+
+
त्रिकोणात्मक टी-२० श्रृंखला :

मलेसियामाथि नेपाल ६ विकेटले विजयी

कसिलो बलिङ र आसिफको अर्धशतक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत १६ गते १५:२२

१६ चैत, काठमाडौं । कसिलो बलिङ अनी आसिफ शेखको अर्धशतक मद्दतमा नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।

ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।

लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।

लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात राम्रो हुन नसकेपनि आसिफले एक छेउबाट इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्‍याए । गत बैशाखमा टीयू मैदानमै भएको त्रिकोणात्मक टी२० श्रृंखलामा नेदरल्याण्ड्स विरुद्ध डेब्यूखेलमै अर्धशतक बनाएका आसिफको यो दोस्रो अर्धशतक हो ।

ओपनर कुशल भुर्तेल व्यक्तिगत १ रनमा दोस्रो ओभरमै आउट भएका थिए । यस्तै रोहित पौडेल १२ रन बनाएर आउट हुँदा नेपालले चार ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको थियो ।

तर त्यसपछि आसिफले दीपेन्द्र सिंह ऐरीसँग ७० रनको साझेदारी गरे । मलेसिया विरुद्ध २१ रन बनाउँदै नेपालका लागि टी२० मा सर्वाधिक रन बनाउने पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका दीपेन्द्र १२औं ओभरमा आउट भए ।

दीपेन्द्रले ३६ खेलमा ३१ इनिङ्स ब्याटिङ गर्दै ३ अर्धशतकसहित ८०३ रन बनाएका छन् । पूर्व कप्तान पारसले १ शतक र ४ अर्धशतकसहित ७९९ रन बनाएका थिए ।

दिलिप नाथ १५ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा मलेसियाका लागि पवनदिप सिंहले २ तथा सयद अजिज र मुहम्मद बमिरले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । मलेसियाको लागि जुबाईदी जुल्किफलले सर्वाधिक ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

इनिङ्सको पहिलो बलमै विकेट गुमाएपनि मलेसियाले आक्रमक ब्याटिङ गर्दै रन जोडेको थियो । मलेसियाका ओपनर विरनदीप सिंहलाई करण केसीले खेलको पहिलो बलमै बोल्ड गरे ।

तर त्यसपछि जुबाईदी जुल्किफल र कप्तान अहमद फैजले ४९ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । मलेसियाले पावर प्लेमा १ विकेट गुमाएर ४६ रन जोडेको थियो ।

सातौ ओभरमा कुशल मल्लले जुबाईदीलाई बोल्ड गर्दै साझेदारी तोडे । जुबाईदीले १५ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ३२ रन जोडे । त्यसपछि सयद अजिज १४ रन बनाएर आउट भए । कप्तान अहमद फैजले २४ रन जोडे ।

सर्भिएन मुनिएन्डी ९, मुहम्मद अमिर १६ र विजय उन्नी ३ रनमा आउट भए । अमर जुहदीले खाता समेत खोल्न सकेनन् ।

बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले ३ ओभरमा १६ रन मात्र खर्चिए भने सन्दीपले ४ ओभरमा २७ रन खर्चिए ।

किफायती बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १ मेडन राख्द १४ रन खर्चेर १ विकेट लिए । यस्तै अविनाश बोहरा र कुशल मल्लले पनि १-१ विकेट लिए ।

नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?