+
+

फोहोरका डङ्गुर छिचोल्दै मतदान केन्द्र पुग्दैछन् भोटर

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ वैशाख ३० गते ९:५३

३० वैशाख,  काठमाडौं । काठमाडौंमा उपत्यकामा नियमित फोहोर नउठेको दुई हप्ताभन्दा बढी भइसक्यो । शुक्रबार स्थानीय तह चुनावका दिनमा पनि काठमाडौं उपत्यकाका अधिकांश सडक, चोक र गल्लीमा फोहोरको प्रशस्तै डङ्गुर देखिएका छन् । मतदानको दिनमा समेत स्थानीय तहहरूले फोहोर उठाउन चासो दिएन ।

मतदाताहरु नाक थुन्दै मतदानस्थलसम्म पुगिरहेका छन् । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । तर, दुई दिनपछि ल्यान्डफिल साइटमा फोहोर पुर्ने, माटो सम्याउने डोजरहरु बिग्रिएपछि फोहोर उठन बन्द भएको थियो ।

महानगरपालिकाले मुख्य चोकहरुमा रहेका फोहोर उठाएर टेकको ट्रान्सफर स्टेसन लैजान थालेपनि सडकमा फोहोर थुप्रिन रोकिएको छैन । चुनावअघि सडकको फोहोर उठाउन काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाले चासो पनि दिएनन् ।

यसअघि ११ वैशाखदेखि २३ वैशाखसम्म काठमाडौंको फोहोर उठेको थिएन । पासाङ ल्हामु राजमार्ग निर्माणको ढिलाइ भएको भन्दै स्थानीय पटक-पटक फोहोरको गाडी रोक्दै आएका छन् । तर, पछिल्लोपटक चुनावसम्म यस्तो अवरोध नगर्ने सहमति भएपछि फोहोरको विसर्जन सुरु भएको थियो ।

त्यसअघि १८ चैतदेखि २९ चैतसम्म फोहोर उठेको थिएन । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउने काम रोकिएको थियो । यसअनुसार फागुनयता मात्रै ४५ दिन फोहोर उठ्न नसकेको देखिन्छ ।

सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।

तर, अब सडक अवरुद्ध भएर फोहोर उठाउने काम पटक-पटक बन्द हुँदा काठमाडौंमा प्रदूषण फैलिएको छ ।

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहोर निस्कने हुँदा फोहोर व्यवस्थापनका हिसाबले थप चुनौतीपूर्ण बनेको छ । हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट जानसक्छ ।

तर, फोहोर नै उठ्न लगभग छाडेकाले अब कहिलेसम्म फोहोरको विसर्जन नियमित हुन्छ भन्ने निश्चित छैन ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?