+
+

दार्चुलाका ५ पालिका कांग्रेसले र ४ पालिका माओवादीले लिने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १४:०५

७ वैशाख, दार्चुला । दार्चुलाका सवै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ ।

सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुवै नगरपालिका महाकाली र शैल्यशिखरको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिनेछ । यस्तै कांग्रेसले तीन गाउँपालिकाहरु मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको छ ।

माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ । ‘चार पालिकामा हामीले प्रमुख पाउने, पाँच पालिकामा कांग्रेसले प्रमुख पाउने गरि सहमति भएको छ’ संयोजक धामीले भने ‘हामीले दुई गाउँपालिकाका उपाध्यक्ष पाउने र कांग्रेसले दुई नगरपालिकाका उपप्रमुखसहित सात गाउँपालिकाका उपाध्यक्ष लिने गरि सहमति भयो ।’

धामीका अनुसार माओवादीले व्यास र मालिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेद्‍वारी दिनेछ ।

गठवन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले पालिकामा दावी नगरेको धामीले जानकारी दिए । ‘उहाँहरुको संगठन पनि कमजोरै छ, त्यसैले पनि दावी नगर्नु भएको होला’, धामीले भने, ‘केही वडामा उहाँहरुलाई जिम्मा दिने गरि कांग्रेस र माओवादीबीच छलफल भएको छ ।’

धामीले एकिकृत समाजवादी गठवन्धनको बैठकमा अनुपस्थित रहेको समेत जानकारी दिए । भने, ‘उहाँहरुले तपाईँहरुको सल्लाह हामीलाई मन्जुर छ भन्नु भएको हो ।’ वडास्तरमा मोटामोटी सहमति भए पनि अन्तिम निर्णय भइनसकेको धामीले वताए ।

आफूहरुको पालिकास्तरमा दावी नरहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरवहादुर ठगुन्नाले जानकारी दिए । उनले भने, ‘सुरुमा हामीले अपि हिमाल गाउँपालिकाको अध्यक्षमा दावी गरेका थियौं, पछि छलफल गर्दै जाँदा सहमति जुटाउनकै लागि हामी ब्याक भयौं ।’ उनले वडास्तरको लागि छलफल भइरहेको जानकारी दिए । एक–दुई दिनभित्रै वडाको पनि टुङ्गो लाग्ने ठगुन्ना वताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?