+
+

पदभार ग्रहणसँगै नयाँ-नयाँ घोषणा गर्दै डोटीका जनप्रतिनिधि

रामहरि ओझा रामहरि ओझा
२०७९ जेठ ७ गते १५:०५

७ जेठ, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बाजीसिंह खड्का (विजय) शुक्रबार बिहान ९ नबज्दै नगरपालिकाको कार्यालयमा पुगे ।

बिहीबार आफूले जिल्ला न्यायाधीश बिदुर काफ्लेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका खड्काले सोही दिन नगरपालिकाको सभाहलमा अरु जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएका थिए ।

पदभार ग्रहण गर्ने साइत शुक्रबार बिहान ९ बजे जुरेकोले खड्का वैदिक विधिपूर्वक पूजापाठ गर्दै नगरपालिकाको कार्यालयमा प्रवेश गरी पदभार ग्रहण गरे । उनले नगरपालिकाभित्रका गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन नगरपालिकाले एम्बुलेन्स नि:शुल्क उपलब्ध गराउने निर्णय गरे ।

नगरपालिकाभित्रैका स्वास्थ्य संस्थाहरुमा पुर्‍याउनका लागि नि:शुल्क र जटिल समस्या आई बाहिर लैजानुपरेमा एम्बुलेन्सको भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरे ।

नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहणकै अवसरमा नयाँ-नयाँ घोषणा गर्दै छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीशसमक्ष बिहीबार शपथ ग्रहण गरेका जिल्लाका नौ स्थानीय तहका प्रमुखमध्ये पूर्वीचौकी, आदर्श सायल र बडीकेदार गाउँपालिकाका प्रमुखहरुले पनि शुक्रबारै पदभार ग्रहण गरेका छन् ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख खड्काले नगरपालिकाभित्र खैलमैदान निर्माण गर्ने घोषणा गरेका छन् ।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले विपन्न परिवारका लागि जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । पूर्वीचौकी गाउँपालिकाका विपन्न समुदायले पेट पाल्नकै लागि विदेश जानु पर्ने र विदेशमा पनि उनीहरुको श्रम शोषण हुने गरेको बताउँदै नवनिर्वाचित अध्यक्ष उपाध्यायले गाउँपालिकाभित्रका विपन्न परिवारको तथ्याङ्क संकलन गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

आदर्श गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गणेशबहादुर खड्काले पनि शुक्रबारै पदभार ग्रहण गरेका छन् । उनले गरीब परिवारका बालबालिकालाई नि:शुल्क शिक्षा दिने घोषणा गरेका छन् ।

आफ्नो घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै खड्काले गरीब पहिचान गरी नि:शुल्क शिक्षा शुक्रबारबाटै सुरु भएको बताएका छन् । यस्तै उनले महिला स्वास्थ्य स्वयंसेविका, सुत्केरी महिला र जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

सायल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धर्मराज जोशीले पनि आफ्नो पदभार ग्रहणका क्रममा सुत्केरी महिलालाई उपचारमा असहज भई बाहिर उपचार्थ लानुपरेमा एम्बुलेन्स सेवा निशुल्क गर्ने घोषणा गरेका छन् ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले पदभार ग्रहणका क्रममा टुहुरा बालबालिकालाई १० कक्षासम्म नि:शुल्क शिक्षाको व्यवस्था गर्ने घोषणा गरेका छन् । उनले स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेका महिलाहरुलाई र ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि कैलालीको धनगढीसम्म नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?