+
+

गठबन्धनलाई बल्ल लाग्यो चुनाव : कतै एकल, कतै संयुक्त सभा

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख २२ गते १५:३३
Photo Credit : रासस
चितवनको भरतपुरमा भएको सभामा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरु ।

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लक्षित दर्जनौं सभालाई सम्बोधन गरिसकेका छन् ।

उम्मदेवारी टुंग्याएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् ।

आज नै देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सत्ता गठबन्धनले चितवनको भतरपुरमा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै छन् ।

भोलि नै काठमाडौंमा गठबन्धनको संयुक्त सभा छ । काठमाडौंको सभाबाट देशभर सन्देश प्रवाह गर्ने तयारी गठबन्धनको छ । त्यस्तै सभा पोखरा महानगरमा २५ गते हुने छ । त्यहाँ पनि गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

३० गते हुने मतदानका लागि २७ गतेसम्म मात्रै प्रचार गर्न पाइने भएकाले समयको चाप पनि उत्तिकै छ । तर, ढिला गरि उम्मेदवार तय गरेका गठबन्धनलाई द्रुुत गतिमा सकेसम्म सबै सभा भ्याउने चटारो छ ।

कतै संयुक्त, कतै एक्लाएक्लै

देशका ६ वटै महानगरमा चुनावी तालमेल गरेको सत्ता गठबन्धनले संयुक्त सभा भने आधा जतिमा मात्रै गर्ने भएको छ ।

गठबन्धनले काठमाडौं, पोखरा र भरतपुर महानगरमा संयुक्त सभा गर्ने भए पनि ललितपुर, विराटनगर र वीरगंजमा भने त्यस्ता कुनै कार्यक्रम राखेको छैन् ।

तीमध्य ललितपुर र विराटनगर महानगरको प्रमुख नेपाली कांग्रेसले लिएको छ भने वीरगंज महानगर प्रमुख जनता समाजवादीको भागमा परेको छ ।

बुधबार नेपाली कांग्रेसले विराटनगरमा गरेको सभामा सहभागी नेताहरु । तस्वीर : रासस

देशभरका एकचौथाइ पालिकामा पनि गठबन्धनबीच तालमेल हुन नसकेपछि महानगर बाहेक अन्यत्र खासै संयुक्त कार्यक्रम पनि नरहेको नेताहरुले जनाएका छन् । यसअघि ७ वटै प्रदेशमा गठबन्धनले संयुक्त सभा गर्ने भनेर निर्धारण गरिएको कार्यक्रम नै रद्द गरिएको छ ।

शीर्ष नेताहरु सबै ठाउँमा पुग्न साध्य नभएकाले धेरै संयुक्त कार्यक्रम नराखिएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महतले बताए ।

‘शीर्ष नेतालाई मात्रै यति छोटो समयमा सबै ठाउँमा पुग्न गाह्रो छ,’ महतले अनलाइनखबरसँग भने, ‘जहाँ गठबन्धन छ, त्यहाँ सम्बन्धित क्षेत्रका नेताहरु सामेल भइहाल्नुहुन्छ । जहाँ मित्रवत प्रतिस्पर्धा छ, त्यहाँ मित्रवत प्रतिस्पर्धा हुनुहुन्छ । आआफ्नो तरिकाले एकल कार्यक्रम हुन्छ ।’

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पनि धेरै ठाउँमा गठबन्धन हुन नसकेकाले संयुक्त कार्यक्रमको त्यति औचित्य नदेखिएको बताए । ‘कतिपय ठाउँमा गठबन्धन नै राम्रोसँग हुन सकेन,’ उनले अनलाइनखबरसँग भने, ‘गठबन्धनलाई जिताउन भनेर गठबन्धनका तर्फबाट संयुक्त सम्बोधन गरिने हो, गठबन्धन नै नभएपछि त्यहाँ संयुक्त सभाको औचित्य भएन ।’

कांग्रेसको एकल साताव्यापी कार्यक्रम

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एकाधबाहेक धेरै एकल सभा तय गरेको छ। कांग्रेसले २१ देखि २७ गतेसम्मलाई १० वटा चुनावी सभा तय गरेको छ ।

कांग्रेसले विराटनगरमा एकल कार्यक्रम गरिसकेको छ भने बुटवल, दमौली, जनकपुर, तुलसीपुर, धनगढी र डडेलधुरामा सभा गर्ने तय गरेको छ ।

ती सबै सभालाई देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, धनराज गुरुङ, गगन थापालगायतले सम्बोधन गर्ने छन् ।

अरु ठाउँमा प्रचण्ड पुग्ने, धरानको जिम्मा लेखनाथ न्यौपानेलाई

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीले पाएका महानगर, उपमहानगर र अरु महत्वपूर्ण केही नगरपालिकामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न जाने छन् ।

माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार प्रचण्डले धरान बाहेक अरुतिरका सभालाई सम्बोधन गर्ने छन् ।

भरतपुरमा भएको चुनावी सभामा प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीर : रासस

धरान उपमहानगरको उपप्रमुख माओवादी केन्द्रले पाएको छ, जहाँ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेलाई चुनावी कमाण्डरको जिम्मेवारी दिइएको छ ।

‘धरानको चाहीं अध्यक्षले नभ्याउने हुनुभयो,’ ढकालले भने, ‘त्यहाँ लेखनाथ न्यौपाने जानुहुन्छ । अन्त सबैतिर अध्यक्ष प्रचण्ड नै जाने कुरा छ ।’

माओवादी केन्द्रले सत्ता गठबन्धनमा तालमेल गर्दा भरतपुर महानगर, घोराही उपमहानगर र जितपुर–सिमरा उपमहानगरमा प्रमुख पाएको छ । त्यस्तै ललितपुर महानगर, धरान उपमहानगर र धनगढी उपमहानगरमा उपप्रमुख पाएको छ ।

माओवादी र समाजवादीको जोड घरदैलोमा

नेकपा एमाले र नेपाली कांग्रेसले केन्द्रीय तहका चुनावी सभामा समेत आयोजना जोड दिँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने धेरै आमसभा तय गरेका छैनन् ।

माओवादी केन्द्रीय कार्यालयका सचिव ढकालले महानगर र उपमहानगरमा केन्द्रीय सभा भए पनि अन्यत्र आआफ्नै सापेक्षतामा मिलाउने बताए ।

माओवादी केन्द्रका नेता देव गुरुङले समय सिमित भएकाले पनि सबै ठाउँमा पुग्न सम्भव नभएकाले वृहत खालका आमसभा अहिले उपयुक्त नहुने आफूहरुले ठानेको बताए ।

‘सिमित अवधि भएको हुनाले सबै ठाउँमा पुग्न सम्भव हुँदैन,’ गुरुङले अनलाइनखबरसँग भने, ‘बृहत् खालका आम सभाहरू राख्ने मोडलबाट जाँदा त्यसकै तयारीमा लाग्नुपर्ने, त्यसकै तयारीमा क्रियाशील हुनुपर्ने हुन्छ ।’

उनले थपे, ‘त्यसैलेसमयको चापलाई हेर्दा एकै ठाउँमा सभा गर्नु पनि उचित देखिन्न । अलग–थलग ढंगले पालिका पालिका, वडा–वडा अनुसार नै घरदैलो गर्दै जानुपर्छ । त्यो नै प्रभावकारी हुन्छ भनेका छौं ।’

त्यस्तै गठबन्धनको अर्को दल एकीकृत समाजवादीले पनि छुट्टै ठूला सभा तय गरेको छैन । स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई सम्बन्धित जिल्ला र केन्द्रीय सदस्यलाई पालिका–पालिकामा खटाएले छुट्टै केन्द्रीय सभाको आवश्यकता गर्नुपर्ने महसुस आफूहरुले नगरेको उपमहासचिव तुलाधर बताउँछन् ।

‘स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई जिल्ला केन्द्रित भएर चुनावी अभिायन संचालन गर्ने भनेका छौंं,’ उलने भने, ‘स्थायी र पोलिटब्युरो सदस्य जिल्ला केन्द्रित हुनुहुन्छ भने केन्द्रीय सदस्यहरु पालिका केन्द्रित हुनुहुन्छ । त्यसैले यहाँबाट वक्ता व्यवस्थापन गर्ने आवश्यकता हामीले ठानेनौं ।’

स्थानीय चुनवा भएकाले ठूला सभा भन्दा पनि घरदैलोलाई आफूहरुले बढ्ता प्राथमिकता दिएको तुलाधरले बताए ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?