+
+

जनकपुरधाम कांग्रेसको चेतावनी : निर्णय परिवर्तन नगरे कठोर कदम चाल्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:१८

८ वैशाख, जनकपुरधाम । सत्तारुढ गठबन्धनले जनता समाजवादी पार्टी (जसपा) लाई मेयरको उम्मेदवार दिने निर्णय गरेपछि जनकपुरधाम नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ ।

गठबन्धनको यो निर्णय आए लगत्तै जनकपुरधामका कांग्रेसीले पार्टीको निर्णय नमान्ने बताइसकेका छन् । यो निर्णयविरुद्ध कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी पनि गरेका छन् ।

कांग्रेसका नगर सभापति मनोज साह कुनै पनि हालतमा जसपालाई जनकपुरधामको मेयर दिन तयार नभएको बताउँछन् । ‘यो निर्णय सच्याउन हामीले नेतृत्वलाई २४ घण्टाको समय दिएका छौं’ उनी भन्छन्, ‘आज रातभरिमा निर्णय सच्याउँछ भन्ने विश्वास छ । र, हामी त्यो निर्णयको प्रतिक्षामा छौं ।’

गठबन्धनले मेयरको उम्मेदवार दिएपछि जसपाले वर्तमान मेयर लालकिशोर साहलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

‘कांग्रेसले जसपालाई मेयर दिएपछि हामी कांग्रेसी लालकिशोरका लागि कुन मुखले भोट माग्छौं ?’, लालकिशोरको कार्यशैलीको विरोध गर्दै आएका साह भन्छन्, ‘५ वर्षसम्म हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेका छौं । के भ्रष्टाचारीको पृष्ठपोषण कांग्रेस बन्छ ?’

कांग्रेसले कुन वुद्धिबाट जसपालाई टिकट दिएको हो भन्ने कुरा आफूले बुझ्न नसकेको उनको भनाइ छ । ‘लालकिशोरसँग व्यक्तिगत रिसइबि छैन’ साह भन्छन्, ‘उनीसँग न कुनै राम्रो योजना छ । न कुनै जनकपुरलाई कुनै पहिचान दिन सकेको छ । नत धार्मिक पर्यटकको बारेमा कुनै ज्ञान छ त्यस्तो मान्छेलाई किन मान्ने ?’

नगर सभापति साह आफूहरुको मागप्रति पार्टी नेतृत्व गम्भीर नभए आफूहरु कठोर कदम चाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?