+
+

साढे ५ बजेसम्मको कार्यालय समय : कतै पालना, कतै अवज्ञा (भिडियो)

काठमाडौं जिल्ला प्रशासनको परिसरमा पाँच बजेपछि पनि सेवा लिनका लागि लाइनमा बसेका काठमाडौंका हेमराज शाक्य र लेखा तामाङको गुनासो उस्तै छ । छोराको राष्ट्रिय परिचय पत्र बनाउन प्रशासनको ढोकामा लाइन लागेका शाक्यले सेवा प्रवाह समय बढे पनि आफूहरुले सजिलै सेवा नपाएको बताए ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ ६ गते २१:०१

६ जेठ, काठमाडौं । बिहीबार बेलुकी काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसर पुग्दा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको लामो लाइन थियो । सरकारले कार्यालय समय बिहान साढे ९ बजेबाट बेलुकी साढे ५ बजेसम्म तोकेपछि हिजोआज सरकारी कार्यालय पहिले भन्दा डेढ घण्टा बढी खुल्न थालेको छ ।

हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णयसँगै सरकारले बिहान र बेलुकी कार्यालय खुल्ने समय थपेको छ । थपिएको समयमा सेवा प्रभाव आंशिक रुपमा सुरु भए पनि यसको ठीक व्यवस्थापन भने भइनसकेको सेवाग्राहीहरु गुनासो गर्छन् ।

काठमाडौ जिल्ला प्रशासनको परिसरमा पाँच बजेपछि पनि सेवा लिनका लागि लाइनमा बसेका काठमाडौंका हेमराज शाक्य र लेखा तामाङको गुनासो उस्तै छ । छोराको राष्ट्रिय परिचय पत्र बनाउन प्रशासनको ढोकामा लाइन लागेका शाक्यले सेवा प्रवाह समय बढे पनि आफूहरुले सजिलै सेवा नपाएको बताए ।

परिचय पत्रको लाइनमा बिहान ९ बजेदेखि बसेको बताउने लेखा तामाङले बिहान र बेलुका थपिनु राम्रो भए पनि अझै सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको बताए । धेरै भिड हुने काठमाडौं जिल्ला प्रशासन जस्तो कार्यालयमा भने अझै समय नपुगेको उनको गुनासो छ ।

स्थानीय तह निर्वाचनका कारण लामो बिदा पछि भर्खरै सरकारी कार्यालय खुलेका कारण बढाइएको समयमा पनि सेवा पूर्ण रुपमा प्रवाह गर्न कठिन भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।

बिहान र बेलुका थप गरिएको कार्यालय समय आफूहरुले पूर्ण रुपमा कार्यान्वयन गरिएको र मातहत कार्यालयलाई पनि निर्देशन दिएको पौडेलको भनाइ छ । बेलुका सरकारी कार्यालय समयमा भएको वृद्धिको प्रभाव कस्तो देखिन्छ भन्ने बुझन् हामी सिंहदबारको दक्षिणी गेटमा पनि पुग्यौं ।

यसअघि चार बजेपछि कार्यालयबाट बाहिरिनेको भिड हुने यो गेट बिहीबार साढे ५ देखि ६ बजेको बिचमा निकै व्यस्त देखियो । सिंहदरबारबाट बाहिरिने सरकारी सवारी साधन तथा पैदलै हिँड्ने कर्मचारीहरु सिंहदरबाबाट बाहिरिरहेको थियो ।

बिहीबार बेलुका कार्यालय बन्द हुने समयको पालन ठीकै देखिए पछि हामीले शुक्रबार बिहान कार्यालय आउने समयको पालनाबारे अवलोकन गर्न राहदानी विभाग त्रिपुरेश्वर पुग्यौं । राहदानी बनाउन विभागमा बिहान ६ बजेदेखि लाइनमा लागेका सिनामंगलका श्री पाण्डेले कर्मचारी आउने समयको पालना नभएको गुनासो गरे ।

सरकारले साढे ९ बजेबाट सेवा दिनुपर्ने भने पनि कर्मचारी १० बजे मात्रै कार्यालयमा आएको उनले बताए । धेरै भिड हुने कार्यालयमै कर्मचारी आउने समयको पालना नभएको उनको गुनासो छ ।

तर, जामका कारण केही कर्मचारी आउन ढिलाइ भएको विभागका निर्देशक शरदराज आरणले बताए । काम नसकिएसम्म सेवा दिने कार्यालय भएका कारण यहाँ समय थपिनुको औचित्य नभएको उनको भनाइ छ ।

यसअघि सामान्य दिनमा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म पनि कार्यालय खुलेको भन्दै निर्देशक आरणले आइतबार पनि पासपोर्ट सेवा दिन लागिएको जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन भन्दै जेठ एक गतेदेखि दुई दिन बिदाको निर्णय कार्यान्वयन गरेको थियो ।

बिदाको दिनको भर्पाइ गर्न अन्य पाँच दिन बिहान साढे ९ बजेबाट साढे ५ बजेसम्म कार्यालय खुल्ला राख्ने सरकारी निर्णयमा उल्लेख छ तर सोही अनुसार कार्यान्वयनको अनुभूति भने व्यवहारमा देखिएको छैन ।

तस्वीर र भिडियो : शंकर गिरी/आर्यन धिमाल

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?