+
+

गठबन्धन फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १४:४१

२२ फागुन, काठमाडौं । सत्ता गठबन्धनमा भएको फेरबदलले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया प्रभावित भएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका थिए । समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सदस्य थिए ।

समितिले आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कन सकेर प्रस्तुतीकरण र अन्तर्वार्ता लिने तयारी गरिरहेका बेला मन्त्री राई नै बर्खास्तीमा परेका छन् ।

छनोट तथा सिफारिस समितिका सदस्य पौडेलका अनुसार विज्ञहरुले आवेदकहरुको सोचपत्र र कार्ययोजनाको मूल्याङ्कन गरिकेका छन् । मन्त्री बर्खास्तीमा परेका कारण प्रस्तुतीकरण तथा अन्तर्वार्ता रोकिएको हो ।

‘अब केही दिन रोकिन्छ । यसैलाई निरन्तरता दिने अथवा फेरि नयाँ प्रक्रिया सुरु गर्ने भन्ने कुरा अब शिक्षामन्त्री आएपछि टुंगो लाग्छ’, पौडेलले भने ।

समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि २३ माघमा आवेदन माग गरेको थियो र ९ फागुनमा १८ जना आवेदकको नामावली सार्वजनिक गरेको थियो । आवेदक कम रहेको भन्दै अल्पसूची सार्वजनिक नगरी तीन जनाको नाम सिफारिस गर्ने समितिको तयारी थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादव कोइरालाको कार्यकाल १८ फागुनमा सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?