+
+

घोराहीमा १ करोड ८० लाख लगानीमा २८ वटा कृत्रिम जलाशय निर्माण

रासस रासस
२०८० फागुन १७ गते १८:३४

१७ फागुन, दाङ । घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ ।

प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो ।

‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ

घोराही उपमहानगरपालिका–१७, कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी पनि भइरहेको उनको भनाइ छ ।

कृत्रिम जलाशय निर्माण गरेपछि पानीको सहज आपूर्ति भएको किसानको बताउँछन् । ‘वडा नं १७ र आसपासको वडामा सिँचाइका लागि पानी पुगेको छ’, चौधरीले भने, ‘कर्जाही आसपासमा एक सय बिघाभन्दा धेरै जमिनमा यस जलाशयको पानीमार्फत सिँचाइ भई व्यावसायिक तरकारीखेती भइरहेको छ ।’

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नं १ र २ को सीमाक्षेत्रमा पर्ने सुर्केडाँगीमा (चेपे ताल)मा ३ वर्षअघि करिब साढे ७ बिघा क्षेत्रफलमा कृत्रिम जलाशय बनाएको थियो । उक्त जलाशय बनेपछि खेतीपातीमा सहज भएको किसान मीना चौधरीले सुनाइन् ।

‘जलाशय निर्माणपछि सिँचाइको समस्या छैन । यसले व्यावसायिक तरकारीखेतीमा सहयोग पुगेको छ’, उनले भनिन्, ‘मैलेमात्रै काउली, बन्दा, गोलभेँडा गरी मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छु । लौका, करेला, भिन्डी र काँक्राको खेती पनि राम्रो भइरहेको छ ।’

जलाशय संरक्षण समितिका अध्यक्षसमेत रहेका वडा नं १ का वडाध्यक्ष राममणि पाण्डेले जलाशयमा माछापालनसँगै डुंगासमेत सञ्चालन गरिएको जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करिब एक करोड ८० लाख रूपैयाँ लगानीमा निर्माण भएको हो ।

‘जलाशय ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुंगा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारीसमेत दिएका छौं’, पाण्डेले भने ।

सघन सिँचाइ आयोजनाले ३, बृहत् सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले ३ र उपमहानगरले २१ गरी पाँच वर्षमा २८ कृत्रिम जलाशय निर्माण भएका छन् । गर्मीमा पानीको समस्या धेरै नै थियो ।

तीव्र सहरीकरणले नगरभित्रका सहरोन्मुख गाउँका कुँवा, इनार, ट्युबबेल, जरूवाजस्ता पानीका स्रोत सुक्दै गएका छन् । त्यसैले पशुचौपाया, वन्यजन्तु, चराचुरुंगीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको हो ।

नगरलाई सुक्खा हुनबाट बचाउन सुरु भएको जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको नगरप्रमुख नरूलाल चौधरीले बताए । उनले नगरमा पानीका स्रोत बचाउन पानी संकलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको उल्लेख गरे ।

‘नगरमा जनघनत्व बढ्दै जाँदा सहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए । पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्नका लागि कृत्रिम जलाशय निर्माण गरेका हौं’, उनले भने, ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षामा पानी जम्मा गरिन्छ । जलाशय निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौं ।’

जलाशय निर्माण भएका स्थानमा बाह्रै महिना खेती हुने गरेको सोही ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय ५ कट्ठादेखि ५ बिघासम्म फैलिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?