+
+

नृप वड भन्छन् : स्वतन्त्र उम्मेदवारको न जरा छ, न टुप्पो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २१:१९

२० वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वडले नेपाली कांग्रेसबाट फेरि टिकट पाउन जति सहज भयो, चुनाव जित्न त्यति सहज देखिएको छैन ।

जबकी अघिल्लो चुनावको तेस्रो दल माओवादी केन्द्रका साथै एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको उनलाई साथ छ । तर उनलाई नेकपा एमालेसँगै स्वतन्त्र उम्मेदवार गोपाल हमालले कडा टक्कर दिएको गठबन्धनका नेताहरु बताउँछन् ।

मेयरका उम्मेदवार वड भने यसलाई मान्न तयार छैनन् । दलीय व्यवस्थामा दल नै प्रधान हुने भन्दै उनी भन्छन्, स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । त्यसैले प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुँदैन । दलबाट उम्मेदवारी दिएका साथीहरुसँग प्रतिस्पर्धा हुन्छ ।’

प्रस्तुत छ, आसन्न निर्वाचनबारे पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वडसँग अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानीको सम्पादित अंश :

धनगढीको मेयरमा फेरि तपाईं नै किन उम्मेदवार ?

जनप्रतिनिधिविहीन भएको २० वर्षपछि धनगढीको नेतृत्व गरेको हुँ । हावाहुरी, डुबान, कोभिड महामारी लगायतका कारणले पाँच वर्षको कार्यकाल दुई वर्षमा सीमित भयो । त्यसैमाथि प्रदेश र संघमा प्रतिपक्षी दलको सरकार भएका कारणले हाम्रो योजनामा ब्रेक भयो । प्रायः सबै कामको सुरुवात गरियो ।

केहीले पूर्णता पाए पनि केही प्रक्रियागत अवस्थामा छन् । त्यसैलाई निरन्तरता दिन र अगामी दिनमा धनगढीलाई महानगरपालिका बनाउन, संघीय सरकारसँग समन्वय गरेर गेटा विमानस्थल तथा गौरीफन्टा नाकाको स्तरोन्नती गर्न, अहिलेका कामको परिणाम नदेखिएकाले त्यसलाई स्थापित गर्न र पार्टीको मूल नेतृत्वले पनि विश्वास गरेका कारण म दोहोरिएको हो ।

पार्टीभित्र नेतृत्व परिर्वतनको आवाज उठेको थियो होइन र ?

परिवर्तन गर्नुपर्ने भए त पार्टीको उच्च तहमा बसेका नेतालाई पनि महसुस हुनुुपर्ने हो । तर नेतृत्वले भने नृपले अझै गर्छ र यसले गरेका काम केही अधुुुरा छन्, तिनलाई पूरा गर्छ भन्ने विश्वासका साथ मलाई दोहोर्‍याएको हो । नेतृत्व परिर्वतन हुनुपर्छ भन्ने साथीहरुले पनि मैले आफ्नो कार्यकालको पूरा अवधी काम गर्न पाइनँ भन्ने थाहै छ ।

फेरि, म मात्र होइन, अरु पालिकामा पनि धैरे दोहोरिएका छन् । धनगढीमै ८/१० जना वडाध्यक्षले पुुनः उम्मेदवारी दिएका छन् । त्यसैले गर्दा दोहोरिने र नदोहोरिने कुरा होइन । आरोपका लागि लगाइएको आरोपले खासै अर्थ राख्दैन ।

तर पार्टीका आन्तरिक कलहले समस्या पार्दैन ?

कांग्रेस ठूलो पार्टी हो । ठूलो पार्टीमा आन्तरिक असन्तुष्टि र किचलो हुन्छ । यो कुरालाई स्वभाविक रुपमा लिनुपर्छ । धेरै साथीहरुको आकांक्षा हुन्छ । पद सीमित हुने भएकाले जिम्मेवारी दिँदा समस्या हुन्छ । त्यो केही समयसम्मका लागि हो ।

सबै साथीलाई एकतावद्ध बनाउन म आफैं लागेको छु । अग्रज नेताहरु पनि असन्तुष्ट पक्षलाई मनाउन लागिरहनुभएको छ । बाहिर जुन किसिमले देखिएको छ, त्यो खालको ठूलो समस्या पनि छैन । विस्तारै साम्य हुँदै गइरहेको छ र साम्य गराउछौं ।

कांग्रेसको आन्तरिक कलह हल नभए माओवादी र समाजवादीले पनि भोट दिँदैनन् भन्ने सुनिन थालेको छ, के भन्नु हुन्छ ?

हाम्रो निर्णय भएको ५/७ दिन मात्रै भएको छ, सुरु–सुरुमा अन्तर कलह र असन्तुष्टि देखिनु स्वभाविक हो । संघमा गठबन्धनको सरकार छ, गठबन्धनकै उम्मेदवार हौं ।

हामीलाई भोट नदिएर अर्कोलाई जिताउने भए गठबन्धन किन चाहियो ? यसमा गठबन्धनमा आबद्ध दलका साथीहरु एकदम प्रष्ट छौं । मैले बेइमानी र भ्रष्टाचार गरेको छु भने मलाई भोट नहाल्नुस्, तर मैले केही काम गरेको छु भने मत हाल्नुस् ।

प्रतिपक्षीको सरकार हुँदाहुँदै पनि ७५३ वटै स्थानीय तहको भन्दा धनगढीमा हामीले अब्बल काम गरेका छौं ।

तर मेयर र उपमेयरमा मिले पनि वडा तहमा तालमेल भएको छैन, यसले समस्या पार्दैन ?

यो विषयमा पनि हामी छलफल गरिरहेका छौं । जुन पार्टीको उम्मेदवार कमजोर हुन्छ, गठबन्धनको बलियो उम्मेदवारलाई सहयोग गर्ने भनेर सहमति पनि भएको छ । केही वडामा हाम्रो र माओवादी तथा समाजवादीसँग सहमति पनि भइसकेको अवस्था छ ।

अघिल्लो निर्वाचनमा तपाईंको प्रतिस्पर्धा दलसँग नभई स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग भएको थियो । यसपालि पनि हमालले नै तपाईलाई कडा चुनौती दिन्छन् भनिन्छ नि ?

स्वतन्त्र उम्मेदवारको न जरा, न त टुप्पो । अगाडी–पछाडि र दाया–बायाँ कतै केही छैन । दलीय व्यवस्थामा दल नै प्रधान हुुन्छ । नगरका १०० जनप्रतिनिधिमा ९९ जना कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी लगायतका पार्टीहरुबाट आएका हुन्छन् । अनि, नगर प्रमुख चाहिँ स्वतन्त्र व्यक्ति भयो भने नगरपालिकाको हालत के होला ?

अर्को दलको सरकार भएकै कारण फाप्ला क्रिकेट मैदानसम्बन्धी निर्णय गर्न मलाई चार वर्ष लाग्यो । फोहोरमैला व्यवस्थापन निर्णय गर्न चार वर्ष लाग्यो, बसपार्कको योजना चार वर्षपछि मात्र बल्ल मन्त्रिपरिषदमा पुगेको छ । यसअघि चार पटक प्रधानमन्त्री भइसकेका व्यक्ति मेरो पार्टीको प्रमुख हुुँदै गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत फेरिरहे ।

विकासका नाममा ५० पैसा पनि थप भएर आएन भने स्वतन्त्र उम्मेदवार विजयी भएर आए के होला ? त्यसैले यसपटकको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवारसँग छैन, हुुँदैन । यो दलीय व्यवस्था भएकाले दलबाट उम्मेदवारी दिएका साथीहरुसँग प्रतिस्पर्धा हुन्छ ।

उसो भए गोपी हमालका कारण दबावमा पर्नुभएको छैन ?

छैन, किनभने दुई महिना अघि राजनीतिमा आएर मेयरको उम्मेदवार भएको होइन । ४० वर्ष मैले यो समाजमा बिताएको छुु । दुई वर्षसम्म अस्पतालमा बसेको छुु, दिनभरी जिल्ला प्रहरी कार्यालयमा बसेर बिताएको छुु । यहाँका समस्याहरु सामाधान गर्न उम्मेदवारी दिएको हुँ । हावादारी कुुरा गरेर नगर प्रमुख चलाएको पनि होइन ।

एउटा व्यक्ति, जसको राजनीतिक परिवेश छैन, समाजलाई पोजेटिभभन्दा नेगेटिभ डोर्‍याउने बाहेक अर्को काम गरेको छैन । त्यो व्यक्तिको यति धेरै चर्चा किन भइरहेको छ ? के हामीले धनगढीलाई नकारात्मक बाटोमा लैजान खोजेको हो र ? हामी सबैले बुझ्नुपर्छ ।

मतदातालाई तपाईंलाई किन भोट दिने भन्ने पनि त प्रश्न होला ?

किनभने अब म पालिकाको काममा परिपक्क भएको छुु । यो क्षेत्रको विकास, सामाजिक सुरक्षा, सौन्दर्यताका मैले काम गर्न कहाँ छुट्यो भन्ने कुरा पनि बुुझेको छु । मेरो सयौं दातृ निकायसँग समन्वय छ, पार्टीको सरकार छ । पार्टी सभापति प्रधानमन्त्री हुनुहुन्छ । उहाँसँग मेरो प्रत्यक्ष रुपमा सम्पर्क छ । यहाँको जनताको हुुलाकीको रुपमा काम गर्छु ।

अर्को कुरा के भने आदरणीय नेतृ आरजुु राणा देउवा यो क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ । त्यसैले म र मेरो नेताले चुनाव जितेमा धनगढी उपमहानगरपालिकाको कायापलट हुन्छ । किनभने प्रतिनिधि माथिल्लो तहमा पनि आफ्नो प्रतिनिधि चाहियो नि । म बाहेक अर्को मान्छे आएमा यहाँको विकासको सम्भावना कम छ ।

उसो भए अबको पाँच वर्षपछि धनगढीका मतदाताले देख्न पाउने प्रमुख तीन वटा परिवर्तन के हुनसक्छन् ?

प्रत्येक घरमा खानेपानी पुर्‍याउने छु, सानादेखि ठूला बाटोघाटो निर्माण गर्नेछु, धनगढीलाई ग्रिनक्लिन सहर बनाउनेछुु । स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्नेछुु । सुन्दर र सुरक्षित सहर बनाउनेछुु, स्वास्थ्य र शिक्षा, कृषिको हवका रुपमा विकास गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?