+
+

विजयको विरासत जोगाउन चुनावी मैदानमा बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १९:२७

२७ वैशाख, बुटवल । १३ वर्षको उमेरमा २०३६ सालतिर बाबुराम भट्टराईको राजनीतिक आबद्धताको प्रसंग रोचक छ । उनको परिवार भाडामा बसेको घरमा पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा भूमिगत भएका नेताहरूको बाक्लो आवतजावत हुन्थ्यो । त्यही सेरोफेरोमा थाहै नपाई आफू पनि कम्युनिस्ट राजनीतिमा जोडिएको उनी बताउँछन् ।

भट्टराई राजनीतिमा पार्टीको रूपन्देही जिल्ला कमिटी सदस्य हुँदै प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा पुगे । यहीबीचमा उनी हेल्थ असिस्टेन्ट पढेर लुम्बिनी अञ्चल अस्पतालमा जागिरे भए । २०५४ मा जागिर छोडेर औषधि व्यवसाय सुरु गरे ।

नेपाल औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष र राष्ट्रिय अध्यक्ष समेत बनेका भट्टराईले नेकपा (एमाले)को केन्द्रीय स्वास्थ्य विभागमा पनि काम गरे ।
२०६२/६३ को जनआन्दोलनमा एमालेको आकस्मिक राहत कोष संयोजक उनी एकताका लुम्बिनी अञ्चल अस्पतालको अध्यक्ष पनि रहे ।

यसपटक मेयरका उम्मेदवार बनेका भट्टराई अहिले बुटवल उपमहानगरपालिकामा एमालेको विरासत जोगाउनुपर्ने दबावमा छन् । एमालेमा भएको विभाजन र सत्ता गठबन्धनको साझा उम्मेदवार उनका लागि ठूलो चुनौती बनेको छ ।

२०७४ को निर्वाचनमा बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मतका साथ विजयी भएका थिए । नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी खेलराज पाण्डेयले २० हजार ८५१ मत पाएका थिए ।

यो चुनावमा पाण्डेय सत्ताधारी गठबन्धनको साझा उम्मेदवार छन् भने एमालेले जनमुक्ति पार्टीसँग गठबन्धन गरेको छ । गत स्थानीय चुनावमा जनमुक्तिले कुल ११ सय ५१ मत ल्याएको थियो ।

स्थानीय तहमा वर्चस्व कायम राख्ने चुनौती खेपिरहेको एमाले आफैं पनि विभाजित छ । एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) सत्ताधारी गठबन्धनमा छ ।
यो परिदृश्यले बाबुराम भट्टराईलाई बुटवलमा एमालेको इतिहास जोगाउन हम्मे पर्ने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?