+
+

वीरगञ्ज महानगर : कांग्रेसमा आफ्नै उम्मेदवार उठाउन दबाव

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख ९ गते १४:४४

९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गरेर उपमेयरमा मात्र उम्मेदवारी दिने केन्द्रको निर्णयप्रति नेपाली कांग्रेस, पर्साका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय नेताहरुकै उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले वीरगञ्जको मेयर नछाड्ने निर्णय गरेको थिए । गठबन्धनमा सहमति जुट्न नसकेपछि जिल्लाभर नै तालमेल नगर्ने निर्णय समेत गरेको थियो ।

तर गठबन्धनको शीर्ष तहमा भएको भागबण्डामा वीरगञ्जको मेयर जसपाले पायो भने कांग्रेसले उपमेयर लिने भयो ।

यसमा असन्तुष्ट पर्साका नेताहरुले यसलाई मान्ने कि स्वतन्त्र उम्मेदवार उठाउने भनेर छलफल थालेका छन् । गठबन्धन बाहिर उम्मेदवार उठाउने विषयमा छलफल भइरहेको कांग्रेस महानगर समितिका उपसभापति सन्तोष गुप्ता बताउँछन् । उनका अनुसार जिल्लाका शीर्ष नेताहरु बसेको बैठकमा पनि गठबन्धन नमान्ने मत राखेका थिए । मेयर जसपालाई दिनु अन्यायपूर्ण भएको भन्दै उनीहरुले पार्टीले निर्णयमा पुनर्विचार गर्न माग गरेका छन् ।

कांग्रेसका पूर्व जिल्ला सभापति अजय द्विवेदी पनि तल्लो तहबाट पार्टीको उम्मेदवार उठाउन दबाव आइरहेको बताउँछन् । भन्छन्, ‘आम कार्यकर्ताको दबाव छ । के गर्ने भनेर छलफल भइरहेको छ, तर निर्णयमा पुगिसकेका छैनौं ।’ असन्तुष्टि बढेपछि केन्द्रीय सदस्य रमेश रिजालले शुक्रबार जिल्लाका नेताहरुसँग छलफल गरेका छन् । केन्द्रियकार्य सम्पादन समितिको सदस्य समेत रहेका नेता रिजालले जिल्लाका नेता कार्यकर्ताको भावना बैठकमा राख्ने आश्वासन दिएका छन् ।

एवं काँग्रेस नेता गठबन्धनमा जाने विषयमा जिल्लाका धेरै नेता कार्यकर्ताहरुलाई चित्त नबुझेको बताउँछन् ।

‘ गठबन्धनमा जाने कुरा धेरै नेता कार्यकर्तालाई चित्त बुझेको छैन, केन्द्रीय सदस्य रमेश रिजालले बैठक राखेर नेताहरु सबैको कुरा सुन्नुभएको छ । उहाँले कार्यसम्पादन समितिको बैठकमा नेता कार्यकर्ताहरुको भावना राख्ने तय भएको छ,’ मधेस प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा भन्छन्, ‘विधिबाट चलेको पार्टी भएकाले कार्यसम्पादन समितिले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ ।’

केन्द्रीय सदस्य रिजालले पनि पार्टीको निर्णय बाहिर जाने कुरा मान्य हुनै नसक्ने बताएका छन् । वीरगञ्ज महानगरमा गठबन्धनमा नगई उम्मेदवार उठाउनुपर्ने माग रहेछ नि भन्ने प्रश्नमा रिजालले भने, ‘गठबन्धन बाहिर जाने कुरा हुँदैन, पार्टीको निर्णय फलो गर्छु, अरुले पनि गर्नुपर्छ ।’

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?