+
+

असार मसान्तसम्म भुक्तानी सन्तुलन बचतमा जाने राष्ट्र बैंकको प्रक्षेपण 

चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म मुलुकको भुक्तानी सन्तुलन बचतमा जाने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । आयात निरुत्साहनका लागि चालिएका कदमहरु फलदायी देखिएको भन्दै केन्द्रीय बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:३८

४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म मुलुकको भुक्तानी सन्तुलन बचतमा जाने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । आयात निरुत्साहनका लागि चालिएका कदमहरु फलदायी देखिएको भन्दै केन्द्रीय बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अर्थमन्त्री जनार्दन शर्मा अध्यक्षताको चौथो बैठकमा केन्द्रीय बैंकले आइतबार यस्तो ब्रिफिङ गरेको हो । ‘विद्यमान भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्बको हो, आयात निरुत्साहनका लागि चालेका कदम र डलर सञ्चितिका लागि भएका प्रयासहरु फलदायी देखिएका छन्,’ केन्द्रीय बैंकका अधिकारीको भनाइ उदृत गर्दै मन्त्रालय स्रोतले भन्यो ।

भुक्तानी सन्तुलन बिग्रनुमा चालु आवको सुरुवाती महिनामा रहेको कम ब्याजदर पनि प्रमुख कारण भएको राष्ट्र बैकका अधिकारीहरुले बताएका थिए । कम्तीमा ६ प्रतिशतसम्म ब्याजमा नगद पाए पछि मौज्दातका लागि धेरै वस्तु आयात भएको अध्ययनमा पाइएको पनि केन्द्रीय बैंकले प्रष्ट्याएको थियो ।

अर्थ मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कामु गर्भनर निलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र विदेशी विनिमय विभाग प्रमुख डा. रामु पौडेलको टोलीले सहभागी थियो । यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, वाणिज्य सचिव, आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक लगायतको सहभागीता थियो ।

आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अनौपचारिक कार्यदलको यसअघि पहिलो बैठक १६ चैतमा बसेको थियो । यस्तै, २२ चैतमा दोस्रो र २ वैशाखमा तेस्रो बैठक अर्थ मन्त्रालयमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?