+
+

गलकोट क्षेत्रमा पहिरो जाँदा घरगोठ र पशुधनको क्षति

दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो ।

रासस रासस
२०७९ जेठ २६ गते १४:४२
र्षापछि गएराति खसेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डअन्तर्गत गलकोट–घोडाबाँधे सडक । लोकमार्गको ठाउँठाउँमा खसेका पहिरोका कारण सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । तस्वीर : रासस

२६ जेठ, म्याग्दी । दुई दिनदेखिको भीषण वर्षाले गलकोट क्षेत्रमा क्षति निम्ताएको छ । पहिरा र भेलबाढीले स्थानीयका घरगोठ, खेतबारी र पशुधनमा क्षति पुगेको हो ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्‍याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीनवटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिए । गोठ र पशुचौपायासमेत गर्दा खड्काको रु १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

उनका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पुर्‍याएको छ । ‘साविक वडा नं ३ का अधिकांश घर जोखिममा छन्, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरा खसेका छन्’, उनले भने, ‘गाउँबाट झरेको गेगर र बाढी पसेर खोला छेउछाउको खेत पनि पुरेको छ ।’

बाढी पस्दा खेतमा भर्खर लगाएको धानबाली पनि नष्ट भएको छ । जोखिम न्यूनीकरण गर्ने र विपद्बाट प्रभावित परिवारलाई तत्कालीन राहत उपलब्ध गराउन नगरबाट पहल भइरहेको जनाइएको छ । पहिराका कारण गए रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग दिउँसोदेखि खुलेको नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिए ।

वडा नं १ को भुङ्खानी र काफलठुटा क्षेत्रमा खसेका पहिराले यातायात सञ्चालनमा अवरोध खडा गरेको थियो । बिहानैदेखि लोकमार्ग भएर चल्ने सवारीसाधन बाटैमा अलपत्र परेका थिए । यात्रुले सास्ती खेप्नुपरेको थियो । लोकमार्ग आयोजना, नगरपालिका, नेपाल सेना, स्थानीयलगायत मिलेर पहिरा पन्छाएपछि यातायात सेवा सञ्चालन भएको हो ।

गलकोट-१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घरहरू जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ । बाढीले स्थानीय महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयवासीले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहनुभएका नगरका प्रवक्ता भण्डारीले बताए ।

वडा नं ३ को हटियाबजार, ४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पुर्‍याएको छ । नाली थुनिएर हटियाका घर, पसल र होटलमा भल छिरेको थियो । बाढीले मुख्य सडकदेखि ग्रामीण भेग जोड्ने सडक पनि भत्किएका छन् ।

पुष्पलाल लोकमार्ग खण्डमा ठुल्ठूला खाल्डाखुल्डी परेका छन् । यात्रा जोखिमपूर्ण बनेको छ । कतै रुख ढलेर सडक छेकेका छन् । गलकोट–बागलुङ चल्ने जिपका चालक राजेन्द्र विकले पहिरा छल्दै यात्रा गर्नुपरेको सुनाए ।

यसै त रुग्ण बनेको लोकमार्गको बागलुङ–गलकोट खण्डलाई बाढीपहिराले थप बिगारेको उनको भनाइ छ । विकका अनुसार त्यस खण्डका दर्जनौँ ठाउँमा पहिरा खसेका छन् । तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गरे पनि सडकको दीर्घकालीन सुधार हुनुपर्ने स्थानीयवासीको माग छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?