+
+

देउवा भन्छन् : सबै कांग्रेसलाई दिन गठबन्धन बनेको होइन नि !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १२:५०

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा सकस भइरहँदा देउवाले भने गठबन्धनलाई जोगाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन सत्ताका लागि नभई व्यवस्थाका लागि भएको बताएका थिए । उनीपछि बोलेका देउवाले भने आफूलाई प्रधानमन्त्री बनाइदेऊ भनेर आफूले पौडेललाई नभनेको बताए ।

तत्कालीन प्रधानमन्त्रीलाई हटाउनुपर्‍यो भनेर सबैले भनेपछि आफू प्रधानमन्त्री भएको भन्दै देउवाले भने, ‘गठबन्धनले पोखरामा कांग्रेसकै मुख्यमन्त्री छ । धेरै ठाउँमा मन्त्रीमा भाग पाएका छौं । सुदूरपश्चिममा पनि सरकारमा छौं, कर्णालीमा मुख्यमन्त्री छ । अरु ठाउँमा हुने सम्भावना छ । के बिगारें मैले ? मैले त कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने हुन्छ ।’ आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको भन्दै उनले पौडेलले धन्यवाद दिनुपर्ने बताए ।

देउवाले अहिले गठबन्धन टुटाए दलहरु फेरि एमालेसँग मिल्न जाने तर्क गरेका छन् । ‘गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ बेसरी,’ उनले भनेका छन्, ‘गठबन्धन टुटेपछि त्यही हालत हुने हो, अस्ती जस्तो थियो । प्रचण्ड र ओली मिलेपछि के हालत भएको थियो हाम्रो ? भोलि पनि त्यही अवस्था नआओस् ।’

नयाँ संविधानअनुसार एउटा पार्टीको बहुमत आउने सम्भावना नभएकाले पनि गठबन्धन जोगाउनुपर्ने उनले बताए । ‘गठबन्धन भनेको गिभ एण्ड टेक हुन्छ । तपाईंलाई सबै कुरा दिन गठबन्धन बनेको होइन नि !,’ प्रधानमन्त्री देउवाले भने, ‘उसले केही पाउन गठबन्धन गरेको हो । ठीक छ, कांग्रेस ठूलै होस्, साना पार्टी हामी पनि हुन पाउँ भनेका छन् । त्यति पनि नपाएर हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?