+
+

धवलशम्शेर राणाको जिम्मेवारी उठाउँछु : नन्दलाल वैश्य

डा. धवलशम्शेरको भिजन र मेरो कार्यकुशलता तथा भिजन मिलेर ठूलो केही गर्ने योजना छ । ६ महिनामा केही गरिएन भने संसदीय चुनावमा भोट कसरी माग्ने ? त्यसैले ६ महिनाभित्र नेपालगञ्जमा परिणाम देखाउने प्रतिबद्धता जनाउँछु ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते २०:४१

२१ वैशाख, काठमाडौं । नन्दलाल वैश्यले स्थानीय तहको चुनाव घोषणा भए लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा उठ्ने तयारी गरेका थिए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका उनले टिकट पाउनुअघि नै प्रचार थालेका थिए । उनको तयारीमा पार्टीले पनि साथ दिएको थियो ।

तर सत्तारुढ दलको शीर्ष नेताको बैठकले नेपालगञ्जको मेयर नेपाली कांग्रेसले र उपमेयर जनता समाजवादी पार्टीले पाउने गरी भागवण्डा गरेपछि वैश्यको माओवादी केन्द्रबाट उम्मेदवार बन्ने समभावना समाप्त भयो ।

त्यसपछि उनी रातारात राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे । उनी अहिले राप्रपाको तर्फबाट मेयरको उम्मेदवार पनि बनेका छन् । उनै वैश्यसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले त माओवादीबाट मेयर उठ्ने भनेर तयारी गर्नुभएको थियो, तर राप्रपाबाट उठ्नुभयो, माओवादीको मान्छेले राप्रपाको टिकट कसरी पाउनुभयो ?

मैले पहिल्यैदेखि मेयरको उम्मेदवार हुने भनेर प्रचार प्रसार र भेटघाट गरिरहेको थिएँ । माओवादीले मेयरमा मलाई अघि सार्ने कुरा भइरहेको थियो, तर गठबन्धनमा नेपालगञ्जको मेयर माओवादीको भागमा नपरेपछि म बीचमा परेँ ।

राप्रपाका नेता डा. धवलशम्शेर राणासँग पहिलादेखि नै कुराकानी भइरहेको थियो । मतदातासँगको नियमित भेटघाट र उहाँहरुले तपाईं जस्तो मान्छे किन मेयरमा नलड्ने भनेकाले मलाई जसरी पनि मेयर उठ्नुपर्छ भन्ने लागेको थियो । त्यसैले नेपालगञ्ज माओवादीको भागमा नपरेपछि विकल्प खोजिरहेको बेला राप्रपाको नेतृत्वले मलाई मेयरमा उठाउने प्रस्ताव गर्‍यो । त्यसपछि म तयार भएको हुँ ।

तपाईंले आउनेवित्तिकै टिकट पाएपछि राप्रपाका पुराना नेताहरु जो मेयरको दाबेदार थिए, उनीहरु रिसाए होलान् नि ?

मैले माओवादी केन्द्रबाट लड्ने तयारी गरिरहँदा राप्रपाका चार–पाँच जना साथीले मेयरमा दाबी गरिरहनुभएको थियो । उहाँहरुले नेपालगञ्जको मेयरको उम्मेदवार हुँ भनेर प्रचार प्रसार पनि गरिरहनुभएको थियो । राप्रपाको नगर समितिले उहाँहरुको नाम सिफारिस पनि गरेको थियो, उहाँहरुको चर्चाकै बीचमा मैले टिकट पाएको हुँ ।

तर मैले टिकट पाएपछि पार्टीका जिल्लामा रहेका सबै नेताहरुले सहयोग गर्नुभएको छ । अहिले पनि म निर्वाचन प्रसार प्रसारबाट सम्पर्क कार्यालय आइपुगेको छु । यहाँ राप्रपाका दिग्गज नेताहरु पनि हुनुहुन्छ, उहाँहरु खुलेर प्रचार अभियानमा लाग्नुभएको छ ।

जो मेयरका आकांक्षी हुनुहुन्थ्यो, उहाँहरुलाई पार्टीले मिलाइसकेको छ । उहाँहरु असन्तुष्ट हुनुहुन्न ।

राप्रपाले तपाईंलाई नै किन उम्मेदवार बनायो ?

२०५६ सालदेखि कहीँ न कहीँ चुनाव लड्दै आइरहेको छु । एक समय कांग्रेसको भातृ संगठन तरुण दलको चुनाव लडेको थिएँ । त्यसपछि वैश्य समाजको चुनाव लडें, दुई पटक उपाध्यक्ष भएर काम गरेँ । २०६३ सालमा नेपालगञ्ज उद्योग व्यापार संघको कार्यकारिणी सदस्यमा अपार मतले विजयी भएको थिएँ ।

२०६६ मा चुनाव नै जितेर वाणिज्य संघको उपाध्यक्ष भएँ । त्यसपछि अध्यक्षका लागि चुनाव लड्दा जम्मा ४ मतले पराजित भएको थिएँ । त्यसपछि अर्को चुनावमा अपार मतले संघको अध्यक्षमा निर्वाचित भएँ ।

हाल वैश्य समाजको अध्यक्ष छु । वैश्य समाजमा ७ हजार मत छ । त्यस्तै यहाँको ठूलो समिति मानिएको हडिया बाबा समितिको अध्यक्ष पनि छु । नेपालगञ्जमा रहेको सामाजिक स्दभाव समितिको पनि अध्यक्ष छु । प्रदेश योजना आयोगमा पनि छु । लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघको संयोजक पनि छु ।

मेरो भनाइको अर्थ म लगातार कहीँ न कहीँ म जनताको मनमा छु । मुस्लिमहरुको महान पर्व इदको अवसर होस या हिन्दुहरुको नवरात्र, विजयादशमी, सिखहरुको पर्व या अन्य कुनै समुदायको पर्वका अवसरमा पानी वितरणदेखि लिएर अन्य सामाजिक कार्यहरुमा निरन्तर लागिरहेको छु ।

सबै धर्मको संस्कार र संस्कृति मैले नजिकबाट बुझेको छु । यहाँका उद्योगी व्यापारीको समस्या बुझेको छु । उद्योग वाणिज्य संघको अध्यक्षमा जित्ने बेलामा यहाँका व्यापारीको माग अनुसार लोडसेडिङमुक्त नेपालगञ्ज बनाउन सफल भयौं । नेपालगञ्ज नगरभरि सीसीटीभी क्यामरा व्यवस्थापन गर्‍यौं । नगर सरसफाइ अभियानमा सहभागी छु । स्थानीय सरकारको काम पनि गरियो । त्रिभुवन चोक राम्रो बनाउने पक्षमा लागे ।

अहिले निर्वाचनका बेला उम्मेदवार च्याउ जस्तै उम्रेका छन् । म ती च्याउ जस्तो उम्मेदवार हैन । म निरन्तर विभिन्न निर्वाचनमा लागिरहेको छु ।

यहाँका जनता कति दुःखी छन्, कति खुशी, कति बाटो बनेको छ र कति बन्न बाँकी छ ? मुस्लिम समुदायको मागहरु के के छन् ? हिन्दुहरुको माग के छ ? पहाडी समुदायको समस्या के छ ? युवाको चाहना के हो ? यहाँको व्यापारीहरुको समस्या के छ ? यी सबै म राम्रोसँग बुझेको छु ।
समग्रमा सानो ठेला व्यापारीदेखि लिएर सुन पसलसम्मको समस्या र कसरी व्यवस्थापन गर्न सकिन्छ सबै कुराको ज्ञान हासिल गरेको छु । यी सबै अनुभवले म पार्टीको नजरमा परेको हुँ ।

तपाईंलाई दल बदलुको उपनामले समेत सम्बोधन गर्न थालेका छन्, चुनाव हार्नुभयो भने राप्रपा पनि छाड्ने होला नि ?

म बसेको पार्टीमा मेरो आवश्यकता छैन भने म बसिरहनुको कुनै अर्थ छैन । त्यसकारण जुन ठाउँमा मेरो आवश्यकता छ त्यहाँ गएको छु । मानवको नेचर यही हो । माओवादीमा अब मेरो आवश्यकता रहेन जस्तो लाग्यो त्यसकारण म यता आएको हुँ ।

अहिले नेपालगञ्जमा राप्रपालाई मेरो आवश्यकता थियो । राप्रपाले नेपालगञ्जमा गरेको विकास र सुशासनले मलाई राप्रपातर्फ तानेको हो । निर्वाचन हो हार जित त भइ नै हाल्छ, हारेँ भने पनि राप्रपामै रहन्छु ।

व्यापारिक समुदायको नेतृत्व गरिरहनुभएको छ, तर किन स्थानीय तहमा आउन चाहनुभयो ?

वाणिज्य संघको नेतृत्वमा बस्दा जुन काम गर्न सकिनँ, ती काम नेपालगञ्ज शहरमै बसेर सजिलै गर्न सक्छु । त्यहाँ (उद्योग वाणिज्य संघको नेतृत्वमा) गएर म जतिसुकै ठूलो ठाउँमा नेतृत्व गरे पनि आफ्नो गाउँ–ठाउँमा त्यसले ठूलो अर्थ राख्दैन । नेपालगञ्जमै बसेर आफ्नो जीवनलाई समाजसेवामा समर्पित गर्नका लागि नेपालगञ्जको मेयरका लागि अघि सरेको हुँ ।

तपाईं निर्वाचित भए के के गर्नुहुन्छ ? केलाई प्राथमिकता दिनुहुन्छ ?

पहिलो प्राथमिकता भनेको नेपालगञ्ज नगरलाई सफा राख्ने हो, धुलोमुक्त नगर बनाउने । नेपालगञ्ज सबैभन्दा गर्मी स्थान भएकाले यहाँको बजार व्यवस्थापन गरी हरियाली बनाउने, ट्राफिक व्यवस्थापन गर्ने, रिक्सा चालकहरुको समस्या समाधान गर्ने मेरो योजना छ ।

त्यस्तै सब्जी मण्डीको उचित व्यवस्था गर्ने, यहाँका युवालाई रोजगारी र स्वरोजगारका योजना ल्याउने, यहाँका विपन्न परिवारलाई आम्दानीको व्यवस्था गर्ने पनि मेरो योजना छ ।

अर्को भनेको छिमेकी मुलकु भारतको उत्तरप्रदेश राज्यका जनताहरुलाई पर्यटकका रुपमा कसरी नेपालगञ्ज भित्र्याउने भन्ने हो । नेपालगञ्जमा आकाशे पुलको आवश्यकता छ, नगरमा चक्रपथको आवश्यकता छ, यी विषय मेरो प्राथमिकतामा छन् । यसका अलावा यहाँका बुद्धिजीवीहरु (विज्ञ) को सल्लाह, सुझाव अनुसार यहाँको आवश्यकता अनुसार काम गर्नेछु । यी कुराहरु जितेको ६ महिनाभित्र गरेर देखाउने छु ।

०७४ को निर्वाचनमा नेपालगञ्जमा राप्रपा निर्वाचित भएको थियो । तर अहिले नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलले गठबन्धन गरेर उम्मेदवार बनाएका छन् । प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने आकलन गर्नुभएको छ ?

नेपालगञ्जमा धेरै काम राप्रपाकै नेतृत्वमा भएको छ । जनताले पनि बुझेका छन् । त्यसमाथि मेरो आफ्नो पनि व्यवहार, बोली वचन र सामाजिक कार्यमा सक्रियता जस्ता कुराले पनि प्रभाव पार्छ होला नि ?

गठबन्धन गर्दैमा गठबन्धनकै जित हुन्छ भन्ने पनि छैन होला त ? त्यस कारण मतदाताले सबै कुरालाई ध्यान दिएर नै भोट हाल्छन् । अहिलेको नेतृत्वले गरेको कामको समेत मुल्यांकन गर्छन् ।

नेपालगञ्जका मतदाताले तपाईंलाई नै किन मत दिने त ?

मलाई मेरो काम हेरेर भोट दिने हो । मैले विगतदेखि गर्दै आएको काम हेरेर मत दिन्छन् । वैश्य समाजको नेतृत्व गर्दा त्यहाँ धर्मशाला बनाएको छु । स्मशान भूमि बनाएको छु । समाजिक कामहरु थुप्रै गरेको छु ।

यहाँ जति पनि समाज छन्, सबैसँगको समन्वय सहकार्य निरन्तर चालेको छु । मदरसाको समस्या, विद्यालयको समस्या समाधान गर्ने, समुदायलाई जोड्ने काम गरेको छु । यहाँको मस्जिदको समस्या, मन्दिरको समस्या, यहाँका उद्योगमा भारतीयले काम पाएका कारण स्थानीय युवा कामबाट वञ्चित भएको समस्या, व्यापारीको समस्या समाधान गर्ने प्रयास गरेकाले मतदाताले हेर्ने छन् ।

सबभन्दा ठूलो कुरा यहाँको मेयर डा. धवलशम्शेर राणाको जिम्मेवारी उठाउने सोचमा छु । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रेरणाबाट पार्टीमा प्रवेश गरेको हुँ ।

डा. धवलशम्शेरको भिजन र मेरो कार्यकुशलता तथा भिजन मिलेर ठूलो केही गर्ने योजना छ । ६ महिनामा केही गरिएन भने संसदीय चुनावमा भोट कसरी माग्ने ? त्यसैले ६ महिनाभित्र नेपालगञ्जमा परिणाम देखाउने प्रतिबद्धता जनाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?