+
+

‘करिब ३३ अर्बको विदेशी लगानी स्वीकृत भइसकेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:०७
रामचन्द्र तिवारी/फाइल तस्वीर

५ वैशाख, काठमाडौं । उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन् ।

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रस्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका हुन् ।

उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रस्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ । गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ ।

उनले उद्योग विभागमा दर्ता प्रक्रियालाई नियाल्दा क्रमशः उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बढीरहेको बताए । बिस्तारै उद्योगहरु आफ्नो क्षमतामा सञ्चालन हुने र नियमित उत्पादनतर्फ अग्रसर भइरहेको दाबीसमेत उनले गरे । उनले स्वदेशी लगानीका उद्योगहरु चालु आर्थिक वर्षमा अहिलेसम्म २१६ वटा उद्योग विभागमा दर्ता भएको बताए ।

महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताए ।

तिवारीले भने, ‘कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ । उद्योगधन्दा, लगानी क्षेत्रलाई पनि यसले ठूलो नोक्सान पुर्‍याएको छ । बिस्तारै अब हामी यसबाट बाहिर निस्किँदै छौं । उद्योग विभागको हिसावले हेर्दा अहिले उद्योग दर्ता गर्ने, विदेशी लगानी स्वीकृत गर्ने क्रम बिस्तारै बढ्दो छ ।’

कोभिडको बेलामा उद्योगधन्दाहरु पूर्ण क्षमतामा चल्न नसकेका, धेरै उद्योगहरु बन्द भएका नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगले पनि अध्ययन गरेर त्यसको प्रतिवेदन पनि सार्वजनिक भइसकेको उनले बताए ।

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेसमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताए । उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाइ उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेको बताए ।

महानिर्देशक तिवारीले उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि बताए ।

उद्योग संरचनालाई बलियो बनाउन बनाइएको एकलबिन्दु सेवाकेन्द्रबाट अपेक्षाकृतरुपमा सेवा प्रवाह गर्न नसकेको उनको भनाइ थियो ।

उनले उद्योग प्रशासनसँग सम्बन्धित सबै कामहरु, सबै सेवा सुविधाहरु एकै थलोबाट उपलब्ध गराउने लक्ष्यका साथ शुरु गरिएको एकलबिन्दु सेवाकेन्द्रमा सरकारका निकायहरु सबैको प्रतिनिधित्व हुने गरी बनाए पनि सबै एजेन्सीका प्रतिनिधित्व हुन नसक्नु र प्रतिनिधित्व भएकालाई पूर्ण रुपमा अधिकार प्रदान गर्ने, छुट्टै कानून बनाउने वा पर्याप्त अधिकार दिने कुरामा अझै पनि कमी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?