+
+

‘चिसो मान्छे’ मेरो करिअरकै विशेष फिल्म : दीपेन्द्र के खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १७:०१

काठमाडौं । कोरोना महामारीका कारणा भएको लकडाउनमा जनजीवन ठप्प हुँदा दीपेन्द्र के खनाल भने फिल्म लेखनमा व्यस्त भए । निषेधाज्ञा र बन्दाबन्दीको कहरमा मान्छेले खेपेका हैरानीको कथा लेख्न उनीसँग धेरै कारण थिए ।

कोभिडको यो कहरमा मान्छे घरबाहिर निस्कन पाएनन् । महामारीको मध्यमा विदेशमा अलपत्र पर्ने र ज्यान गुमाउने नेपालीको संख्या पनि उच्च रह्यो । विदेशमा ज्यान गुमाउने र आफन्त गुमाएको पीडामा आँशु बगाउनेको कथा भने फिल्मभन्दा कम छैन ।

जब पहिलो लकडाउन केही खुकुलो भयो मान्छेले हिंड्डुल गर्न त पाए, तर कोभिड त्रासले सजिलो भएन । काठमाडौं विमानस्थलमा कतार लगायतका मुलुकबाट एकैसाथ ३० भन्दा बढी शव ल्याइयो । ती शव वैदेशिक रोजगारीको लागि त्यहाँ पुगेका नेपालीको थियो ।

निर्देशक खनालले फिल्म ‘चिसो मान्छे’मा यिनै कुरा उधिनेका छन् । बल्लबल्ल नेपाल ल्याइएको शवलाई बुझेपछि विपन्न परिवारले काठमाडौंदेखि बाजुरासम्म गरेको यात्राको कथा फिल्मले पेश गर्छ ।

चिसो मान्छे’ के हो ?

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खनालले ‘चिसो मान्छे’ आफूले गरेका फिल्ममध्ये विशेष रहेको बताए । ‘मेरा लागि यो फिल्म अघिल्लाभन्दा विशेष छ । म मेरो ग्रोथ डाउन नहोस् भन्ने चाहन्छु,’ उनले भने, ‘कोभिडको समयमा हामी चिसा भएका थियौं । फिल्मका पात्र पनि चिसा छन्, जसले आफ्नो लागि मात्र सोच्छन् ।’

काठमाडौंदेखि बाजुरासम्मको सबै छायांकन आउटडोर भएकाले पनि यात्रा रमाइलो भएको र आफूलाई एक्सप्लोर गर्न सजिलो भएको उनले बताए । कतिपयले फिल्मको सबै कथा ट्रेलरमा अटाएको भन्दै गुनासो गरेको बेला खनालले चाहिं फिल्ममेकर त्यति लाटो पनि नभएको बताए ।

निर्मात्री शर्मिला पाण्डेले आफूले निर्माण गरेको अघिल्लो हिट फिल्म ‘आमा’भन्दा ‘चिसो मान्छे’ निकै उत्कृष्ट भएको बताइन् । आफूलाई स्वस्तिमा पात्रले रिलेट गरेको भन्दै उनले सेन्सर बोर्डबाट मिलेको प्रतिक्रियाले खुसी दिलाएको बताइन् ।

अभिनेता देशभक्त खनालले पहिलोपटक वर्षा हुँदा माटोबाट जुन गन्ध आउँछ त्यो गन्ध नै चिसो मान्छे भएको बताए । कार्यक्रम उनी बोल्दाबोल्दै भावुक भएपछि गला अवरुद्ध समेत भयो ।

‘आमा पनि समाजले भोगेको कथा थियो । मान्छेले त्यसलाई महसुस गरे । चिसो मान्छे पनि वास्तविक माटोको कथा हो,’ अभिनेता खनालले भने, ‘मैले मेरो चरित्रमा पूर्णता दिन प्रयास गरेको छु ।’

अभिनेता अर्पण थापाले काठमाडौंदेखि बाजुरासम्म पुग्दा दुईवटा गाडी कुदाएको स्मरण गरे । ‘अब त ट्रकको लाइसेन्स दिए पनि हुन्छ,’ उनले भने ।

फिल्ममा स्वस्तिमा खड्काले आफूलाई दुरुस्तै बाजुरेली युवतीको भूमिकामा ढालेकी छन् । भेषभूषा, भाषा र हुलियामा उनी सुदुरपश्चिमकी विवाहित किशोरीको चरित्रमा छिन् । यो चरित्रमा प्रस्तुत हुन आफूले मिहिन ढंगले मेहनत गरेको अनुभव स्वस्तिमाले बाँडिन् ।

बझाङ र बाजुराका डकुमेन्ट्री हेरेर आफूले भाषा सिकेकोदेखि आफूलाई मानसिक रुपमा उतारेको उनले सुुनाइन् । फिल्ममा आफूले गरेको चरित्रमाथि कतिपयले नैतिक प्रश्न पनि गरेकाले त्यसलाई पात्रको पर्सपेक्टिभको रुपमा बुझ्न पनि आग्रह गरिन् ।

बाहिरबाट हेर्दा सुदुरपश्मिचेली दुःखी हुनेजस्तो देखिए पनि वास्तवमा उनीहरुले आफ्नो जीवनमा ‘इन्जोय’ गरेको स्वस्तिमाको बुझाइ छ । डेब्यु फिल्मदेखि ‘चिसो मान्छे’सम्म आइपुग्दा अभिनयलाई बुझ्ने आफ्नो दृष्टिकोणमा परिवर्तन आएको उनले बताइन् ।

पशुपतिप्रसाद फेम्ड निर्देशक खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ असार ४ गते देशव्यापी रिलिज हुँदैछ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?