+
+

‘फिल्म क्षेत्रमा आउनुअघि प्लान बी पनि बनाउनुस्’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १५:५७

काठमाडौं । अभिनेत्री दीया पुन अभिनित फिल्म ‘मन्त्र’ आगामी शुक्रबार देशव्यापी प्रदर्शनको तयारीमा छ । फिल्मसँगै दीया सर्वोच्च शिखर सगरमाथा आरोहणमा पनि जुटेकी छन् ।

‘वीर विक्रम २’बाट अभिनय करिअर सुरु गरेकी दीया फिल्ममा अभिनय गर्नकै लागि लण्डनबाट नेपाल आइपुगेकी हुन् । रिलिजको संघारमा रहेको फिल्म ‘मन्त्र’को आयाममा केन्द्रित रहेर अभिनेत्री दीया पुनसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको संक्षिप्त कुराकानी :

अघिल्ला फिल्ममा भन्दा ‘मन्त्र’मा तपाईंले गरेको चरित्रमा कस्तो भिन्नता छ ?

‘वीर विक्रम’मा मेरो पात्र सरल र आकर्षक थियो । ‘मन्त्र’मा चाहिं त्यसभन्दा विपरीत छ । बोल्ड, एग्रेसिभ टाइपको छ । गाउँको एउटै भूमिका भएपनि फरक पर्सनालिटी छ । कथा सुन्दाखेरि नै रोचक लाग्यो । अहिलेसम्म मैले त्यस्तो खालको क्यारेक्टर गरेको थिइनँ । यो पात्र गर्नु चुनौतीपूर्ण नै छ । मेरो पर्सनालिटीभन्दा पूर्ण रुपमा भिन्न छ । त्यही भएर पात्रले मलाई आकर्षित गर्‍यो । पात्रले कन्भिन्स गरेपछि फिल्म खेलेकी हुँ ।

दर्शकलाई हलसम्म तान्न सक्ने ‘मन्त्र’मा त्यस्तो के विशेषता छ ?

मन्त्रको मुख्य विशेषता नै कथा हो । दर्शकले ट्रेलरमा समागाउँको परम्परा र संस्कृति पनि देख्नुभएको छ । त्यही संस्कृतिमा कथा पनि आधारित छ । सांस्कृतिक तत्वले दर्शकलाई तान्छ । बितेको वर्ष हामी कठिन समयमा थियौं । फिल्मले चाहिं ती दर्शकको मनलाई ताजा बनाउन मद्दत गर्छ । सकारात्मकता दिलाउने कुरा भएकाले पनि दर्शकले यसलाई रुचाउनुहुन्छ जस्तो लाग्छ । हिमालको कथा भएपनि जहाँसुकैको दर्शकले त्यसलाई ‘रिलेट’ गर्न सक्नुहुन्छ ।

सौगात मल्लसँग काम गर्दा उहाँको कुन पक्षले तपाईंलाई आकर्षित गर्‍यो ?

सुरुमा मलाई अलिकति डर लाग्या थियो । किनभने उहाँ हेर्दाखेरि, सुन्दाखेरि बोल्नुहुन्न भन्ने सोचेको थिएँ । उहाँ स्टार हुनुहुन्छ र मै हुँ टाइपको हुनुहुन्छ भन्ने ठानेर काम गर्न डर लागेको थियो । जब हामी वर्कसपमा भेट्यौं, उहाँ खुल्नुभयो । जस्तो देखिनुहुन्छ, त्यस्तो हुनुहुन्न भने मैले बुझें ।

समागाउँमा एकसाता हामी टिम नै बस्यौं । उहाँको काम र अभिनय गर्ने शैली मैले सिक्न पनि पाएँ । दयाहाङ दाइसँग काम गर्दा टेक्निक फरक थियो, सौगात दाइसँग काम गर्दा पनि फरक छ । कसरी पात्रलाई निकाल्ने र वातावरणले कसरी प्रभावित तुल्याउँछ भन्ने कुरा सिक्न पाएँ । उहाँ हेल्पफुल हुनुहुन्छ जस्तो लाग्यो ।

कस्ता पात्रले तपाईंलाई आकर्षित गर्छन् ?

म अर्को फिल्ममा पहिलेभन्दा भिन्नता खोज्छु । मलाई यस्तै चाहिन्छ भनेर त हेर्दिनँ । आफूलाई कतिसम्म अघि बढाउन सक्छु, त्यसरी नै पात्रलाई हेर्ने गर्छु । महिला भएपछि महिला दर्शकलाई कसरी उत्प्रेरणा जगाउने भन्ने इच्छा त छ । अहिले नारीप्रधान फिल्महरु त्यति बनेको छैन, बनाउने पनि कम नै छन् । कि आफूले बनाउनुपर्‍यो कि खोज्नुपर्‍यो । त्यही भएर मैले अहिलेसम्म मौका नपाएको हो ।

फिल्म निर्माण गर्ने योजना छ ?

अहिले त छैन, तर भविष्यमा चाहिं हुनसक्छ । म अहिले हिमाल क्षेत्रमा लागेका कारण माउन्टेनियरिङ सम्बन्धी फिल्म गर्न मन छ । केही आइडिया खेलिरहेको छ । पहिलेको नेपाली फिल्मभन्दा अहिले पक्कै पनि भिन्न छ । पहिलेको फिल्ममा नृत्यदेखि प्रस्तुतीकरणमा धेरै ध्यान दिइएको हुन्थ्यो, तर अहिले त्यस्तो देखिन्न । यी कमजोरीलाई सुधारेर फिल्म बनाउन मन छ । किनभने दर्शकलाई बुझ्न फिल्म निर्मातालाई कठिन हुन्छ ।

नयाँ कलाकारका लागि नेपाली फिल्म क्षेत्र सहयोगी पाउनुभयो ?

म त झुक्किएर फिल्म उद्योगमा आएकी हुँ । एउटा अवसर पनि पाएकी थिएँ । मलाई अहिले पनि फिल्म उद्योगमा आउटसाइडर जस्तो लाग्छ । नेटवर्किङ नभएको कारण हो कि मलाई थाहा छैन, ‘मास’भित्र म नघुसेको हो कि । फिल्म वास्तविकभन्दा फ्यान्टासी संसार हो, जहाँ हराउन पनि डर लाग्छ मलाई । त्यही भएर एउटा खुट्टा वास्तविक संसारमा छ र अर्को खुट्टा फ्यान्टासी संसारमा ।

मेरो अनुभवको आधारमा फिल्म क्षेत्रमा लाग्ने सपना छ भने मेहनत गर्नुस् र प्लान बी पनि राख्नुस् । कहिलेकाहीं भाग्यले साथ दिंदैन र काम भनेजस्तो हुन्न । प्लान बी निश्चित रुपमा हुनुपर्छ । रियालिटीमा पनि पस्नुपर्छ, सबैजना स्टार हुन सक्दैन । नाम र पैसा कमाउँछु सोच्नु हुँदैन । कलालाई रुचाउनुहुन्छ भने कलालाई पछ्याउनुस् । धैर्य पनि गर्नुस् । ओभरनाइट स्टार भइँदैन, समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?