+
+

चुनावी परिणामभित्र लुकेका सन्देश

चुनाव भयो, राम्रो भयो । तर चुनाव हुनु मात्र सबै कुरा होइन, चुनाव जे प्रयोजनका लागि गरियो त्यो प्रयोजनसिद्ध हुनुपर्छ । चुनावबाट छानिएका जनप्रतिनिधिबाट जनअपेक्षा पूरा हुनुपर्छ ।

डा. टीकाराम पोखरेल डा. टीकाराम पोखरेल
२०७९ जेठ १० गते १२:२८

बोल्नुमा भन्दा कहिलेकाहीं चुपचाप बस्नुमा ठूलो शक्ति हुन्छ । हिंसाभन्दा अहिंसाको कैयौं गुणा बढी शक्ति हुन्छ भनेर गान्धीले त्यसै भनेका होइनन् । धैर्यका अगाडि धेरै अधीर शक्ति हारेका छन् । मौनताको सन्देश पनि यस्तै हो, जुन बोल्नुभन्दा धेरै शक्तिशाली हुन्छ । स्थानीय तहको चुनाव सम्पन्न भइसक्दा पनि चुनावका बारेमा खासगरी राजनीतिक दलहरूले स्पष्ट मुख खोलेका छैनन् । गैरदलीय उम्मेदवारहरू त झनै अलमलमा देखिन्छन् । तर मौनताका बीच पनि केही चुनावी सन्देश आकलन गरिएका छन् ।

यतिबेला स्थानीय तहको निर्वाचन, २०७९ सकिएर परिणाम पनि अन्तिम चरणतिर पुगेको छ । काठमाडौं, धरान, धनगढीलगायत केही महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा स्वतन्त्र भन्ने गरिएका गैरदलीय उम्मेदवारहरू प्रमुखमा विजयी भएका छन् । दलबाट विद्रोह गरी कानुनी रूपमा स्वतन्त्र भए पनि बोलीचालीमा बागी भनिएकाहरूले पनि धेरै स्थानमा विजयको झण्डा फहराएका छन् । यद्यपि बागीभन्दा गैरदलीय स्वतन्त्र भनिएका उम्मेदवार चाहिं चर्चाको शिखरमा रहेका छन् ।

धनगढीका गोपाल हमाल र काठमाडौंका बालेन साहको नाम त चुनाव अगाडि पनि धेरथोर सुनिएको हो, तर धरानका हर्क साम्पाङ त एकाएक यसरी चर्चामा आए, जब मतगणनामा उनले अग्रता कायम गरे । मतगणना सुरु हुँदा पनि अरू नै दलले अग्रता लिएकाले होला, साम्पाङ त्यति चर्चामा थिएनन् । जब उनले गणनामा अग्रता कायम गर्न थाले, तब मात्र उनको चर्चा एकाएक सुरु भयो । विजयी घोषणा हुँदासम्म त उनको चर्चाले शिखर चुम्यो । भोट दिने नदिने सबैका लागि उनी चर्चाका पात्र बने । धरानका साम्पाङसहित अन्य गैरदलीय उम्मेदवारहरूको जितप्रति आम मानिसको प्रतिक्रिया सकारात्मक र उत्साहप्रद देखियो । यी यस्ता केही जितले नेपाली राजनीतिलाई केही गहन सन्देश समेत दियो ।

स्वतन्त्र होइन, जनताका प्रिय

अति लोकप्रिय मतका साथ निर्वाचित भएकाहरूलाई हामी स्वतन्त्र भनिरहेका छौं । सञ्चारमाध्यमको भाषा, राजनीतिको भाषा मात्र होइन, स्वयम् मतदाता समेत स्वतन्त्रलाई मत दिएको भनिरहेका छन् । यथार्थमा ती स्वतन्त्र होइनन्, जनताका पक्षधर हुन् । अरू आफैं पक्षधर भए । तर जनताका पक्षधर भई जनप्रिय बनेकाहरू स्वतन्त्र हुँदैनन्, सधैं जनताका पक्षधर हुन्छन् । आफ्नो पहिचानलाई स्वतन्त्र होइन, बरु जनपक्षीय बनाउन गैरदलीय उम्मेदवार भई विजयी भएका हुन् । त्यसैले गैरदलीय उम्मेदवारहरू जनताको पक्षधर होऊन् ।

न देवत्वकरण न त दानवीकरण

नेपाली समाजको एउटा तह निकै सतही छ । विना आधार, कारण र विश्लेषण कसैको छिटो देवत्वकरण गरिदिन्छ, त कसैलाई दानव झैं परिभाषित गरिदिन्छ । सानै कुराले देवता बनाएका र दानव घोषित गरिएका उदाहरण विगतमा पनि थुप्रै छन् । झन् सामाजिक सञ्जालको बढ्दो प्रयोगले त यस्तो अतिरञ्जित प्रचार-प्रसारलाई खुबै टेवा पुर्‍याएको छ । असत्य कुरालाई पनि सय पटक सत्य हो भन्ने हो भने त्यो असत्य पनि सत्य साबित हुन्छ भन्ने गोयबल्स शैली सामाजिक सञ्जालमा नभएको होइन ।

यस प्रकारका अतिरञ्जित प्रचारले मान्छेको वास्तविक क्षमता नै छायाँमा पारिदिन्छ र हुँदै नभएको क्षमतामा चाहिं मानिस रमाउन थाल्छ । अहिले स्वतन्त्र भनिएका नवविजयीहरूको पनि देवत्वकरण हुन थालेको छ । यो राम्रो होइन ।

स्वतन्त्र जितेकाहरू पनि यही समाजमा उपज भएका मानिस हुन्, उनीहरूका सबल पक्ष पनि छन् र कमी-कमजोरी पनि होलान् । उनीहरूको देवत्वकरण गर्नुको सट्टा आफ्ना कमी-कमजोरीलाई न्यूनीकरण गर्ने र सबल पक्षलाई जति सक्दो उजागर गर्ने पक्षमा उनीहरूलाई सल्लाह दिऊँ । विजयीहरूले पनि सोही अनुसार काम गरौं । दानव वा देव बनाउने काम पनि बन्द गरौं, बन्ने काम पनि बन्द गरौं । मात्र मान्छे बनाऊँ र मान्छे बनौं ।

दलहरूको औचित्य

केही महत्वपूर्ण स्थानमा गैरदलीय उम्मेदवारहरूले बाजी मारिरहँदा के अब दलहरूको औचित्य नै समाप्त हुन लागेको हो ? भन्ने कोणबाट पनि विभिन्न तर्क आइरहेका छन् । तर दलहरूको औचित्य सकिएको छैन । यद्यपि दलहरू र तिनका प्रमुख नेताहरूको चरित्र र व्यवहारमा व्यापक सुधार हुनुपर्ने संकेत भने यो निर्वाचनले गरेको छ ।

दलहरूका क्रियाकलापमा सुधार गरिएन भने असल कार्यकर्ताले विद्रोह मात्र गर्दैनन्, जनताले समेत आगामी दिनमा दलहरूलाई थप स्थानमा हराउन सक्छन् । जनता सधैं परिवर्तनको पक्षमा हुन्छन्, तर दलहरूको शैली यथास्थितिलाई अँगाल्ने खालको छ । त्यसैले दलहरूले समय अनुसार आफूलाई बदलुन् ।

दलका नेताले जेलमा भोटो फटाएको वर्ष गनेर ब्याज नखाऊन् । त्यसो भएमा मात्र दलको औचित्य सधैं रहन्छ । दलीय व्यवस्थामा दलको अस्तित्व रहिरहनु पनि पर्छ । तर दलले आफूलाई सुधार भने गर्नैपर्छ ।

नआत्तिनु, नमात्तिनु

त्यसो त दलहरूले मात्र होइन, गैरदलीय रूपमा जितेका उम्मेदवारहरूले दलहरूले भन्दा बढी जिम्मेवार हुनु आवश्यक छ । उनीहरूले कर्तव्य भुल्नुहुँदैन । आफूलाई आएको भोट आफ्नो लोकपि्रयताले मात्र होइन, केही प्रतिशत भोट दलको अपि्रयताको कारण पनि आफूलाई प्राप्त भएको छ भन्ने कुरा बुझ्न सकेनन् भने गैरदलीय उम्मेदवारलाई फेरि अर्को चुनावमा जनताले आज दलका नेतालाई गरेको जस्तै व्यवहार नगर्लान् भन्न सकिन्न ।

गैरदलीय उम्मेदवारले पार्टी नखोल्दै राम्रो हुन्छ । तर एक-अर्काबीच सहकार्य आवश्यक छ । राम्रा कुरा सबैको लिनुपर्छ । अरू पार्टीलाई गाली गरेर आफू कहिल्यै माथि पुगिन्न भन्ने कुरा मनन गर्नु जरूरी छ ।

लोकप्रिय मत ल्याएका स्वतन्त्र उम्मेदवारहरू ।

गैरदलीय उम्मेदवारहरूले सत्तालाई जनताको सम्झनुपर्छ । जित आफ्नो होइन जनताको बुझ्नुपर्छ । कतिपय स्थानमा केही गैरदलीय अभियन्ताहरूले हारे होलान्, त्यस्तो ठाउँमा हारें भन्दा पनि आफूलाई थोरै मत पुगेन भन्ने सकारात्मक सोच राख्नु आवश्यक छ । पाँच वर्ष पछि फेरि आउँछ । काउण्टडाउन सुरु भइसकेको छ । जित्नेहरूका भने कार्यक्रम र एजेण्डा बाहिर आउनुपर्छ । कसैले बहुमत अल्पमतको नाममा आफूलाई असहयोग गरेमा ती कुरा जनसमक्ष बाहिर ल्याउनु आवश्यक छ । गोप्य कोठामा कुनै काम नहोस् । निर्णय सबैको अगाडि होस् । पारदर्शिता नै सुशासनको प्रमुख आधार हो । यही कुरा मनन गरे सुशासन कायम हुन्छ । भ्रष्टाचार मात्र रोक्न सके देश बनाउन धेरै ठूलो योजना बुनिरहन आवश्यक पनि छैन ।

चुनौतीका पहाड र अवसरको फाँट

गैरदलीय उम्मेदवारहरूलाई चुनौती छन् । कोही हिजोको सत्ताले बिगारेका चुनौती छन् । कोही लामो समयदेखिको अव्यवस्था र विना योजना विस्तार भएका शहरीकरणले बिगारेका छन् । गैरदलीय उम्मेदवारले प्रमुख जितेका ठाउँमा उपप्रमुख र वडामा दलहरूले विजय हासिल गरेकाले काम गर्ने टिम मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि त्यत्तिकै छ । तर जहाँ चुनौती बढी हुन्छन् त्यहाँ अवसर पनि त्यत्तिकै हुन्छन् । काम गर्नेलाई मज्जा आउने भनेकै चुनौतीकै बीचमा हो । चुनौती मात्र देख्ने हो भने उपलब्धि सहज छैन । त्यसैले चुनौती मात्र देख्ने होइन, चुनौतीको समाधानका लागि अवसरको फाँट पनि देख्न सके उपलब्धि भन्ने गरिए जस्तो जटिल पनि छैन ।

मौन सन्देश

चुनाव सम्पन्न हुँदै गर्दा धेरै आवाज निस्केका छैनन् । सबै मौन छन् । तर चुनावको विषयमा व्यक्ति र दल स्पष्ट नबोले पनि स्वयम् चुनावले सन्देश दिंदैछ । पहिलो, अब दलहरू नसुधारिने हो भने जनताले विकल्प चाहिं खोज्छन् । दलीय व्यवस्थामा दलको विकल्प दल भनिरहँदा जनतालाई भने त्यो सिद्धान्त र नियम लागु हुँदैन । दोस्रो, दलले सही उम्मेदवार छान्न सक्नुपर्छ, अब पार्टीलाई मात्र मत आउँदैन, जनताले उम्मेदवार पनि हेर्छन् ।

एउटै पालिकामा प्रमुख एक पार्टी र उपप्रमुख अर्को पार्टी चुनिनुले जनताले पार्टी मात्र होइन, व्यक्ति पनि हेरेको देखिन्छ । स्वतन्त्र भनिएका जनपक्षीय उम्मेदवार विजय हुनु पनि पार्टीभन्दा व्यक्ति छानिनुको कारण हो । तेस्रो, अब हावादारी एजेण्डा बोकेर चुनावमा गएर चुनाव जितिंदैन । कुन एजेण्डा कस्ता छन् र कति कार्यान्वयनयोग्य छन् र कार्यान्वयन गर्ने मान्छे कति भरोसायोग्य छन् भनेर जनता बुझ्ने भइसकेका छन् ।

निष्कर्ष

चुनाव भयो, राम्रो भयो । तर चुनाव हुनु मात्र सबै कुरा होइन, चुनाव जे प्रयोजनका लागि गरियो त्यो प्रयोजनसिद्ध हुनुपर्छ । चुनावबाट छानिएका जनप्रतिनिधिबाट जनअपेक्षा पूरा हुनुपर्छ । विगत पाँच वर्षमा देश कति समृद्धशाली बन्यो, अब कति बन्छ भन्ने कुरा गहन विश्लेषण हुनु आवश्यक छ । चुनाव व्यक्तिको अनुहार फेर्न होइन, देशको मुहार फेर्न हुनुपर्दछ । विजयी जनप्रतिनिधिले देश र जनताको पक्षमा काम गरुन्, देशको मुहार फेरुन्, जनताको अनुहारमा मुस्कान र खुसी ल्याउन सकून् । शुभकामना !

(लेखक राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?