+
+

प्रधानमन्त्रीको भारत भ्रमण : आज विदेशमन्त्री जयशंकरले भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते ८:०२

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारत जाँदै छन् । चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा भारत जान लागेका हुन् ।

उनी भारतीय समय अनुसार दिउँसो २ः४५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा पुग्नेछन् । देउवाको बस्ने व्यवस्था यही होटलमा मिलाइएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामाले भारत भ्रमण गर्ने बेलामा पनि यही होटलमा बसेका थिए ।

भारतीय विदेशमन्त्रीसँग आजै भेटवार्ता, भाजपा  कार्यालय पनि जाने

देउवाको पहिलो भेट भारतीय विदेशमन्त्री एस जयशंकरसँग हुने छ । विदेशमन्त्री जयशंकर देउवालाई भेट्न अपराह्न साढे चार बजे मौर्य होटलमा पुग्ने छन् । त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् ।

भाजपाका नेताहरुको स्वागतपछि देउवा नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा पुग्नेछन् । दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा देउवा सहभागी हुनेछन् ।

शनिबारको दिन बिहान १०ः४० बजे देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट पुग्ने छन् । त्यहाँ पुष्पुच्छा अर्पण गरेपछि औपचारिक कार्यक्रममा सहभागी हुन देउवा हैदरावाद हाउस पुग्ने छन् । हैदरावाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमै नेपाली र भारतीय प्रतिनिधिमण्डलस्तरीय छुट्टै वार्ता पनि हुने छ । शनिबारको दिन दिउँसो सवा १२ बजे जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर विद्युत प्रसारण लाइनको दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ । त्यसैगरी भारतको सहयोगमा निर्माण गरिएका १३२ वटा स्वास्थ्य चौकी भवन पनि नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएपछि देउवाले अपराह्न साढे ४ बजे भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । शनिबारको दिन साँझ होटलमा भारतका उद्योगी व्यवसायीका प्रतिनिधिहरुले देउवालाई भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

आइतबार बिहान ९ बजे विशेष जहाजमार्फत् बनारस जाने छन् । बनारसमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले देउवालाई स्वागत गर्ने छन् ।

बनारसमा रहँदा देउवाले काशी विश्वनाथ मन्दिर र त्यहाँ रहेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेछन् । बनारसबाट अपराह्न चार बजे देउवा पुनः दिल्ली जाने र स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

देउवा भाजपाको केन्द्रीय कार्यालयमा जाने र बनारस पुगेर उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट्ने कार्यक्रमलाई चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?