइरालाले पार्टीको आन्तरिक एकता कायम गर्न सकियो भने कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने बताए । त्यसका लागि मंसिरमा भएको महाधिवेशनका कारण दुईतिर विभाजित भएको भावनालाई एकीकृत गराउनुपर्ने शेखरको तर्क छ ।

‘गठबन्धन कोसँग ? किन ? के का लागि गर्ने ?’ केन्द्रीय समिति बैठकमा उनले भने, ‘गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिले तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।’ माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने गठबन्धनले परिणाम नदिने उनको विश्लेषण छ ।

शेखर समूहबाटै महामन्त्री जितेका थापाले पनि आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । ‘देशभरमा लाखौं नयाँ मतदाता छन् । उनीहरुलाई पहिलो पटक नै रुखमा भोट हाल्न लगाउने हो,’ थापाले केन्द्रीय कार्यसमितिको बैठकमा भनेका छन्, ‘अहिले रूख बाहेकमा भोट हाल्न लगाउने हो भने भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? अहिले हसिँया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’

निर्णय भोलिमात्र

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय कार्यसमितिमा चुनावी गठबन्धनबारे बहस सकिएको छ । ‘अधिकांश साथीहरुले आवश्यकताको आधारमा गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने सुझाव धेरै साथीहरुले दिनुभयो । कतिपय साथीहरुको मत गठबन्धन नगरी पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो,’ उनले भने, ‘यसै सल्लाह सुझावका आधारमा भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं ।’

एक पदाधिकारीका अनुसार भोलि सुरुमा पदाधिकारीहरुबीच छलफल हुनेछ । त्यसपछि पूर्व पदाधिकारी लगायतका नेताहरु बस्नेछन् र गठबन्धनबारे साझा मत निर्माणको प्रयास हुनेछ । त्यसपछि मात्र दिउँसो ३ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

‘सभापतिको इच्छा र उहाँको पक्षमा प्रचण्ड बहुमत भएकाले तालेमलको पक्षमा निर्णय हुन्छ भन्नेमा कुनै शंका रहेन,’ एक पदाधिकारी भन्छन्, भोलिको निर्णयमा कसरी लेखिन्छ भन्ने मुख्य कुरा हो ।’

किनकी चुनावी तालेमल गर्दा केन्द्रबाट निर्णय गर्नुको साटो तल्लो तललाई नै दिनुपर्ने मत पनि बलियो छ । तर सभापति देउवा भने केन्द्रबाटै गठबन्धनबारे निर्णय गर्ने पक्षमा छन् ।

त्यसैले भोलि सत्तारुढ दलहरुसँग गठबन्धन गर्ने भनेर सैद्धान्तिक निर्णय गर्ने र त्यसको मोडालिटीबारे कार्यसम्पादनले निर्णय गर्ने सम्भावना रहेको एक नेता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?