+
+

दुई फरक भ्रष्टाचारको आरोप लागेका सरकारी वकिल थापालाई एकसाथ सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते ११:२४

१७ जेठ, काठमाडौं । विशेष अदालतले दुई फरक प्रकृतिका मुद्दालाई एकैसाथ हेरेर आरोपितलाई सफाइ दिएको छ ।

घुस प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दाका आरोपित सरकारी वकिल (सहन्यायाधीवक्ता) सुरेन्द्रबहादुर थापालाई विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ कात्तिक २०७५ मा पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा थापालाई पक्राउ गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २८ माघ २०७८ मा थापामाथि गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अर्को मुद्दा दायर गरेको थियो । फरक प्रकृतिका यी दुई मुद्दालाई विशेष अदालतले एकसाथ राखेर सफाइ दिएको हो ।

न्याय निरुपणमा संलग्न तीनमध्ये न्यायाधीश रमेशकुमार पोखरेल सरकारी वकिल पृष्ठभूमिका हुन् । ‘यहाँ सरकारी वकिलबाट नै उच्च अदालतको न्यायाधीश हुनुभएको हो । सरकारी वकिल हुँदा सहन्यायाधीवक्ता थापा र उहाँ सहकर्मी हुनुहुन्थ्यो,’ महान्यायाधीवक्ता कार्यालय स्रोतले भन्यो, ‘विशेष अदालतमा अहिले ६ जना न्यायाधीशहरुको टोली छ । सदस्य पोखरेलले पूर्वसहकर्मीको मुद्दा हेर्नुभयो, दुई फरक मुद्दामा एकसाथ सफाइ भयो । कसो-कसो असहज देखिएको छ ।’

ठगी मुद्दा टुंग्याउन घुस

उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधीवक्ता थापाले ५ लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्ति विरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने शर्तमा उनका बाबुसँग ५ लाख रुपैयाँ घुस मागेका थिए ।

रंगेहात पक्राउ परेपछि सहन्यायाधिवक्ता थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्विकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए । रंगेहात मुद्दामा अरु प्रमाण बाहेक अख्तियारले प्रदान गरेको रकमलाई मात्रै आधार नमानिने भनी सर्वोच्च अदालतले गत वर्ष प्रतिपादन गरेको नजीरका आधारमा थापाले सफाइ पाएको विशेष अदालत स्रोतले बतायो । सफाइ पाएको फैसलाको पूर्णपाठ तयार हुन बाँकी छ ।

उनी सरकारी वकिलको कार्यालय, काठमाडौंको प्रमुख हुँदा अपहरण तथा शरीर बन्धक तथा ज्यान मार्ने उद्योगमा जोडिएका आरोपितहरुको मुद्दामा विवादास्पद निर्णय गरेका थिए । जिल्ला अदालतको फैसलापछि उनले म्यादभित्र पुनरावेदन नगरेका कारण आरोपितहरुले उन्मुक्ती पाएका थिए । उन्मुक्ती पाउन ‘खर्च गरेका’ आरोपितहरुले पछि त्यसको खर्च उठाउन भरतपुर क्यान्सर अस्पतालका डाक्टर भुक्तमान श्रेष्ठको अपहरण गरेको खुलेको थियो । उक्त घटनामा न्यायाधीश बलराम केसी संयोजकत्वको छानविन समितिले समेत थापालाई दोषी ठहर्‍याएको थियो ।

गैरकानूनी आर्जनको मुद्दामा समेत सफाइ

विशेष अदालतले सोमबार नै सहन्यायाधीवक्ता थापालाई गैरकानूनी सम्पत्ति आर्जनको आरोपबाट समेत सफाइ दिएको छ । थापामाथि गत माघमा अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगाएको थियो ।

रंगेहात घुस र गैरकानूनी सम्पत्तिआर्जन दुवै भ्रष्टाचारसम्बन्धी अभियोग भएपनि यिनीहरुको प्रकृति, प्रमाण बुझ्ने तरिका फरक हुन्छ । विशेष अदालतले २३ चैत २०७८ मा एक अर्कासँग सम्बन्धित नभएका रंगेमात घुस र गैरकानूनी सम्पत्तिआर्जनका दुई मुद्दालाई एकसाथ (लगाउमा) राख्ने आदेश गरेको थियो ।

५ असार २०४५ सालमा सेवा प्रवेश गरेका थापाले दुई वर्ष अघिसम्म एक करोड ७६ लाख रुपैयाँमात्रै आर्जन गरेका थिए । तर उनको सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैयाँ बराबर जोडेको भेटिएको थियो । ६१ लाख रुपैयाँ रकमको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो । ५० लाख रुपैयाँ हाराहारीको गैरकानूनी सम्पत्तिआर्जनको फाइलमा मुद्दा नचलाउने नीति बनाएको अख्तियारले रंगेहात घुसको अभियोगमा पक्राउ परेका थापामाथि ६१ लाख रुपैयाँको विगोमा समेत मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?