+
+

ओस्कार समारोह थप्पड प्रकरण : विल स्मिथको अवार्ड खोसिन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १२:४६

काठमाडौं । ओस्कार अवार्ड आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले क्रिस रक प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

उक्त घटनापछि अभिनेता विल स्मिथलाई मञ्च छाड्न गरिएको आग्रहलाई उनले अस्वीकार गरेको पनि ओस्कारले जनाएको छ । रोयटर्सले एकेडेमीलाई उद्धृत गर्दै स्मिथलाई उत्कृष्ट अभिनेताको विजेताको सूचीबाट निष्कासन गर्ने प्रक्रियाको सुरुवात समेत भएको जनाएको छ ।

यो प्रक्रिया योजनाअनुसार अघि बढे अभिनेता स्मिथको अवार्ड खोसिन सक्छ । सोमबार बिहान प्रत्यक्ष प्रसारण गरिएको ओस्कार समारोहमा स्मिथले मञ्चमै उक्लिएर प्रस्तोता रकलाई थप्पड हानेका थिए । रकले स्मिथ पत्नी जेडाको स्वास्थ्य अवस्थालाई लिएर ठट्टा गरेपछि उनले थप्पड हानेका थिए ।

थप्पड हानेर कुर्सीमा फर्किएका स्मिथले चिच्याउँदै अश्लील शब्दको उच्चारण समेत गरेका थिए । यो घटनाले सिंगो ओस्कार समारोहलाई नै ओझेलमा पारिदिएको थियो ।

घटनाको एक घण्टापछि स्मिथले फिल्म ‘किङ रिचर्ड’बाट सर्वोत्कृष्ट अभिनेताको ट्रफी उचालेका थिए । त्यतिबेलासम्म उनलाई किन ओस्कार समारोहबाट ननिकालेको भन्दै आलोचना सुरु भइसकेको थियो ।

‘हामीले सोच्नै नसक्ने ढंगले घटनाक्रम विकसित भयो,’ बुधबार विज्ञप्ति सार्वजनिक गर्दै एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले भनेको छ, ‘हामीले स्मिथलाई समारोह छाड्न भनेका थियौं र उनले अस्वीकार गरे । हामीले परिस्थितिलाई फरक तरीकाले संयम तुल्याउन सक्थ्यौं ।’

भौतिक आक्रमणमा उत्रिएको, दुर्व्यवहार र धम्कीपूर्ण व्यवहार देखाएको भन्दै एकेडेमीले कारबाही प्रक्रिया सुरु गरेको जनाइएको छ ।

स्मिथलाई निलम्बन, निष्कासन वा कस्ता प्रतिबन्ध लगाउनेबारे निर्णय गर्न अप्रिल १८ मा बोर्ड बैठक समेत बस्ने भएको छ । तर स्मिथले एकेडेमी र क्रिस रकसँग माफी मागिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?