+
+

बालेन शाह भन्छन् : केशव स्थापित मेरो ब्राण्ड एम्बेसडर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते १५:२६

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया जनाइरहन आवश्यक नभएको बताएका छन् ।

बरु स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगेको उनको भनाइ छ । ‘नरदेवीमा घरदैलो अभियानमा जाँदा केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाहले अनलाइनखबरसँग भने, ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थापितले शाहलाई ‘केशव स्थापितलाई जिताउँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका थिए ।

शाहले भने स्थापितको आरोप अस्वीकार गर्दै त्यसरी प्रचार गर्न जरुरी नभएको बताए । उनले भने, ‘त्यसरी प्रचार गर्न हामीलाई जरुरत नै छैन, कुनै मिम बनेका हुनसक्छन् । त्यसबारे जानकारी छैन ।’

स्थापितले शाहसँग दुई घन्टा चिया भेट भएको र खिचापोखरीबारे सोधेको सुनाएका थिए ।

तर बालेन शाहले भने हालसालै स्थापितसँग कुनै कुराकानी नभएको बताए । ‘चार महिनाअघि उम्मेदवारी दिने प्रारम्भिक छलफलकै सिलसिलामा उहाँसँग भेट भएको हो,’ उनले भने, ‘तर त्यस्तो विषयमा कुनै कुराकानी भएको थिएन ।’ त्यतिबेला अन्य पार्टीका नेताहरुसँग पनि त्यसै गरी भेट गरेर छलफल गरेको शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?