+
+

कास्कीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन, एमालेको उम्मेदवारमै अलमल !

ठूला दलले भोलिमात्रै उम्मेदवार दर्ता गर्ने

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख ११ गते १७:४३

११ वैशाख, पोखरा । उम्मेदवार घोषणा गर्ने समय नजिकै आइसक्दासमेत कास्कीमा सत्तारुढ गठबन्धनले भागवण्डामा सहमति जुटाउन सकेको छैन ।

पोखरा महानगरपालिका नेकपा एकीकृत समाजवादीलाई दिने केन्द्रीय गठबन्धन नेतृत्वले तय गरे पनि बाँकी पालिकाबारे अझै अन्यौल छ । पटकपटक बैठक बसेर पनि गठबन्धन दल सहमतिमा पुग्न सकेका छैनन् ।

कास्कीमा पोखरा महानगरसहित ५ पालिका छन् । सत्तारुढ गठबन्धनमा प्रारम्भिक चरणमा अरु ४ वटै पालिकाको प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले लिने समझदारी भएको थियो । तर, त्यसमा पनि सहमति हुन बाँकी रहेकाले सार्वजनिक भने गरिएको छैन । ‘छलफल निरन्तर छ । भोलि अन्तिम दिन भएकाले साँझसम्म एउटा निष्कर्षमा पुग्छौं कि भन्ने छ,’ गठबन्धन बैठकमा सहभागी नेपाली कांग्रेसका एक नेताले भने ।

कास्कीका ५ पालिकामध्ये सबैमा कांग्रेसले दाबी गरेको थियो । अघिल्लो स्थानीय तहमा थोरै मतान्तरले पराजित भएकाले सबै पालिका प्रमुख आफूले लिएर उपप्रमुख पदमात्रै गठबन्धन दललाई दिन सकिने उसले अडान कायम राखेको छ । त्यस्तै, गठबन्धन घटक नेकपा माओवादीले मादी गाउँपालिका र जनता समाजवादीले अन्नपूर्ण गाउँपालिकामा आफ्नो दाबी छोडेको छैन ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी त्रिपक्षीय बैठक बसेर सहमतिको प्रयास गरिरहेको आरोप लगाउँदै जसपा बैठकमा जानै छोडिसकेको छ । गठबन्धनमा आफूहरुको सम्मानजनक उपस्थिति नभएको भन्दै जसपा अब एक्लै चुनावमा जाने पक्कापक्की भइसकेको जसपाका केन्द्रीय सदस्य तथा गण्डकी उपाध्यक्ष किरण थापा बताउँछन् ।

‘बैठक बसिराखेका छन् रे भन्ने सुनेका छौं । तर, हामी बैठकमा जानै छोडिसक्यौं,’ थापाले भने, ‘कास्कीमा अब एक्लै चुनावमा जाने भन्ने लगभग पक्कापक्की भइसकेको छ ।’ कास्कीको परिस्थितिबारे केन्द्रीय नेतृत्वलाई जानकारी गराइसकेको र मिल्ने सम्भावना पनि कम रहेको उनले सुनाए ।

गठबन्धनबाट साझा उम्मेदवारका रुपमा पोखरा महानगर प्रमुखका लागि नेकपा एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य सिफारिस भइसकेका छन् । तर, बाँकी पालिकाबारे टुंगो नलागेकै कारण आइतबार उम्मेदवारी दर्ता गरेका छैनन् ।

नेकपा एमालेले पनि रुपा गाउँपालिका बाहेक कास्कीका अन्य पालिकामा उम्मेदवार टुंगो लगाइसकेको छैन । रुपा गाउँपालिकामा हालका जनप्रतिनिधि नवराज ओझा र लालसुब्बा गुरुङलाई नै दोहो¥याउने निर्णय गरिसकेको छ ।

एमालेमा पनि विवाद !

नेकपा एमालेले पनि सोमबारमात्रै उम्मेदवारी दर्ता गर्ने भएको छ । शनिबार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले पोखरा महानगर प्रमुखका लागि दीपक पौडेल र उपप्रमुखमा मञ्जुदेवी गुरुङलाई दोहो¥याउने निर्णय गरेको थियो ।

तर, उपप्रमुख गुरुङले भने पार्टीको निर्णयलाई अस्वीकार गरेकी छन् । उनले आफूले प्रमुख र उपप्रमुख दुवैमा सुरुमै आकांक्षा नराखेको र हाल पार्टीले निर्णय गर्दासमेत आफूलाई नसोधिकनै निर्णय गरेको भन्दै निर्णय अस्वीकार गरेकी हुन् । प्रमुखमा पार्टीबाट मनोनित भएका पौडेल प्रदेश सचिवालय सदस्य हुन् भने गुरुङ केन्द्रीय सदस्य हुन् ।

प्रमुखका लागि मनोनित भएका पौडेल पूर्व शिक्षक हुन् । लामो समय शिक्षण पेशामा बिताएका ‘लोप्रोफाइल’ का पौडेललाई पार्टीले मेयर पदमा मनोनित गरेपछि कास्कीका एमालेवृत्त नै अचम्ममा परेका थिए । मेयर पदका लागि पौडेल, २ जना प्रदेश सांसदसहित १२ जनाले आन्तरिक उम्मेदवारी दिएका थिए ।

लगातार ३ दिनसम्म छलफल गर्दा पनि टुंगोमा पुग्न नसकेपछि अघिल्लो शुक्रबार आन्तरिक निर्वाचनबाट आकांक्षा छनोट गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर, निर्वाचनमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच प्यानलै बनाएर मतदान प्रक्रियामा सहभागी हुने भएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । र, आन्तरिक उम्मेदवारी दिएका सबैको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको थियो ।

त्यसको केही दिनपछि काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले गण्डकीका सांसदलाई जनप्रनिधि उठ्न नदिने निर्णय गरेको थियो । यसबाट खगराज अधिकारी पक्षले असन्तुष्टि पोख्दै पोखराका पूर्वमेयर समेत रहेका प्रदेश सांसद कृष्ण थापालाई रोक्न पृथ्वीसुब्बा पक्षले ‘षड्यन्त्र’ गरेको आरोप लगाएका थिए ।

एमाले स्रोतका अनुसार गुटअनुसार व्यक्ति छनोट गर्दा चुनावमा असर पर्ने भएकाले साझा उम्मेदवारको खोजी भएको थियो । त्यसक्रममा आकांक्षी दौडमा नरहेकी हालकी उपप्रमुख मञ्जुदेवी गुरुङको नाम अगाडि सारिएको पनि थियो । तर, गुरुङले रुची देखाइनन् ।

आफू जनप्रतिनिधिका रुपमा नदोहोरिनेबारे जानकारी गुरुङले पार्टीलाई दिइसकेको पोखरा महानगर कमिटी सचिव दिलिप पौडेलले जानकारी दिए । ‘उहाँले यहाँ र केन्द्र दुवैमा आफू दोहोरिन अनिच्छुक रहेको जानकारी गरइसक्नु भएको छ । उहाँले इच्छा नदेखाएपछि अर्को व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने, ‘अब नयाँ नाम केन्द्रीय नेतृत्वले छनोट गर्ला !’

मेयर पदका लागि मनोनित भएका दीपक पौडेललाई भने पोखराका एमाले कार्यकर्ताले नै स्वीकारेका छैनन् । उनको नै केही समय अगाडि पृथ्वीचोकको सुन पसलबाट सिक्री चोरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा पोस्ट भएपछि भाइरल छ ।

एमाले स्रोतका अनुसार अब सोमबार उम्मेदवार दर्ता गर्ने बेलासम्म दुवै पदमा नयाँ अनुहार आउन सक्ने सम्भावना छ । ‘निरन्तर छलफलमा छौं । भोलि (सोमबार) अन्तिम समय भएकाले सकभर दुवै पदमा नयाँ अनुहार आउन सक्ने सम्भावना छ,’ एमाले कास्कीका एक जिल्ला नेताले भने ।

कांग्रेसबाट बागी उम्मेदवारी, जिल्ला पदाधिकारी कार्यालयमै थुनिए

गठबन्धन घटकमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो अझै टुंगोमा पुग्न सकेको छैन । पोखरासहितका सबै पालिकामा गठबन्धन आवश्यक नरहेको र एक्लै चुनाव लड्न सक्ने हैसियत रहेको भन्दै कांग्रेस कार्यकर्ताले दैनिकजसो पार्टी कार्यालयमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

अघिल्लो आइतबार पोखरा न्युरोडको एक होटलमा गठबन्धन बैठक बसिरहेकैबेला नेपाली कांग्रेस कास्कीका सचिवद्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले ‘एकीकृत समाजवादीसँग सहकार्य सकिएको, हैसियतभन्दा ठूलो भाग खोजेको’ भन्दै विज्ञप्ति जारी गरेका थिए ।

उक्त विज्ञप्ति बाहिरिएपछि गठबन्धन बैठकमा तनावपूर्ण स्थिति बनेको थियो । पछि कास्की कांग्रेस सभापति किशोरदत्त बरालले ‘विज्ञप्ति आधिकारिक नभएको’ भन्दै स्पष्टीकरण दिनुपरेको थियो । सोही दिन साँझ नेपाली कांग्रेस पोखरा नगर कमिटीले पनि सोही प्रकृतिको प्रेस विज्ञप्ति जारी गरेको थियो ।

बुधबार पोखरा प्रमुख आफूहरुले पाउनुपर्ने र नभए एक्लै चुनावी मैदानमा होमिन तयार रहेको भन्दै नेपाली कांग्रेस पोखरा नगर कमिटीले पार्टी कार्यालयमा नाराबाजीमात्रै गरेनन्, तालाबन्दी नै गरे । उक्त तालाबन्दी बिहीबारमात्रै खुलेको थियो ।

गठबन्धनको निर्णयबाट रुष्ट बनेका पोखरा नगर कमिटी र ३३ वटै वडाका सभापति सामूहिक बैठक बसेर केन्द्रको निर्देशनविपरीत महानगर प्रमुखको नाम सिफारिस सिफारिस गरेको थियो । तर, पछि उक्त सिफारिसलाई प्रदेशले थाती राख्दै उपप्रमुखको नाममात्रै केन्द्रमा सिफारिस गरेको थियो । पोखरा महानगर प्रमुखका लागि बहालवाला प्रदेशमन्त्रीसहित १८ जना र उपप्रमुखमा १० जनाले आन्तरिक उम्मेदवारी दिएका थिए ।

लगातार बैठकको नाममा कार्यकर्ता झुक्याउने काम भइरहेको र उचित निर्णय दिन नसकेको भन्दै पोखराका विभिन्न वडा सभापतिसहित कांग्रेस कार्यकर्ताले आइतबार जिल्ला सभापति किशोरदत्त बरालसहितका सबै पदाधिकारीलाई पार्टी कार्यालयमै थुनिदिएका छन् ।

लेकसाइडस्थित एक होटलमा गठबन्धन बैठक बसिरहेकै बेला लिएर पार्टी कार्यालयमा थुनिदिएको पोखरा १८ का टीका चापागाईंले बताए । ‘गठबन्धनको नाममा पार्टीलाई अहित हुने सम्झौता गरिँदैछ । गठबन्धन गर्ने निर्णय नसच्याएसम्म चाबी खोल्दैनौं,’ चापागाईंले भने ।

गठबन्धनबाट रुष्ट कांग्रेसका एक जनाले आइतबार बागी उम्मेदवारी दर्ता नै गरिसकेका छन् । बागी उम्मेदवारी दिनेमा पोखरा महानगरपालिका १४ का विमल कार्की छन् ।

तरुण दल कास्कीका संस्थापक उनी गएको महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चुनिएका थिए । उनी र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पनि पोखरा प्रमुखमा उम्मेदवारी दिएका छन् ।

सभापति बराल भन्छन् : बागी उम्मेदवारलाई कारबाही हुन्छ

कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले गठबन्धनमा सहमति नजिक पुगेको बताएका छन् । उनले सोमबार ११ बजे उम्मेदवार दर्ता गर्ने गरी तयारी भइरहेको जानकारी दिए । ‘गठबन्धनको बैठक बसिराखेकै छौं । सहमतिको धेरै नजिक पुगिसक्यौं । अब भोलिसम्म उम्मेदवार टुंगो लगाएर ११ बजे भेट हुने भन्नेछ,’ उनले भने ।

बागी उम्मेदवार दिएका कार्कीको क्रियाशील सदस्य भएको र पार्टीको नीतिविपरीत उम्मेदवारी दिएकाले फिर्ता नगरे कारवाही गरिने बरालले सुनाए । ‘उहाँले कसरी दर्ता गर्नुभो हामीलाई थाहा छैन । तर, पार्टीको क्रियाशील सदस्य हो । पार्टीको निर्णयविपरीत गरेको प्रमाणित भयो भने उहाँलाई अनुशासनको कारवाही हुन्छ,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?