+
+

गण्डकीमा आफ्नै गाउँकाले पत्याएनन् नेता !

कास्कीमा एमाले जिल्लाका सबै नेताले गुमाए आफ्नो वडा

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ९ गते २०:००
गोरखाको पालुङटार नगरपालिकामा आयोजित चुनावी सभामा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई ।

९ जेठ, पोखरा । नेकपा एमालेसँग तालमेल गरेर गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराई स्थानीय चुनावमा होमिएका थिए ।

अन्य ठाउँमा सत्तारुढ गठबन्धनकै सारथी भए पनि आफ्नो गृह पालिकामा उनले एमालेसँग तालमेल गरेकामात्रै थिएनन्, चुनावी अभियानलाई पनि सोही पालिकामा केन्द्रित गरेका थिए ।

वैशाख ३० गते स्थानीय निर्वाचनको दिन आफ्नो ‘गोप्य’ मतदानलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा आए पनि भट्टराईले पालुङटारमा आफ्नो पार्टीलाई जित दिलाउन सकेनन् । उनको पालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादीले बाजी मार्‍यो ।

गोरखामै केन्द्रित रहेका रहेका नेकपा माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफ्नो साख जोगाउन सकेनन् । श्रेष्ठ घर रहेको सिरानचोक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ । जबकी गोखराका ११ मध्ये ९ पालिकामा नेकपा माओवादीले जित निकालेको थियो ।

गोरखाका भट्टराई र श्रेष्ठ उदाहरण हुन्, गण्डकीबाट केन्द्रीयस्तरमा परिचय बनाएका अन्य थुप्रै नेतालाई यस पटकको निर्वाचनमा आफ्नै पालिका र वडास्तरमा मतदाताले पत्याएका छैनन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका संगठन विभाग प्रमुख खगराज अधिकारी आफ्नै गृह वडामा हार व्यहोर्न पुगे । उक्त वडामा नेपाली कांग्रेसका ढकनाथ कँडेल विजयी हुँदा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार चिरञ्जीवी बञ्जारा १६१ मतले पराजित हुन पुगेका छन् ।

एमालेको संगठन विभाग प्रमुख अधिकारीकै गृह पालिका पोखरा महानगरपालिकाको प्रमुख दौडमा पनि नेकपा एमाले पछाडि छ । १ लाख २५ हजार मत गणना गरिसक्दासम्म नेकपा एकीकृत समाजवादीका धनराज आचार्य करिब चार हजार मतान्तरले अगाडि छन् । अब पोखरामा १५ हजारमात्रै मत गन्न बाँकी छ ।

पोखरा महानगरको उपप्रमुखमा भने नेकपा एमालेले अग्रता लिइरहेको छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई करिब दुई हजार मतान्तरले पछाडि छाडेकी छन् ।

नेकपा एमालेकै पार्टी सचिव पदमा अर्यालका श्रीमान स्याङ्जाको वालिङ नगरपालिकाको वडा सदस्यमा हार व्यहोर्न पुगे । पालिकामा जित निकाले पनि वडा नम्बर १ को वडा सदस्यमा उनका श्रीमान लक्ष्मीपति पौडेल नेपाली कांग्रेसका सम्भव अर्यालसँग करिब ५०० मतान्तरले हार व्यहोर्न पुगे । उनले जिल्ला समन्वय समितिमा जानका लागि उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य विनोद चौधरीको गृह जिल्लामा नेपाली कांग्रेस हालसम्मकै कमजोर बन्न पुग्यो ।

गण्डकीको नवलपुर जिल्लाका आठ पालिकामध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले ६ पालिका आफ्नो पोल्टामा पारेको थियो । तर, यसपटक भने ४ पालिका गुमाउँदै २ पालिकामा सीमित हुन पुगेको छ । नवलपुरका पालिकामा यस पटक नेकपा एमालेले आफ्नो अघिल्लो पटकको हार सुधारेको छ ।

केन्द्रीय नेताकै गृह पालिकामा लज्जास्पद हार व्यहोरिरहेको अवस्थामा लमजुङमा भने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शाख जोगाएका छन् । गुरुङको गृह पालिका क्वोंलासोंथर गाउँपालिकामा नेकपा एमालेले अन्य दललाई ‘क्लिन स्विप’ बनाउन सफल भएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङको पालिकाका पनि नेकपा एमालेले हार व्यहोरेको छ । गुरुङको गृह पालिका ऋषिङमा नेकपा एमाले र नेकपा माओवादीबीच तालमेल हुँदा पनि नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले बाजी मारेका हुन् ।

कास्कीमा एमाले नेताले गुमाए आफ्नै वडा

कास्कीमा पनि नेकपा एमाले जिल्ला तहका नेतालाई आआफ्नो पालिका र वडामा मतदाताले पत्याएनन् । नेकपा एमालेको जिल्ला अध्यक्ष तथा अधिकांश पदाधिकारीको पालिका तथा वडामा कांग्रेसले जितेको छ ।

एमाले अध्यक्ष मनबहादुर गुरुङको पालिका तथा वडा दुबै नेपाली कांग्रेसले जितेको छ । गुरुङको मादी गाउँपालिका तथा वडा नम्बर १ दुबैमा एमालेले हारेको हो । एमाले जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीको वडा नम्बर ७ मा पनि कांग्रेसले जितेको छ भने सचिव वैनबहादुर क्षेत्रीको वडा नम्बर २८ मा एमालेले गुमाएको छ ।

एमाले जिल्ला उपसचिव लेखबहादुर लामा (दर्शन) को वडा नम्बर १३ मा पनि कांग्रेसले जितेको छ भने अर्का जिल्ला उपसचिव नवराज ओझा भने आफैं उम्मेदवार थिए । चुनाव जित्ने उनी एकमात्र कास्की एमालेका पदाधिकारी बनेका छन् ।

एमाले पोखरा महानगर कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सबैले आफ्नो वडा गुमाएका छन् । महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेको वडा नम्बर ३०, उपाध्यक्ष मोहन गुरुङको २८, सचिव जीवन आचार्यको वडा नम्बर १६ मा एमालेले हार बेहोरेको छ । उपसचिव रामचन्द्र थापा आफैं वडा नम्बर १८ का उम्मेदवार थिए र उनले पनि जित निकाल्न सकेनन् ।

माओवादीको पनि उस्तै

तत्कालीन संविधान सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली केन्द्रीय सदस्य खिमलाल देवकोटाको आफ्नो पालिकामा जित दिलाउन सकेनन् । देवकोटाको गृह पालिका अन्नपूर्ण गाउँपालिका नेकपा माओवादीका उम्मेदवारले ५ सय मत पनि कटाउन सकेनन् ।

गण्डकी प्रदेशका अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामजी बरालको वडामा पनि माओवादीले उम्मेदवार नै दिन सकेन । पोखरा–२२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हिमलाल बराललाई समर्थन गरे पनि उनी नेकपा एमाले भन्दा मतान्तरले पछाडि छन् ।

त्यस्तै, प्रदेश अध्यक्ष गायत्री गुरुङ, जिल्ला अध्यक्ष बखानसिंह तमू, कास्की इञ्चार्ज राजकाजी गुरुङले आफ्नो जिल्लाका पालिका स्पष्ट प्रभावशाली भूमिका प्रस्तुत गर्न सकेनन् ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?