+
+

अर्थमा बजेट लेखनको चटारो, नारा लेख्न विज्ञ खटिए

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ ४ गते १९:०४

४ जेठ, काठमाडौं । आगामी १५ जेठमा संसद्‍मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७९/८० का लागि आउन बजेटको अंक टुंगो लागेको छ । यससँगै अर्थ मन्त्रालय अब बजेट भाषण लेखनमा जुटेको छ ।

मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन भरपुर प्रयास गरिएको छ । सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ टोली नै खटाइएको छ ।

‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा छन्,’ स्रोतले भन्यो, ‘ती क्षेत्रमा नारा लेख्न विज्ञ टोलीले काम गर्दैछ ।’ स्रोतका अनुसार यी नारासहित अब बजेट भाषणलाई अन्तिम रुप दिने काम सुरु भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माको सचिवालयका एक सदस्यका अनुसार बजेटलाई अन्तिम रुप दिने क्रममा मन्त्रालयमा बजेट लेखनमा खटिएको मुख्य टोली, अर्थको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख र आवश्यक पर्दा विभागीय मन्त्रालयका सचिव समेतलाई बोलाएर अर्थमन्त्री स्वयंले बजेट हेरिरहेका छन् ।

‘बजेटको कुल अंक तय भइसकेको छ, अब केही कार्यक्रमहरु चल्न सक्छन्,’ स्रोतले भन्यो, कार्यक्रम चलाउँदा मन्त्रालयहरु असन्तुष्ट नबनुन् भनेर विभागीय मन्त्रालयका सचिवलाई बोलाएर बजेट फाइनल गर्ने काम भइरहेको छ ।’ ती सदस्यका अनुसार विज्ञ टोलीले सम्बन्धित विषयमा दिएका नारालाई बजेट भाषणमा राखिने छ ।

यस पटक बजेट लेखनको मुख्य टिमको नेतृत्व मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालले गरिरहेका छन् । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख इश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी टिममा छन् । टिमले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तयार पारेको हो । जुन मंगलबार संसदमा पेश भएको छ ।

यो टोलीलाई मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र कुमार उप्रेती, राजस्व सचिव कृष्णहरी पुष्कर, अर्थसचिव मधुकुमार मरासिनी र अर्थमन्त्री स्वयंले सहजीकरण गरिरहेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट समेत सहजीकरण

बजेटमा प्रधानमन्त्रीको तर्फबाट सहयोग गर्न प्रधानमन्त्री कार्यालयबाटै समेत एक टोली अर्थमा खटिएको छ । यो टोलीले समेत बजेटमा सहयोग गरेको छ । प्रधानमन्त्री स्वयंलाई समेत बजेटबारे ब्रिफिङ गर्न सुरु गर्ने तयारी अर्थ मन्त्रालयको छ ।

प्रधानमन्त्रीलाई बिफ्रिङ गरेपछि भने बजेट लेखनको अन्तिम चरणको काम पूरा हुने भएको छ । यस पटक कृषि, आन्तरिक उत्पादन र गाउँ केन्द्रित कार्यक्रममा जोड दिएर बजेट आउने मन्त्रालयको भनाइ छ ।

कृषकलाई अनुदान, स्वदेशी उद्योग खोल्न प्रोत्साहन गर्दै रोजगारी सिर्जनाका कार्यक्रम बजेटमा समेटिने बताइएको छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङ भित्र रहेर आगामी आवका लागि १७ खर्ब रुपैयाँ हाराहारीको बजेट बनेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?