+
+

घोराहीमा कांग्रेसको प्रस्ताव : मेयर हामी लिन्छौं, माओवादीले उपमेयर लेओस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २०:२९

३० चैत, दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाको नेतृत्व नछाड्ने अडान लिएको छ । २०७४ चुनावमा दोस्रो भएका कारण अहिले गठबन्धन बन्दा पनि आफूहरूले मेयर पाउनुपर्ने कांग्रेस नेताहरूको अडान छ ।

कांग्रेसमा मेयरको उम्मेदवारका लागि पाँच जना आकांक्षी छन्, राजु खनाल, भूपबहादुर डाँगी, जानकी बस्नेत, कमल किशोर घिमिरे र शंकर डाँगी । खनाल संविधानसभाका पूर्वसदस्य हुन् भने भूपबहादुर गत स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित उम्मेदवार हुन् ।

भूपबहादुर भन्छन्, ‘गठबन्धन हुँदा पनि हामी स्वाभाविक दाबेदार भयौं । हाम्रो पार्टीभित्रकै व्यवस्थापन नहुँदा पनि माओवादीको भन्दा साढे ५ हजारबढी मत हाम्रो छ । त्यसैले घोराही उपमहानगरपालिका कांग्रेसले छोड्दैन ।’

स्थानीय निर्वाचनको तयारी, गठबन्धनमा भइरहेको छलफल र चुनावी एजेण्डाबारे मेयर आकांक्षी भूपबहादुरसँग अनलाइनखबरकर्मी दिपेश शाही, रघुनाथ बजगाईंआभास बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश :

पाँचदलीय गठबन्धनमा आबद्ध दलहरूको शक्ति आकलन र त्यसका आधारमा तालमेल गर्न भनिएको छ । घोराहीको अवस्था कस्तो पाउनुभयो ?

स्थानीय चुनाव नजिकिँदै गएपछि हाम्रो पार्टीले घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान चलायो । जिल्ला, क्षेत्री, नगर र प्रदेश कार्यसमितिले नेताहरूलाई नै खटायो । सबै टोलमा कार्यसमिति गठन भए । अब टिकटको टुंगो गर्न लागेका छौं । गठबन्धनमा रहेका अरू दलले पनि आ–आफ्नो तयारी गरेर जनमत कति हो भन्ने आकलन गर्नुभएको छ ।

गठबन्धनको बैठकमा जे–जस्तो रिपोर्ट आएको छ, त्यसलाई माथि (केन्द्र) मा पठाएका छौं । मुख्यतः अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हामीले दलहरूको हैसियत मोटामोटी यो हो भनेका छौं ।

सिट बाँडफाँटबारे चाहिँ के कुराकानी भएको छ ?

उपमहानगरपालिका तहमा हाम्रो पार्टीको क्षेत्रीय कार्यसमिति छ, त्यहाँ पनि छलफल चलिरहेको छ । जिल्ला तहमा पनि छलफल भइरहेको छ । पाँच दलको पनि बसिरहेको छ । चरणबद्ध तरिकाले छलफल चलिरहेको छ ।

महानगर र उपमहानरको भागबण्डाको निर्णय केन्द्रीय संयन्त्रले गर्ने भनिएको छ, मेयर गठबन्धनमा आबद्ध अर्को दलको भागमा प¥यो के गर्नुहुन्छ ?

अघिल्लो चुनावमा मलाई पार्टीले मेयरमा टिकट दिएको थियो । एमालेबाट अहिलेका मेयर नरुलाल चौधरी र माओवादीबाट जीवन गौतम लड्नुभएको थियो ।

नरुलालजीको २२ हजार, मेरो १७ हजार र जीवनजीको १२ हजार मत आएको थियो । त्यसबेला मैले ६/७ दिन समय बाँकी रहँदा टिकट पाएँ । २० वर्षपछि आएको स्थानीय निर्वाचनको चुनाव भएकाले धेरै साथीहरूलाई इच्छा आकांक्षा थियो । पार्टीको आन्तरिक व्यवस्थापन गर्न नसकेका कारण म पराजित हुन पुगेँ । अहिले कांग्रेस नेताहरू एकजुट भएर लाग्नेबित्तिकै कांग्रेस एक्लै लडेपनि हामी जित्छौं । कांग्रेसको बलियो आधार भएको क्षेत्र हो । त्यसैले नेतृत्व छाड्न सक्दैनौं ।

यसपटक पनि अन्तरघातको डर होला नि ?

पहिले (अन्तरघात) थियो, यसपालि छैन । हामीभन्दा त्याग गरेको, दुःख गरेका साथीहरू हुनुहुन्छ । उहाँहरुलाई पनि सम्मान गर्दै चरणबद्ध छलफल गरिरहेका छौं । आकांक्षा त तीन/चार जनाले राख्नुभएको छ । तर सहमतिको आधारमा एक जनाको नाम मात्रै सिफारिस हुन्छ होला ।

गठबन्धनमा मेयर दाबी गरेपछि अरू दललाई चाहिँ कांग्रेसले के अफर गरेको छ ?

केन्द्रमा पाँच दलको गठबन्धन छ । तर, यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादी छ । एकीकृत समाजवादी, एमालेबाट फुटेर बनेको पार्टी भयो । हाम्रो पालिकाभित्र एकीकृत समाजवादीको एक जना वडाध्यक्ष हुनुहुन्छ ।

त्यसैले कांग्रेसले जितेको ठाउँमा कांग्रेसले पाउने, माओवादी केन्द्रले जितेको ठाउँमा माओवादीले पाउने । बाँकी रहेको ठाउँमा दोस्रो नम्बरमा को छ, त्यसले नेतृत्व लिने हिसाबले जानुपर्छ भन्ने छ । यही हिसाबले गठबन्धन गर्ने विषयमा छलफल चलिरहेको छ ।

अघिल्लो चुनावमा कांग्रेस दोस्रो भएको थियो, त्यसैले मेयर पाउनुपर्ने भन्ने हो ?

हो, त्यही कारण हामी स्वाभाविक दाबेदार भयौं । माओवादीले दाबेदारी गर्नु पनि स्वाभाविकै हो । किनभने गठबन्धन हुने बेला चुनाव जितिन्छ, यो बेला दाबी नगरे कहिले गर्ने भन्ने होला । तर ख्याल गर्नुपर्छ, हाम्रो पार्टीभित्रकै व्यवस्थापन नहुँदा पनि माओवादीले भन्दा साढे ५ हजारबढी मत छ । त्यसले कांग्रेसले घोराही उपमहानगरको नेतृत्व छोड्दैन ।

माओवादी केन्द्र नि हामी छोड्दैनौं भन्छ त …

माओवादीको देशभरिको उपमहानगरपालिकामध्येबाट सबैभन्दा बढी मत पाएको यही घोराहीमा १२ हजार हो । माओवादीबाट छुट्टिएर धेरै मानिस एमालेतिर गएका छन्, केही कांग्रेसतिर पनि आउनुभएको छ । त्यसैले उहाँहरुको एक्लै त केही सम्भावना छैन । त्यही भएर अरूले गठबन्धन गरेर जानुपर्छ भन्नु भएको हो । तर, घोराही नेपाली कांग्रेसले छोड्दैन ।

माओवादीलाई तपाईंहरुको प्रस्ताव के त ?

हामी मेयर लिन्छौं, माओवादीले उपमेयर लेओस् ।

तपाईंले भनेभन्दा ठीक उल्टो हुने गरी केन्द्रबाट निर्णय भएर आयो भने ?

त्यतिखेर यस्तै हुन्छ भनेर मैले मात्रै भन्न सक्दिनँ । तर, केन्द्रबाट लादियो भने कांग्रेसका जनता खुसी रहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?