+
+

एमालेका पशुपति दयाल भन्छन् : निर्वाचनमा हाम्रो तगडा प्रतिस्पर्धा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:४०

२४ चैत, नेपालगञ्ज । २०७४ सालको चुनावमा पशुपति दयाल मिश्र बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसद पदको उम्मेदवार थिए । हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा जोडिएर एमालेको सूर्य चूनाव चिह्नबाट चुनाव लडेका मिश्र संघीय सांसदमा पराजित भए ।

अहिले उनी नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । केही महिना अघि मात्रै एमालेमा प्रवेश गरेका यसपटक मिश्र मेयर पदमा पराजित हुन्न होला भन्ने विश्वास गर्छन् । ‘२०७४ सालमा हतारहतार निर्णय भएर चुनाव लडेको थिएँ, एमालेमा प्रवेश गरेको थिइनँ । सबैसँग चिनजान थिएन,’ उनी भन्छन्, ‘ अहिले त केन्द्रीय सदस्य छु, यो पटक चुनाव जित्छु ।’

उनै मेयरमा उम्मेदवारी दिने तयारीमा रहेका मिश्रसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

अघिल्लो पटक संघीय चुनाव लड्नु भएको थियो । अहिले मेयरमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ, किन ?

नेपालगञ्ज एकदमै पुरानो सहर हो । तर बुटवल, भैरहवा, वीरगञ्ज, विराटनगर र पोखराको विकाश भएको छ, त्यसरी नेपालगञ्जको विकास हुन सकेको छैन ।

भौतिक, मानविय सबै दृष्टिकोणले नेपालगञ्जको विकास गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । पाँच वर्षसम्म कसैले परिवर्तन गर्न सक्दैन । त्यसैले नेपालगञ्जको विकास गर्न म उम्मेदवार बन्न लागेको हुँ ।

अघिल्लो (संसदीय) निर्वाचनमा पनि चार वटा वडा बाहेक सबै ठाउँबाट जितेको थिएँ ।

अघिल्लो पटक पाएको मत यसपटक पनि पाउनुहुन्छ भन्ने आधार के ?

अहिले झन बढेको छ । त्यो बेला हतारहतार निर्णय गरेर चुनाव लडेको थिएँ, एमालेमा प्रवेश गरेको थिइनँ । अहिले त केन्द्रीय सदस्य छु, यो पटक चुनाव जित्छु ।

अर्को कुरा, हाम्रो अध्यक्ष केपी ओली नेपालगञ्ज आउँदा मात्र ४६०० जनालाई पार्टी प्रवेश गराएका छौं । साथीहरू प्रत्येक वडामा मेहेनतका साथ लाग्नु भएको छ, मजबुत संगठन छ । ओलीजी नेतृत्वको सरकारले तीन वर्षमा गरोके काम, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राखेको अडानका कारण जुन छवि एमालेको बनेको छ, त्यसले पनि पार्टी प्रवेशको लहर नै चलेको छ ।

अरू दलहरुले गठबन्धन गर्न लागेका छन्, सबै मिलेर हराउने हुन् कि भन्ने लाग्दैन ?

गठबन्धन भए हामी त्योभन्दा मजबुत छौँ । उहाँहरूले दलको नेतासँग हामी गठबन्धन गर्नुहुन्छ, हामी जनतासित गछौं । अघिल्लो पटक हामीले राप्रपाले तीनवटा, हामीले ६ वटा र कांग्रेसले ८ वटा वडा जित्यो । मेयरमा त राप्रपाको धवलशमशेर राणाले जित्नुभयो । त्यसैले स्थानीय तहमा जनताले गठबन्धन गर्ने हो, दलहरूले गरेर केही हुँदैन । निर्वाचनमा हाम्रो तगडा प्रतिस्पर्धा हुन्छ ।

तपाईहरुले पनि धवल शमशेरसँग प्रतिनिसिधसभा सदस्यमा सघाउने गरी राप्रपासँग गठबन्धन गर्न खोज्नु भएको छ भनिन्छ नि ?

हामीले मेयर र उहाँहरूले उपमेयर लिने भनेर केन्द्रमा कुरा भइराखेको छ भन्ने जानकारी आएको छ । हामीसँग सिधै कुरा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?