 
																			१४ माघ, काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको प्रारम्भिक बयान र जिल्ला प्रहरी परिसर, टेकुमा दिएको बयानमा एकरुपता नदेखिएपछि उनको पोलिग्राफ जाँच गरिएको एक प्रहरी अधिकृतले अनलाइनखबरसँग बताए ।
अनुसन्धानका क्रममा आरोपीले झुठ बोलेको वा नबोलेको पत्ता लगाउन शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ । खड्काको पोलिग्राफ जाँचका क्रममा ‘कैफियत’ फेला परेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।
यो विषयलाई समेत समावेश गरेर प्रहरीले आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।
प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजिकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।
कार्यालयले उनको प्रारम्भिक बयानका भिडियो रेकर्ड समेत गरेको थियो । तर, जिल्ला प्रहरी परिसर, काठमाडौंले सरकारी वकिलको रोहबरमा लिएको बयानमा उनले धेरै कुरा परिवर्तन गरेका थिए ।
‘उनले अध्यागमनका सबैसमक्ष पैसा पुग्ने बताएका थिए, आफू पक्राउ परेपछि को–कोले कस्तो प्रक्रिया जनाए त्यसबाट पनि को को मुछिन्छन् भन्ने थाहा हुन्छ भनेका थिए’, एक अधिकृतले भने, ‘सरकारी वकिलको रोहबरमा भएको बयानमा उनले एकदमै थोरै कुरा मात्र बोलेका थिए ।’
यद्यपि, उनले ७ जना अधिकृतको नाम भने बयानमा लिएका थिए । सरकारी वकिलले उनीहरुलाई समेत प्रतिवादी बनाएर ल्याउन भनेपछि प्रहरीले थप ७ जनालाई प्रतिवादी बनाएको छ । यसअघि नै प्रहरीले अर्का अधिकृत ताराबहादुर कुँवरलाई पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, गिरोहका सदस्यहरुसँग प्रत्यक्ष रुपमा पहिले कुँवर र उनीपछि खड्का संलग्न हुने गरेका थिए । ‘त्यसैले अरु अधिकृतहरुको प्रत्यक्ष प्रमाण फेला नपरेको हो, तर उनको बयानमा सबै विवरण खुल्ने परिस्थिति छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।
संगठित अपराधमा ६० दिनसम्म अनुसन्धानपछि प्रहरीले ९ कर्मचारीसहित २२ जनालाई प्रतिवादी बनाउँदै राय पठाएको छ ।
अधिकृतहरुका अनुसार, रायमा नरवीरको कसूर पुष्टि हुने प्रशस्त आधारहरु छन् । ‘मोबाइलको विवरण, सीडीआर लगायतका विषयले उनले पैसा लिएको पुष्टि हुन्छ’, एक अधिकृतले भने, ‘उनी पक्राउ पर्दा समेत दुई लाख रुपैयाँ बरामद भएको थियो ।’
उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची समेत फेला पारेको थियो, जो हालसालै विभिन्न मुलुक उडेका थिए ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4