+
+

राजतन्त्र फर्काउन असम्भव : सभापति देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १२:५२

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउन असम्भव रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भन्दै यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्ने बताए ।

उनले भने, ‘विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेका छन् । त्यसैलै बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प छैन ।’

सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए । ‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ । अब राजा आउने सम्भावना छैन ।’

कार्यक्रममा थापाका छोरा एवं राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफू बुवालाई नै हेरेर राजनीतिमा आएको बताए ।

नेपाली कांग्रेस प्रवेश गर्दाको अनुभव सुनाउँदै पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘म नेपाली कांग्रेस प्रवेश गर्दा मेरो बुवा हुनुहुन्नथ्यो । प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको हुँ ।’

उनले सुनाए, ‘बहुदलीय व्यवस्थामा मेरो बुबालाई बनेपा काण्डमा आक्रमण भयो । बुवाले यसले मलाई फाइदा गर्छ भन्नुभयो र पछि प्रधानमन्त्री बन्नुभयो ।’

थापाले पछिल्लो समय बुवासँग राजनीतिमा संविधानसभामा जोडिएको र उनकै हातबाट शपथ लिन पाउनु आफ्ना लागि खुसीको कुरा रहेको बताए । ‘त्यसपछि राजनीतिक रूपमा घनिष्ठ रूपमा कुराहरू हुन थाले र मेरो राजनीति यात्रा सुरु भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?