+
+

श्वेता भन्छिन्- निर्माताले स्पष्ट हिसाब पाउने प्रणाली नबनेसम्म फिल्म बनाउँदिन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते ११:४४
अभिनेत्री श्वेता खड्का । फाइल तस्वीर

काठमाडौं । स्थानीय तह निर्वाचनको मुखैमा सत्तारुढ दल नेपाली कांग्रेस प्रवेश गरेपछि अभिनेत्री श्वेता खड्का अहिले चर्चामा छिन् । ‘कोहिनुर’ फेम्ड अभिनेत्रीले अब आफू सक्रिय राजनीतिमा लाग्ने बताएकी छन् ।

राजनीतिक दलमार्फत फिल्म क्षेत्र र महिलाका मुद्दालाई अघि बढाउने उनको योजना छ । तर श्वेता कहिले फिल्म निर्माण गर्छिन् त ? यसबारे उनको आफ्नै अडान छ ।

फिल्म प्रदर्शनबापत निर्माताले पाउनुपर्ने हिसाब स्पष्ट हुने डिजिटल प्रणाली स्थापना नभएसम्म आफूले फिल्म नबनाउने श्वेताले स्पष्ट पारेकी छन् । यसका लागि सरकारले व्यवस्थित नीति ल्याउनुपर्ने उनको माग छ ।

फिल्म कहिले निर्माण गर्नेबारे सोधिएको जिज्ञासामा उनले भनिन्, ‘मैले पहिले पनि प्रमिस गरेको थिएँ । जबसम्म यो म्यानुअल सिस्टम हटेर डिजिटल सिस्टममा अकाउन्ट आउँदैन तबसम्म फिल्म बनाउँदिन भनेकी थिएँ, म अहिले पनि त्यही अडानमा छु । र, पार्टीमा आएर पनि त्यही भन्छु ।’

हिसाबकिताब स्पष्ट हुनुपर्ने माग गर्दै श्वेता भन्छिन्, ‘जबसम्म हाम्रो हिसाबकिताबको सेयर क्लालकुलेसन हुँदैन हलमा, त्यतिबेलासम्म म फिल्म बनाउँदिन ।’ उनले सरकारलाई कर तिर्न आफू तयार रहे पनि सो अनुसारको नीति नहुँदा समस्या परेको बताइन् ।

श्रीकृष्ण श्रेष्ठसँग मिलेर उनले अभिनय गरेको फिल्म ‘कोहिनुर’को सिक्वेल बनाउने योजना रहे पनि अहिलेको परिस्थिति ठीक नभएको श्वेताको भनाइ छ । ‘अहिले भारतीय फिल्मको दबदबा छ र नेपाली फिल्मको लागि परिस्थिति ठीक छैन । सरकारले यसतर्फ पहल गर्नुपर्छ,’ उनले भनिन् ।

‘कोहिनुर–२’ निर्माण गर्ने भए पनि महिलाकै आवाज उठाउने विषयवस्तुमा आफूले फिल्म बनाउने उनले बताइन् । ‘कोहिनुर’मा पनि भारतमा बेचिएकी नेपाली चेलीको कथा समावेश थियो । ‘समय तोक्न सक्दिन, तर कोहिनुरको सिक्वेल बन्छ,’ उनले भनिन्, ‘यसका लागि सरकारले व्यवस्थित नीति बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?