+
+
समाचार टिप्पणी :

आफ्नो गल्ती लुकाउन खेलाडीलाई अल्मुताइरीको माफी !

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ वैशाख १८ गते १९:३४

१८ वैशाख, काठमाडौं । गत बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय फुटबल टिमका १० खेलाडीले प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि गम्भीर आरोप लगाए ।

प्रशिक्षकले मानसिक दबाव दिएको भन्दै खेलाडीले सार्वजनिक असन्तुष्टि पोख्नु सामान्य विषय थिएन ।

प्रशिक्षकका रुपमा उनलाई अस्वीकार गर्नुपर्ने कारण खेलाडीहरुसँग पनि छैन । तर, व्यक्तिगत रुपमा अल्मुताइरीको व्यवहार सहनै नसक्ने खालको रहेको र अति भएपछि प्रशिक्षण छाडेको खेलाडीको भनाइ छ ।

बन्द प्रशिक्षणको सेवा सुविधामा प्रश्न गर्दा खेलाडीलाई टिमबाटै निकाल्ने प्रशिक्षकको कार्यशैलीमा अखिल नेपाल फुटबल संघ (एन्फा) नै सन्तुष्ट छैन ।

नेपाललाई साफ च्याम्पियनसिपको फाइनलसम्म तथा एसियन कप छनोटको तेस्रो चरणसम्म पुर्‍याएका अल्मुताइरी नेपालका सफल प्रशिक्षकमध्येमा पर्छन् ।

व्यक्तिगत आचरण र व्यवहारका कारण सुरुवातदेखि नै विवादमा पर्दै आएका उनले अहिले टिममा एकता बनाउन सकेनन् । मैदानमा सफल देखिए पनि ‘ड्रेसिङ रुम’ सम्हाल्न अल्मुताइरी असफल भए ।

नेपाली फुटबल समर्थकको मन जित्न सुरुदेखि नै सामाजिक सञ्जाललाई हतियार बनाउँदै आएका उनले फेरि एक पटक समर्थकको नजरमा म नराम्रो होइन भन्ने देखाउने प्रयास गरेका छन् । त्यसका लागि उनले आफैंले टिमबाट निकालेका खेलाडीलाई कुनै कारबाही नगर्नू भन्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई सम्बोधन गरी पत्र लेखेका छन् ।

जानकारीविना क्याम्प छाडेकोमा आफू दुखी भएको अल्मुताइरीले पत्रमा लेखेका छन् । जबकी खेलाडीको भनाइ मान्ने हो भने अल्मुताइरीले नै खेलाडीलाई ‘घर जाउ’ भनेका थिए ।

पत्रकार सम्मेलनमा खेलाडी ।

खेलाडीलाई कारबाही नगर्नूू भनेर आफू ‘महान’ देखिन खोजेका अल्मुताइरी खेलाडीले लगाएका आरोपमा भने मौन छन् ।

खेलाडीले आफ्नो स्वाभिमानमै असर पुग्नेगरी प्रशिक्षकले गरेको व्यवहारप्रति चित्त दुखाइरहेको समयमा अल्मुताइरीले आरोपको खण्डनको सट्टा उनीहरुले आवेशमा आएर गल्ती गरेकाले कारबाही नगर्न अनुरोध गरेका छन् ।

१० जना खेलाडीले अल्मुताइरीको प्रशिक्षणमा खेल्नै नसक्ने बताइसकेका छन् तर प्रशिक्षक अल्मुताइरीले क्याम्प छाड्नु खेलाडीको गम्भीर गल्ती भएको हुनाले आसन्न एसियन कप छनोटका लागि उनीहरुलाई टिममा फिर्ता नगरिने प्रष्ट पारेका छन् । पत्रमा उनले भनेका छन्, ‘प्रतियोगितामा जुनसुकै नतिजा आए पनि त्यसको जिम्मेवार म हुनेछु ।’

प्रशिक्षकको कार्यशैलीमा प्रश्न उठाउँदै बन्द प्रशिक्षण छाडेका १० खेलाडीको विकल्पमा प्रशिक्षकले १७ जना नयाँ खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिए ।

प्रशिक्षकको नजरमा खेलाडी दोषी हुन् भने खेलाडीको नजरमा प्रशिक्षक । खेलाडीले घटनाको छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

दोषी को हो र कसले गल्ती गरेको छ भनेर छुट्टयाउन छानबिन आवश्यक छ । छानबिन गर्ने र कारबाही गर्ने निकाय अखिल नेपाल फुटबल संघ एन्फा यो घटनामा ‘लाचार’ देखिन्छ ।

इन्द्रमान तुलाधर, कर्मा छिरिङ्ग शेर्पा ।

प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्ट एन्फाकै एउटा पक्षले आसन्न निर्वाचनमा यसैलाई प्रमुख हतियारका रुपमा प्रयोग गरेको अवस्थामा संस्थापन पक्ष रक्षात्मक हुनुपर्ने अवस्था छ ।

प्रशिक्षकको कमजोरी देखेर पनि नदेखेझैं गर्नुपर्ने बाध्यता एन्फा नेतृत्वलाई आइपरेको छ । अल्मुताइरीमाथि छानबिन प्रक्रिया सुरु गर्दा नेपाली फुटबलको प्रमुख सहयोगी कतार फुटबल संघ चिढिने हो कि भन्ने डर एन्फा नेतृत्वमा छ ।

१० महिनाअघि राजीनामा गरे पनि पछि फेरि सम्झौता नवीकरण गरेका अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् ।

६ असारमा हुने एन्फा निर्वाचनको प्रक्रिया अघि बढेका कारण उनीसँगको सम्झौता नयाँ कार्यसमिति आएपछि मात्र पुनर्विचार हुनेछ ।

एन्फा निर्वाचनको नजिकिएका बेला विकसित यो घटनाक्रमले आसन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन स्तरमै असर पुग्नेछ । एसियन कप छनोटको तेस्रो चरणमा दुई महिनापछि नेपालले जोर्डन, कुवेत र इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

विवादको मुख्य कारण एन्फा होस्टलको सुविधा

सार्वजनिक भएका घटनाक्रमअनुसार एसियन कप छनोटका लागि टिमलाई राखिएको एन्फा होस्टेलको सेवा र सुविधा कमजोर भएकोमा सिनियर खेलाडी रोहित चन्दले प्रश्न उठाए ।

उनले होस्टलको सेवा सुधार्नु पर्ने वा आफूहरुलाई होटलमा राख्नुपर्ने माग गरे । जसमा अन्य खेलाडीको पनि समर्थन थियो ।

सुविधा माग्ने रोहितलाई प्रशिक्षकले दुर्व्यवहार गर्दै घर पठाए । रोहितमाथि भएको अन्यायको विरोध गर्दा अन्य सिनियर खेलाडीमाथि पनि उस्तै व्यवहार भयो । र, आफूहरु प्रशिक्षण क्याम्प छाड्न बाध्य भएको खेलाडीको भनाइ छ ।

एन्फाले पछिल्लो एक दशकदेखि राष्ट्रिय टोलीलाई होस्टेलमा राख्ने गरेको थियो । खेलाडीहरुका भनाइ अनुसार होस्टेलको सुविधा र स्तरोन्नतिमा एन्फा व्यवस्थापनको भूमिकालाई लिएर पनि प्रश्न गर्ने ठाउँ छ ।

६ महिनाअघि नेपाली क्रिकेट टिममा यस्तै विवाद भएको थियो । त्यतिबेला संघ र खेलाडीबीचको विवादमा प्रशिक्षकले संघलाई साथ दिएका थिए ।

अहिले प्रशिक्षक र खेलाडीबीचको विवादमा मुकदर्शक बनेको भनेर एन्फाको आलोचना हुन थालेको छ । तर एन्फाले भने विवाद समाधानको प्रयासमा रहेको जनाएको छ ।

‘हामीले दुवै पक्षसँग कुराकानी गरिरहेका छौं । सबै आआफ्नो ठाउँमा लचिलो बन्नुपर्छ । जसको जे जिम्मेवारी हो त्यसलाई पूरा गर्नेतर्फ लाग्नुपर्छ,’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अनलाइनखबरसँग भने्, ‘यो समस्यालाई धेरै उचाल्नु हुँदैन । छिट्टै समाधान हुने आशा छ ।’

आफ्नो नियुक्तिको सुरुवातीदेखि नै विवादमा देखिएका प्रशिक्षक अल्मुताइरीले अहिलेसम्म राष्ट्रिय टिमलाई एकढिक्का राख्न सफल थिए । एसियन कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनलको ठोस उपलब्धि हासिल हुनुलाई मैदानभित्र नेपालको सफलता मानिन्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?