+
+

म्याग्दीको गुर्जामा हेलिकप्टर चढेर भोट माग्न पुगे उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २०:१४

२७ वैशाख, बेनी । म्याग्दीको एक दुर्गम गाउँमा हेलिकप्टर चढेर उम्मेदवारहरु भोट माग्न पुगेका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको धवलागिरि गाउँपालिका–१ गुर्जामा भोट माग्न उम्मेदवारहरु हेलिकप्टर चढेर पुगेका हुन् ।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टर चढेर गुर्जामा भोट माग्न पुगेका हुन् । धवलागिरि गाउँपालिका–७ ताकमबाट फिस्टेल एयरको हेलिकप्टर चढेर मंगलबार उनीहरु गुर्जा पुगेका हुन् । करिब एक घण्टा मतदातासँग भेटघाट र कोणसभा गरेर उनीहरु फर्किएका थिए ।

छिमेकी वडा लुलाङबाट पुरै दिन पैदलयात्रा गरेर पुगिने गुर्जामा ताकमबाट हेलिकप्टरले दुई वटा उडान गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, नेकपा एमालेका जिल्ला सदस्य ईश्वर सुवेदी लगायत गुर्जा पुगेका थिए ।

सुवेदीले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र भएकाले हिँडेर जान सम्भव नभएपछि हेलिकप्टरमा जानुपर्ने बाध्यता भएको भएको प्रतिक्रिया दिए ।

धवलागिरि गाउँपालिकाका निर्वाचन अधिकृत भोलाराज रेग्मीले हेलिकप्टर प्रयोगका लागि कोही पनि उम्मेदवारले अनुमति नलिएको बताएका छन् । ‘चुनाव प्रचारमा उम्मेदवारले हेलिकप्टर प्रयोग गर्न पाउने नपाउने भन्ने आचारसंहितामा उल्लेख छैन,’ उनले भने, ‘उम्मेदवारले पेश गर्ने खर्चको सीमाको विषय हो । उम्मेदवारले हेलिकप्टर प्रयोग गरेको हामीलाई जानकारी छैन ।

नेपाली कांग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमप्रसाद पुनले भने आचारसंहिता उल्लङ्घन विपरीत मतदातालाई प्रभावित बनाउन हेलिकप्टर चढेर बाहिरी व्यक्तिहरु लगिएको र मतदाताले स्वतन्त्र हिसाबले मतदान गर्ने वातावरण बनाउन माग गरेका छन् ।

एक वटा मात्र मतदान स्थल र केन्द्र रहेको गुर्जामा ७६४ जना मतदाता छन् । गुर्जाको वडाध्यक्ष र दुई जना सदस्य नेकपा माओवादी केन्द्रका, एक जना नेपाली कांग्रेसका र एक जना स्वतन्त्र उम्मेदवार निर्बिरोध भएका छन् । धवलागिरि गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् । सात वटा वडा रहेको धवलागिरिमा एमाले र कांग्रेस–माओवादीको प्रतिस्पर्धा छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उम्मेदवार छन् । १० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् ।

यसअघि सोमबार नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा लगायतका नेताहरु बेनीबाट हेलिकप्टर चढेर मालिका गाउँपालिका–२ रुममा भएका चुनावी सभामा गएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?