
१७ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन् ।
बिहीवार रिपोर्टस क्लवको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए ।
‘पछिल्लो समयमा जसरी नेपालको छरछिमेकको भूराजनीतिक बदलिँदो छ, विश्व राजनीतिसँगै भूराजनीति बदलिँदो छ,’ उनले भने, ‘एउटा नयाँ शीतयुद्धको छायाँ प्रतिछायाँ मडारिँदै छ ।’
नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनु पर्नेमा जोड दिए ।
‘हामीले बेलैमा राम्रो सन्तुलित सम्बन्ध मिलाएर जान सकेनौं भने हामी नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।
हामीले समयमा नै वुद्धि पुर्याउँदा शताकौँपछि हाम्रो देश अग्रणी केन्द्र, आर्थिक हिसाबले, राजनीतिक हिसावले, सांस्कृतिक हिसावले राम्रो बन्ने सम्भावना रहेको भन्दै त्यसका लागि राष्ट्रिय समझदारी बनाउनु पर्नेमा उनले जोड दिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले लोकतन्त्रलाई अझै पनि ठिक ढंगले पूर्णता दिन नसकेको बताए ।
पूर्णसमानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबीसमेत उनले गरे । पूर्व प्रधानमन्त्री भट्टराईले देशको अर्थतन्त्रलाई बचाउन श्रम निर्यात गर्ने र वस्तु आयात गर्ने अर्थतन्त्र नभइ पूँजी र प्रविधि आयात गर्ने र वस्तु र सेवा निर्यात गर्ने अर्थतन्त्रमा बदल्नु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4