+
+

पूर्वाञ्चल विश्वविद्यालयको लापरबाहीले स्वर्ण पदक पाउनेमा नाम नअटाएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २१:१४

२ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आइतबार स्नातक तथा स्नात्तकोत्तर तहका विद्यार्थीहरुलाई विभूषित तथा दीक्षित गर्दैछ ।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १० औं दीक्षान्त समारोहमा विभूषित हुने उत्कृष्ट ३० विद्यार्थीको नामावली २२ चैत २०७८ मा सार्वजनिक गरेको थियो ।

उक्त सूचीमा कानुनतर्फको स्नातकोत्तर तहमा सर्वोत्कृष्ट दाबी गर्ने विद्यार्थी मनिता गुरुङको नाम छैन ।

चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ ल बिजुलीबजारबाट ८३.१२ एग्रिगेटसहित पास गरे पनि पूर्वाञ्चल विश्वविद्यालयको लापरबाहीले स्वर्ण पदक पाउने नामावलीमा आफ्नो नाम नपरेको उनले बताइन् ।

स्वर्ण पदक पाउने नामावलीमा सोही क्याम्पसबाट ७६.२५ एग्रिगेटसहित पास गरेका योगबहादुर पालको नाम उल्लेख छ ।

पूर्वाञ्चल विश्वविद्यालयले नामावलीसहित स्वर्ण पदकमा कसैको दाबी विरोध भए प्रमाणसहित २९ चैतसम्ममा दाबी विरोध गर्न सूचित गरेको थियो । सोही अनुसार मनिता गुरुङले दाबी विरोध गर्दै २८ चैतमा विश्वविद्यायको परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिएकी थिइन् । तर विश्वविद्यालयले अन्तिम नामावली भन्दै बिहीबार प्रकाशित गरेको सूचिमा पनि पुरानै नाम छ ।

विश्वविद्यालयमा बुझ्न खोज्दा समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भन्ने अव्यावहारिक जवाफ दिएको उनले बताइन् । मनिताले विश्वविद्यालयले तोकेको समयभित्रै शोधपत्र तथा मौखिक (भाइवा) परीक्षासमेत दिएको दाबी गरिन् ।
यस विषयमा परीक्षा नियन्त्रक मोहन बस्नेतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ ल बिजुलीबजारले पनि विश्वविद्यालयलाई पत्र लेख्दै मनिता गुरुङ उत्कृष्ट विद्यार्थी भएकोले सोही अनुसार स्वर्ण पदक दिलाउन सिफारिस गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको नवौं दिक्षान्त समारोहमा शैक्षिक वर्ष २०१५–२०१७ मा एलएलएममा उत्कृष्ट अंक ल्याउने विनिता पाण्डेलाई नदिई सोफिया अधिकारी (८१%) ल्याउनेलाई स्वर्ण पदक दिइएकोमा अदालतले ८ माघ २०७७ मा विश्वविद्यालयको कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो ।

त्यसैगरी सातौं दिक्षान्त समारोह एलएलएमको शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अंक ७७.३८% ल्याउने सुभाष आचार्यलाई नदिई ७६.५०% ल्याउने पूजा खत्रीलाई स्वर्ण पदक दिएर विश्वविद्यालयले विवाद ल्याएको थियो । जसमा सर्वोच्च अदालतको उत्प्रेषण समेतको आदेशले बदर गरी कानून सम्मत सुभाष आचार्यलाई स्वर्ण पदक दिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?