+
+

पोखराको ‘च्याप्टर क्लोज’, कास्कीका अन्य पालिकामा अझै अड्को !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते २०:२५

६ वैशाख, पोखरा । सत्ता गठबन्धनमा लामो समयदेखि चर्चामा रहेको पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।

मंगलबार बसेको काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पोखराको मेयर एकीकृत समाजवादी दिने सहमति गरे पनि कास्कीका अन्य पालिकाको भागबन्डा मिलेको छैन ।

महानगर विवादको ‘च्याप्टर क्लोज’ भए पनि अन्य पालिकामा भने विवाद कायमै छ । कास्कीमा महानगरसहित ५ पालिका छन् । जसमध्ये गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले सबै पालिका प्रमुख आफूले पाउने र उपप्रमुखमा सहमति हुने अडान राख्दै आएको छ ।

अघिल्लो निर्वाचनको नतिजा अनुसार एमालेपछि कास्कीमा गठबन्धन घटक दलमध्ये सबैभन्दा बलियो पार्टी नेपाली कांग्रेस हो । त्यसैले पनि कांग्रेसले कास्कीका सबै पालिकामा प्रमुख आफूले पाउनुपर्ने र उपप्रमुखमा मात्रै सहमति गर्न सकिने अडान राख्दै आएको थियो । ‘अघिल्लो चुनावमा दोस्रो ठूलो पार्टी हौं । थोरै मतान्तरमात्रै फरक छ । त्यसैले सबै पालिकामा हाम्रो दाबी हुनु स्वभाविक हो,’ नेपाली कांग्रेसका एक जिल्ला नेता भन्छन् ।

कास्कीका ५ पालिकामध्ये अघिल्लो स्थानीय चुनावमा नेकपा एमालेले ४ ठाउँ जितेको थियो । पोखरा महानगरसहित मादी, रुपा, माछापुच्छ्रे गाउँपालिकामा एमालेले र अन्नपूर्ण गाउँपालिकामात्रै नेपाली कांग्रेसले जितेको थियो ।

तर, अहिले अघिल्लो निर्वाचनजस्तो सहज स्थिति छैन । चुनावी मैदानमा एकातिर नेकपा एमाले एक्लै छ भने अर्कातिर कांग्रेस, माओवादी, जसपासहित ५ दलीय गठबन्धन छ । कास्कीमा नेकपा एमालेले अघिल्लो निर्वाचनको साख जोगाउन चुनौती छ भने समग्र एमालेको राम्रो प्रभाव मानिने भूमिमा गठबन्धनलाई साझा उम्मेदवार छनोट गरेर जित्नुपर्ने दबाब छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले ४ पालिका प्रमुख, ५ उपप्रमुखसहित ४५ वटा वडामा जित निकालेको थियो । नेपाली कांग्रेसले एउटा पालिका प्रमुखसहित २४ वडाध्यक्ष जितेको थियो । कास्कीमा तेस्रो ठूलो दल बनेको नेकपा माओवादीले भने ३ वटा वडाध्यक्षमा मात्रै जित निकालेको थियो ।

कास्कीका ५ वटै पालिका प्रमुखका लागि नेकपा एमालेले उम्मेदवार छनोट गरेर सिफारिस गरिसकेको छ । तर, गठबन्धनमा अंककै अड्को कारण कुन पालिकाले कसले पाउने भन्नेमै सहमतिमा पुग्न सकेको छैन । गठबन्धन घटक दलले विभिन्न पालिकामा आन्तरिक रुपमा उम्मेदवारी छनोट, सिफारिस गरिरहेका छन् ।

कास्कीमा कुन पालिकामा कस्तो छ अवस्था ?

अन्नपूर्ण गाउँपालिका

कास्कीका ५ पालिकामध्ये अघिल्लो निर्वाचनअनुसार नतिजाअनुसार अन्नपूर्ण गाउँपालिकामा कांग्रेसको राम्रो प्रभाव छ । ०७४ को निर्वाचनमा अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवरले निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु बहादुर केसीलाई २ सय ६४ मतान्तरले पराजित गरेका थिए । कुँवरले ४ हजार ६७२ मत ल्याउँदा केसीले ४ हजार ४०८ मत ल्याएका थिए ।

मतभारमा तेस्रो भएको नेकपा माओवादीले हजार मत पनि कटाउन सकेको थिएन । माओवादीका प्रत्याशी धर्मबहादुर गुरुङले ९ सय ८३ मत ल्याएका थिए । अन्नपूर्ण गाउँपालिकामा रहेका ११ वडामध्ये नेपाली कांग्रेसले ६ र नेकपा एमालेले ५ वडामा जित निकालेको थियो ।

निर्वाचन आयोग, पोखराका अनुसार अहिले अन्नपूर्णमा ४ हजार बढी नयाँ मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा १५ हजार ५६९ मतदाता रहेकोमा अहिले यो संख्या २० हजार ३४८ पुगेको छ । नयाँ थपिएका मतदाता नै मादीको निर्णायक मत हुनेछ । जसमा प्रमुख २ दल नेकपा एमाले र कांग्रेसले आआफ्नै तरिकाले दाबी गर्दै आइरहेका छन् ।

अन्नपूर्णमा कांग्रेसबाट आसन्न चुनावमा हालका अध्यक्ष कुँवरसहित ७ जनाले आकांक्षा देखाएका छन् । कुँवरसहित पोषनाथ शर्मा, मनपति भण्डारी, मुक्तिराम भण्डारी, राजबहादुर गुरुङ र गोपाल गुरुङ पालिका अध्यक्षमा आकांक्षा राखेका छन् । उपाध्यक्षमा खेमकुमारी गुरुङ र गौमया नेपालीले आकांक्षा राखेका छन् । उपाध्यक्ष आकांक्षी गुरुङ अघिल्लो निर्वाचनमा नेकपा एमालेकी सगुन गुरुङसँग पराजित भएकी थिइन् ।

नेकपा एमालेबाट अन्नपूर्ण गाउँपालिका प्रमुखमा ४ जनाको नाम सिफारिस गरेको छ । एमालेबाट अघिल्लो पटक हार व्यहोरेका विष्णु केसी, सुरेन्द्र गुरुङ, विवेक देवकोटा र हालकी उपाध्यक्ष सगुन गुरुङलाई सिफारिस गरेको नेकपा एमाले अन्नपूर्ण कमिटीले जनाएको छ । त्यस्तै, उपप्रमुखमा चन्द्रकला अधिकारी, कमला केसी, लक्ष्मी सुवेदी र लिला अधिकारीको नाम सिफारिस गरेको छ ।

यता, अन्नपूर्ण गाउँपालिका प्रमुखमा गठबन्धन घटक जनता समाजवादीले आफ्नो दाबी छोडेको छैन । मतभार कम रहे पनि गठबन्धनमा आफूहरुको पनि सम्मानजनक उपस्थिति हुनुपर्ने भन्दै अन्नपूर्णमा पालिका अध्यक्षका लागि नवराज पाैडेललाई उम्मेदवार नै खडा गरिसकेको छ ।

आफूहरुले अन्नपूर्ण नपाए गठबन्धन छोडेर एकल लड्ने चेतावनी जसपाले यसअघि नै चेतावनी दिइसकेको छ । ‘कांग्रेस र माओवादीको काँध थाप्नमात्रै गठबन्धन बनेको होइन, सबैको समान उपस्थिति हुनुपर्छ । नत्र एक्लै लड्न तयार छौं,’ जसपाका एक केन्द्रीय सदस्यले भने ।

मादी गाउँपालिका

माओवादीले अघिल्लो निर्वाचनमा कास्कीभरमा मादी गाउँपालिका ३ वटा वडा मात्रै जितेको थियो । बाँकी पालिकामा शून्य भएको माओवादीले सोही ३ वडाको आडमा यस पटकको चुनावमा मादी प्रमुखमा आफ्नो दाबी राखेको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेका वेदबहादुर गुरुङले मादी गाउँपालिका प्रमुखमा जित निकालेका थिए । उनले निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङलाई करिब १ हजार मतान्तरले पराजित गरेका थिए । वेदबहादुरले ४ हजार ६३७ मत ल्याउँदा कांग्रेसका देवीजंगले ३ हजार ६५३ मत ल्याएका थिए । मादी दाबी गरिरहेको नेकपा माओवादीकी राधा सापकोटाले ६ सय ७६ मत ल्याएकी थिइन् ।

मादी गाउँपालिका प्रमुखका लागि यस पटक नेपाली कांग्रेसबाट १२ जनाले आन्तरिक उम्मेदवारी दिएका छन् । मादी आफूहरुकै पोल्टामा पर्ने विश्वासहित उपप्रमुखमा भने कांग्रेसले आकांक्षी सार्वजनिक गरेको छैन । त्यस्तै, नेकपा एमालेबाट मादीमा ७ जना र उपाध्यक्षमा ४ जना सिफारिस भएका छन् । माओवादीले अझै आकांक्षी टुंग्याउन सकेको छैन । ‘३ जनामात्रै आकांक्षी हुनुहुन्छ । सम्भवतः आजै टुंग्याउने गरी छलफल चलिरहेको छ,’ नेकपा माओवादीका केन्द्रीय सदस्य दीपक कोइरालाले भने ।

मादीमा अघिल्लो पटक १३ हजार ५५९ मतदाता रहेकोमा यसपटक ५ हजार २२३ जना थपिएको निर्वाचन आयोग, पोखराले जनाएको छ । मादीका १२ वडामध्ये अघिल्लो निर्वाचनमा एमालेले ६ ठाउँमा जित निकाल्दा नेपाली कांग्रेस र माओवादीले समान ३/३ वडा जितेका थिए ।

माछापुच्छ्रे गाउँपालिका

माछापुच्छ्रे गाउँपालिका गठबन्धनभित्र कांग्रेससहित नेकपा एकीकृत समाजवादीले पनि दाबी गरिरहेको पालिका हो । तर, पोखरा महानगर पाइसकेपछि माछापुच्छ्रे छोड्ने पूर्व घोषणा थियो । माछापुच्छ्रे गाउँपालिकामा अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले जितेको थियो । माछापुच्छ्रेका ९ वटा वडामध्ये ८ वडामा नेकपा एमालेले एकछत्र जित निकाल्दा एउटा वडामा भने कांग्रेस विजयी भएको थियो ।

अघिल्लो निर्वाचनमा एमालेका कर्णबहादुर थापाले ५ हजार ६०७ मतसहित पालिका प्रमुख जितेका थिए । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खुसीमान गुरुङले ४ हजार १ मत ल्याउँदा माओवादीकी प्रविणा अधिकारीले १ हजार २७ मत ल्याएकी थिइन् । माछापुच्छ्रेमा अघिल्लो निर्वाचनमा १६ हजार ३०१ मतदाता रहेकोमा हाल ४ हजार १५ जना नयाँ मतदाता थपिएका छन् ।

माछापुच्छ्रे प्रमुखका लागि नेकपा एमालेले प्रमुखमा १० र उपप्रमुखमा ७ जनाले आकांक्षा राखेपछि आन्तरिक मतदानबाट उम्मेदवार सिफारिस गरेको छ । उक्त मतदानमा अध्यक्ष आकांक्षी हालकी उपाध्यक्ष कृष्णकुमारी दवाडी पराजित भएकी थिइन् ।

नेकपा माओवादीले भने दुवै पदमा एकएकजना सर्वसम्मत चयन गरेको छ । जसमध्ये अध्यक्षमा नवराज भण्डारी र उपाध्यक्षमा अघिल्लो पटक अध्यक्षमा हार व्यहोरेकी प्रवीणा अधिकारी छन् । नेपाली कांग्रेसबाट ९ जना र उपाध्यक्षमा ६ जना आकांक्षी देखिएका छन् ।

रुपा गाउँपालिका

रुपा गाउँपालिका प्रमुखमा नेकपा एमालेले हालका जनप्रतिनिधिलाई नै दोहोर्‍याउने भएको छ । हाल रुपा गाउँपालिका प्रमुखमा नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गुरुङ छन् । ७ वडामध्ये एमालेले ४ र कांग्रेसले ३ वडामा जित निकालेको थियो । अन्य दलले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

अघिल्लो चुनावमा नेकपा ओझाले कांग्रेसका प्रकाशमोहन खनाललाई पराजित गरेका थिए । ओझाले ४ हजार २१२ मत ल्याउँदा खनालले ३ हजार ३०५ मत ल्याएका थिए । नेकपा माओवादीका निर्मला सुवेदीले ३ सय ७० मत ल्याएक थिइन् । रुपामा हाल १४ हजार ६७५ मतदाता छन् । जसमध्ये ३ हजार ३६० मतदाता नयाँ थपिएका हुन् ।

रुपामा गठबन्धनका सबै दलको दाबी भए पनि नेकपा एसबाहेक अन्य दलले आकांक्षी सार्वजनिक गरेका छैनन् । एसले रुपा अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । अघिल्लो पटक हार व्यहोरेका नेपाली कांग्रेसका पालिका प्रमुख आकांक्षी प्रकाशमोहन खनालले भने गठबन्धनकै अड्कोका कारण उम्मेदवार छान्न नसकेको बताए । ‘अहिलेसम्म गठबन्धन भनेर अल्मलियो । अब कांग्रेसले आफैं उम्मेदवार छनोट गर्छ । तयारी हुँदैछ,’ उनले भने ।

नेकपा माओवादी रुपा गाउँ कमिटी अध्यक्ष नवराज बरालले भने बुधबारसम्म उम्मेदवार छनोट गरिसक्ने जानकारी दिए । ‘अहिले पार्टीको बैठक चलिराछ । भोलि बिहानसम्म टुंगो लाग्छ कि !’ उनले भने, ‘जो भए पनि सहमतिमा जाने कुरो छ ।’

रुपा गाउँपालिकामा भने ५ दल एकै ठाउँमा उभिँदा पनि एमालेकै पल्लाभारी हुने स्रोतको दाबी छ । ‘हालका जनप्रतिनिधिलाई जित्ने गरी अरु दलमा बलिया उम्मेदवार छैनन् । एमालेले पनि अहिलेको बहालावालाई नै नउठाएको खण्डमा हार्ने भएरै दोहोर्‍याउन लागेको हो,’ स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?