+
+
भाजपा कार्यालयमा देउवा :

सम्बन्ध सुधारका नाममा ‘उत्ताउलो’ कूटनीति

दिपेश शाही दिपेश शाही
२०७८ चैत १८ गते १८:१३

१८ चैत, काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । मुलुकको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएका देउवाले विपक्षी दलका नेतासँग भेटघाट गर्ने कार्यसूचीसमेत छैन । तर सत्तारुढ भाजपाको भने पार्टी कार्यालय पुगेपछि दुवै देशको कूटनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्र विभागमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापनरत प्रा.डा. पुष्पराज अधिकारी प्रधानमन्त्री देउवा भाजपाको पार्टी कार्यालय जाने निर्णय ‘कूटनीतिक प्रोटोकल’ विपरित भएको बताउँछन् । भन्छन्, ‘कांग्रेसको सभापति भएर उहाँ भ्रमणमा जानु भएको हो भने कुनै अमुक पार्टीको कार्यालयमा पनि जान मिल्छ । तर मुलुकको प्रधानमन्त्री कुनै पार्टीको अध्यक्षलाई भेट्न उसको कार्यालयमा जान प्रोटोकलले मिल्दैन ।’

देउवा नेपालको प्रधानमन्त्रीका हैसियतमा भ्रमणमा गएको वा नेपाली कांग्रेसको सभापतिको हैसियतमा गएको हो भन्ने फरक छुट्याउनुपर्ने  अधिकारी बताउँछन् ।

प्रधानमन्त्री देउवालाई दिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेपछि उनी चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुगे ।

चार जना मन्त्री र विभिन्न मन्त्रालयका सचिव तथा सल्लाहकारसँगै ५० जना रहेको देउवाको भ्रमण टोली होटल आईटीसी मौर्यमा नै रहने छ । त्यहीँ भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका छन् ।

त्यसपछि देउवा पण्डित दिनदयाल उपाध्याय मार्गमा रहेको भाजपा पार्टी कार्यालयमा गएका हुन् । त्यहाँ प्रधानमन्त्री देउवालाई भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गरे ।

हाम्रो प्रमको भाजपाको कार्यालतिर जाने कार्यक्रम चाहिँ बुझिएन । यस्तो परम्परा पहिले कहिल्यै भए-बसे जस्तो पनि लाग्दैन

यसअघि नेपाल वा भारत दुवै तर्फबाट भएका उच्चस्तरी भ्रमणमा कोही पनि नेता यसरी अमुक पार्टीको कार्यालयमा जाने गरेका थिएनन् ।

प्रधानमन्त्री भएपछि तीनपटकसम्म नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा नेपालबाट भारतको भ्रमणमा गएका कोही पनि प्रधानमन्त्री राजनीतिक दलको पार्टी कार्यालय पुगेको इतिहास छैन ।

नागरिक अगुवा देवेन्द्रराज पाण्डे यसअघि यस्तो परम्परा रहेको सम्झना नभएको बताउँछन् । ‘हाम्रो प्रमको भाजपाको कार्यालतिर जाने कार्यक्रम चाहिँ बुझिएन । यस्तो परम्परा पहिले कहिल्यै भए-बसे जस्तो पनि लाग्दैन,’ पाण्डेले प्रधानमन्त्री देउवाको भाजपा कार्यालय जाने कार्यसूची सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने देउवाको भाजपा कार्यालय पुग्ने कार्यतालिकालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । असल सम्बन्ध भएका दुई देशका सत्तारुढ पार्टीका नेताहरू एकअर्काको कार्यालयमा जाने विषयले कुनै प्रोटोकल नतोडिने उनको भनाइ छ ।

‘भारतको सत्तारुढ दलको हेडक्वार्टरमा उहाँहरूले आमन्त्रण गरेको भएर जाने तय भएको हो । भारतमा अरू पार्टीसँगको हाम्रो सम्बन्ध पनि उत्तिकै राम्रो छ,’ प्रवक्ता महतले भने, ‘भारतमा बिजेपी सरकारमा छ । प्रधानमन्त्री पनि त्यही पार्टीको नेता हुनुहुन्छ । हाम्रो प्रधानमन्त्री पनि नेपाली कांग्रेसको सभापति समेत हुनुहुन्छ । उहाँहरूले भ्रमणको निम्तो दिनुभयो, त्यसलाई नकार्ने कुरा भएन ।’

कांग्रेस प्रवक्ता महत नेपालका कम्युनिस्ट पार्टीका नेताहरू पनि चीन जाँदा त्यहाँको कम्युनिस्ट पार्टीका नेतासँग भेट्ने र कार्यालय जाने गरेको तर्क गरे ।

सत्तारुढ कांग्रेसले प्रधानमन्त्री देउवाको भारत भ्रमण ‘सम्बन्ध सुधार’ का लागि भएको बताएको छ । नयाँ नक्सा प्रकरणपछि भारत र नेपालको सम्बन्धमा चिसोपन बढेको थियो, जसका कारण पछिल्लो तीन वर्षयता दुवै देशबाट उच्चस्तरका द्विपक्षीय भ्रमण हुन सकेका थिएन । राजनीतिक दलको स्तरमा भने बाक्लै भेट र भ्रमणहरू भए ।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले केही पटक नेपाल आएर विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरे । कांग्रेसले तत्कालिन सहमहामन्त्री प्रकाशसरण महतको नेतृत्वमा टोली भारत पठाएको थियो । चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा महत भारत पुगेर सत्तारुढ दल भाजपाका नेताहरूसँग छलफल गरेका थिए । संस्थापन बाहेकका गुटका नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह पनि व्यक्तिगत रूपमा भारत पुगेर नेताहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेसँग पारिवारिक सम्बन्धसमेत बनाएकी छन् । आरजुले नेपाल भ्रमणमा आएका भाजपा नेता चौथाइवालेलाई ६ भदौमा रक्षा बन्धन बाँधेर दिदी भाइको सम्बन्ध बनाएकी थिइन् । कांग्रेसको महाधिवेशनपछि पनि राणा भारत पुगेर चौथाइवालेलगायतलाई भेटेकी थिइन् । भारत भ्रमणमा देउवाले अन्य कुनै पनि विपक्षी दलका नेतासँग भेट्ने कार्यक्रम नहुनु, तर सत्तारुढ पार्टी भाजपाको भने पार्टी कार्यालयसम्मै पुग्नुलाई चासोका साथ हेरिएको छ ।

आरजु राणा र चौथाइवाले । फाइल तस्वीर

यसरी भाजपाको पार्टी कार्यालयसम्म पुग्ने प्रधानमन्त्री देउवाको निर्णयले व्यक्तिगत र राजनीतिक स्तरको सम्बन्धलाई फाइदा पुगे पनि मुलुकको कूटनीतिक संस्कारमा भने असर पर्ने देखिन्छ । मुलुकको प्रधानमन्त्रीको हैसियतमा गएको व्यक्तिले आफ्नो राजनीतिक फाइदाका लागि प्रोटोकल नै तोड्न मिल्दैन भन्छन्, प्राध्यापक अधिकारी ।

उनी भन्छन्, ‘कांग्रेसको सभापति भएर उहाँ भ्रमणमा जानु भएको हो भने कुनै अमुक पार्टीको कार्यालयमा जान मिल्छ । तर, मुलुकको प्रधानमन्त्री कुनै पार्टीको अध्यक्षलाई भेट्न उसको कार्यालयमा जान प्रोटोकलले मिल्दैन ।’

दुई सार्वभौम देशबीच सामान्यतया यस्ता प्रोटोकल पालन गर्ने चलन रहेको भन्दै उनी देउवाको भाजपा कार्यालय जाने निर्णय ‘देख्नेलाई लाज’ हुने विषय भएको बताउँछन् ।

तर कांग्रेस प्रवक्ता डा. महत हरेक ठाउँमा प्रोटोकलको विषय लागू नहुने बताउँछन् । ‘प्रोटोकल भन्छन्, तर त्यो कसरी मिचिन्छ ? पार्टी कार्यालय जाँदा के बिग्रिन्छ र ?,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतको प्रश्न छ, ‘भ्रमणमा जाँदा मन्दिरमा जान्छन्, राजघाटमा जान्छन् । त्यहाँ त पूजा गर्न जाने हो नि ! पूजारी भेट्न गयो भन्दिन हुन्न । पूजारी र प्रधानमन्त्रीको हैसियत एउटै हो र ?’

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे पनि देउवाको भाजपा पार्टी कार्यालय जाने विषयलाई अन्यथा लिनु नपर्ने बताउँछन् । ‘प्रधानमन्त्रीको तीन दिने भ्रमण हो । त्यसमा धेरै कार्यसूची होलान् । एउटा मात्रै विषयलाई उठाएर ‘कन्ट्रोभर्सी’ किन सुरु गर्ने ?,’ पाण्डे प्रश्न गर्छन, ‘उहाँको भ्रमण सकिएपछि शनिबार हुने समकक्षीसँगको भेटमा के छलफल र सहमति हुन्छ भन्ने आधारमा समीक्षा गर्नुपर्छ ।’

प्रोटोकल सुविधाको विषय मात्रै भएको तर्क गर्दै उनी भन्छन्, ‘यो तत्कालीन आवश्यकताको विषय हो । भारतमा १९४७ देखि अहिलेसम्म प्रधानमन्त्री सत्तारुढ पार्टीका प्रमुख थिए । प्रधानमन्त्री भेट्दा सत्तारुढ पार्टीको प्रमुखसँग पनि भेट भइहाल्थ्यो । यस्ता तपसिलका विषयमा टाउको दुखाउन जरुरी छैन ।’

प्राध्यापक अधिकारी भने कूटनीतिमा हरेक सांकेतिक अर्थको समेत ठूलो महत्व हुने भन्दै यसलाई सामान्यीकरण गर्न नहुने बताउँछन् ।

यसै कारण भारतसँग नेपालको कूटनीतिक सम्बन्धमा पटक–पटक अप्ठ्याराहरू आउने गरेको उनको भनाइ छ ।  ‘भारतसँग यस्तै कारणले हाम्रा धेरै परम्परामा खलबलिएका छन् । कूटनीतिमा हरेक कदमको सांकेतिक अर्थ धेरै ठूलो हुन्छ,’ प्रा.डा. अधिकारी भन्छन्, ‘सभापतिको रूपमा गएको भए पार्टी कार्यालयमा नै गएको भए पनि फरक पर्ने थिएन । नेतासँग गएर केही मागेको भए पनि अर्कै अर्थ हुन्थ्यो । तर देशको प्रधानमन्त्रीका हिसाबले जाने हुँदा विदेशमन्त्री भेट्न पनि उहाँ बसेको होटलमा जाने हुन्छ । त्यो प्रोटोकल हो ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?